नाकामा अझै अवरोध

२०७२ आश्विन १७ गते, आईतवार

काठमाडौं, १७ असोज । भारतले नेपालमा लगाउंँदै आएको अघोषित नाकाबन्दी खोल्न मातहतका निकायलाई निर्देशन दिएको जनाएपनि नेपाल–भारत सीमा नाकाहरु अझै पूर्ण रुपमा खुलेका छैनन् । देशकै ठूलो भन्सार नाका बीरगन्ज आजपनि ठप्प बनेको छ । दश दिन यता यो नाका भएर एउटा पनि मालबाहक सबारी साधन नेपाल भित्रिएको छैन । मधेशी मोर्चाका कार्यकर्ताहरुले मितेरी पूलमा दिएको धर्नाको कारण कुनै पनि सबारी साधन नेपाल भित्रन नसकेको हो । प्रहरीले हस्तक्षेप गरे भारततर्फ भाग्ने र फेरी आएर अबरोध गर्ने हुंदा यो नाकाबाट एउटा पनि मालबाहक सबारी साधन नेपाल भित्रन नसकेको हो ।
नेपालमा सबैभन्दा बढी खाद्यान्न, पेट्रोलियम पदार्थ र ग्यास भित्रने नाका पनि यही नै हो । उता, विराटनगरको रानी भन्सार पनि अझै खुलेको छैन ।
आज १० दिन हुँदा समेत एउटा पनि मालबाहक गाडी नेपाल भित्रन नसकेको हो । भारतको जोगवनी नाकामा अहिले ८ सय भन्दा बढी मालबाहक गाडी रोकिएका छन् ।
उता, रुपन्देहीको बेलहिया सुनौली नाकाबाट शनिबार राती १० बजेसम्म केही मालबाहक गाडीहरु नेपाल भित्रिए पनि आज बिहानबाट नाका फेरी बन्द गरिएको छ ।
शनिबार राती १० बजेसम्म यो नाका भएर ९७ वटा मालबाहक गाडीहरु , ३६ वटा पीकअप भ्यानमा तरबारी लगायतका सामानहरु , पे्रसर मेसिन चार वटा, ६ वटा डिजलका ट्याङ्कर र २ वटा ग्यास बोकेका गाडी भित्रिएका हुन् ।
शनिबार राती पेट्रोल बोकेको एउटा पनि ट्याङ्कर यो नाका भएर नेपाल प्रवेश भएन । आज दिउंसोसम्ममा आधिकारिक जानकारी आए भंसार सुचालु गर्ने इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
उता, झापाको काँकडभिट्टा भन्सार भने दिउंसोबाट संचालनमा आउने भएको छ । स्थानीय ग्राम पञ्चायतको चुनावको कारण ३६ घण्टा यता बन्द रहेको बोर्डर दिउंसो १२ बजेबाट खुलेसंगै यातायात पनि संचालनमा आउने भएको हो । यस भन्सारमा ४ सयभन्दा बढी मालबाहक गाडी र पेट्रोलियम पदार्थ बोकेका ट्यांकर रोकिएका छन् ।
कैलालीको धनगढी नाका भने पूर्ण रुपमा संचालनमा आएको छ । सीमा क्षेत्र गौरीफन्टामा रोकिएका सबै गाडी शनिबार राती नेपाल भित्रिएका छन् । जसमा पेट्रोलको गाडी चार वटा रहेका छन् ।

प्रतिक्रियाहरु