सर्वदलीय बैठक बस्दै

२०७२ आश्विन १८ गते, सोमबार

काठमाडौ, १८ असोज । सहमतीय सरकार गठनका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा आज सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री कोइरालाले सहमतीय सरकार गठनका विषयमा छलफल गर्न बालुवाटारमा बिहान १० बजे सर्वदलीय बैठक बोलाएकोे प्रधानमन्त्री प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठक बस्नुअघि प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत नेकपा माओबादीको बैठक बस्ने सम्भावना रहेको बताइएको छ ।
राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्नगरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई गत शुक्रबार आह्वान गरेका थिए ।

प्रतिक्रियाहरु