वैदेशिक रोजगारमा ज्यान गुमाउने अत्यधिक

२०७२ आश्विन १६ गते, शनिबार

काठमाडौँ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो ७ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा गएका ४ हजारभन्दा बढीले ज्यान गुमाएको देखाएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार वैधानिक रूपमा श्रमस्वीकृति लिएर गएका कामदारमध्ये ७ वर्षमा ४ हजार ४४२ जनाको मृत्यु भएको छ । सरकारले श्रमस्वीकृति लिई विदेश भएका कामदारको मात्र क्षतिपूर्ति दिने गरेको विभागका निर्देशक शिवराम पोखरेलले बताए । “अवैधानिक रूपमा रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारको क्षतिपूर्ति दिने व्यवस्था छैन,” उनले भने । अवैधानिक रूपमा गई मृत्यु हुने कामदारको संख्या पनि धेरै रहेको पोखरेलको भनाइ छ । यसरी मृत्यु हुने तथ्याङंक बोर्डको स्थापना भएपछि आर्थिक वर्ष ०६५–०६६ देखि चालू आर्थिक वर्षको भदौसम्मको हो । सरकारले वैदेशक रोजगार ऐन ०६४ ल्याएपछि विदेशमा मृत्यु हुने कामदारको क्षतिपूर्ति दिन थालेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु हुनेमा ९९ प्रतिशत खाडी मुलुक गएका कामदार छन् । हाल नेपालबाट वैदेशिक रोजगारीका लागि ११० देशमा जान सरकाले खुला गरेको छ । धेरैजसो नेपाली कामदार मलेसिया, साउदी अरब, कतार, यूएईलगायत मध्यपूर्वका देशमा छन् । त्यहाँ निर्माण, उत्पादन क्षेत्र र घरेलु कामजस्ता न्यून सीप भएका क्षेत्रका काममा नेपाली श्रमिक श्रम बेचिरहेका छन् । मौसमका हिसाबले नेपालभन्दा धेरै गर्मी हुने ती देशमा केही कामदारको भने त्यहाँको वातावरणमा घुलमिल हुन नसक्दा ज्यान जाने गरेको छ ।
त्यस्तै विदेशमा काम गर्न जाने धेरैजसो कामदारको मृत्यु हृदयाघात, ट्राफिक दुर्घटना, आत्महत्या, असुरक्षित कार्य स्थललगायत कारणले हुने गरेको विभागका निर्देशक पोखरेलले बताए । खाडी मुलुकमा अत्यन्तै तातो हुने भएकाले राति सुत्दा एसी लगाउँदा धेरैको ज्यान जाने गरेको उनी बताउँछन् । रोजगारीको सिलसिलामा सबैभन्दा धेरै कामदारको मृत्यु गत आर्थिक वर्षमा भएको छ । गत वर्षमात्रै १ हजार ३ जनाको मृत्यु भएको छ । वैदेशक रोजगारीमा मृत्यु हुने कामदारको संख्या हरेक वर्ष बढ्दै गएको छ । यसरी मृत्यु हुनेमा अधिकांश पुरुष छन् । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । अहिले औसतमा दैनिक १५ सय नेपाली अवसर खोज्दै अन्तर्राष्ट्रिय श्रम बजारमा जाने गरेका छन् । वैधानिक र अवैधानिक बाटो हुँदै बिदेसिनेको संख्या वार्षिक करिब ६ लाख रहेको अनुमान छ । खाडी मुलुकमा मात्र करिब ४० लाख नेपाली श्रम बेचिरहेका छन् । वैदेशिक रोजगारीमा गएकाहरूले नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । देशको अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन)मा रेमिट्यान्सको योगदान २५ प्रतिशतभन्दा बढी छ । धेरै नेपाली परिवारका लागि दैनिक आवश्यकता पूरा गर्न र भविष्यमा सुखी जीवन बिताउने लक्ष्य राखेर बिदेसिने गर्छन् ।
विदेशमा रहँदा मुलुकको अर्थतन्त्रमा योगदान गर्ने तीनै श्रमिकको निधन भएमा सरकारले क्षतिपूर्ति उपलब्ध गराउने गर्छ । वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा एकमुष्ट रूपमा ३ लाख रूपैयाँ दिने व्यवस्था छ । पीडित परिवारले बोर्ड र बिमाबाट गरी ५ लाख रूपैयाँ पाउँछन् । मृत्यु भएमा नजिकको नाता पर्ने श्रीमती भए श्रीमती वा छोराछोरीलार्ई रकम उपलब्ध गराइन्छ । अविवाहित भएमा आमा वा बाबुले क्षतिपूर्ति पाउने व्यवस्था छ । घाइते भएका कामदारलार्ई घाइतेको प्रकृतिअनुसार क्षतिपूर्ति दिने व्यवस्था छ । सतप्रतिशत घाइते भएका कामदारलार्ई मृत्युसरह नै मानी ३ लाख रूपैयाँ उपलब्ध गराइन्छ । यसका लागि घाइतेले चेकजाँच गरेका प्रमाणपत्रका साथै बिरामी स्वयं उपस्थित हुनुपर्छ । तर, अवैधानिक बाटो हुँदै बिदेसिएका कामदारले भने सरकारका तर्फबाट यस्तो क्षतिपूर्ति पाउँदैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु