कृषि सचिव भट्टराई र विश्व बैंकका अधिकारीबीच भेटवार्ता

२०७२ आश्विन १५ गते, शुक्रबार

काठमाडौ, १५ असोज । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा विश्व बैंकका अधिकारीहरुसँंग भेटवार्ता गर्नुभएको छ । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) लाई सहजीकरण गर्न आएको बैंकको १२ औं कार्यान्वयन सहयोग मिसनका प्रमूख प्याट्रिक भेरिसिमो नेतृत्वको समुहले सचिव भट्टराईसँंग भेटवार्ता गरेको हो । भेटमा प्याक्टलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने कदमबारे छलफल गरिएको थियो ।
कृषि विकास मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनालाई विश्व बैंकले आर्थिक सहयोग गर्दैआएको छ । भेटवार्तामा मन्त्रालयका सहसचिवहरु तथा विभागका महानिर्देशक तथा उपमशानिर्देशकको पनि सहभागिता थियो । त्यस्तै प्याक्टका आयोजना निर्देशक डा. इन्द्रकान्त झा, आयोजना व्यवस्थापन समुहका सदस्यहरु तथा विषयगत विज्ञहरुको पनि सहभागिता थियो ।
यसअघि बिहीबार मिसन टोलीले राष्ट्रिय योजना आयोगका सदस्य भारतेन्दु मिश्रसँंग भेट वार्ता गरेको थियो ।
त्यस्तै मिसनका सदस्यहरुले गत आइतबार र सोमबार आयोजनाको पूरक अनुदानमा काठमाडौं र काभ्रेमा सञ्चालित विभिन्न उपआयोजनाका लाभग्राहीसँंग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा भेरिसिमोका साथै आयोजना निर्देशक डा. झा तथा मन्त्रालय तथा राष्ट्रिय योजना आयोगकोसमेत प्रतिनिधित्व रहेको थियो । त्यस्तै अन्तरक्रियामा आयोजनाका विज्ञहरुको पनि सहभागिता थियो ।
मिसनका सदस्यहरुसँंग किसानहरुले बाली वीमालाई थप सरल बनाइए आफूलाई सहयोग पुग्ने बताएका थिए । मिसन सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म रहने आयोजनाले जनाएको छ ।

प्रतिक्रियाहरु