संसद् अधिवेशन सुरु हुदै

२०७२ आश्विन १५ गते, शुक्रबार

काठमाडौ, १४ असोज । संविधान जारी भएपछि व्यवस्थापिका संसद्को पहिलो अधिवेशन आज अपराह्नवाट सुरु हुँदै छ । रूपान्तरित संसद्को पहिलो अधिवेशनले नयाँ सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति र सभामुख–उपसभामुख चयन गर्नेछ। पहिलो बैठक अधिवेशन आहवानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र वाचनको औपचारिकतामा सीमित हुनेछ। सचिवालयले संसद्को अन्तरिम नियमावली र नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने गरी शुक्रबारै दोस्रो बैठकको तयारी गरेको छ। तर, नयाँ सरकार गठनका लागि प्रधानमन्त्री सुशील कोइरालाले मार्ग प्रशस्त गर्ने लगायतका कार्यसूचीबारे बिहीबार साँझसम्म सरकारले सभामुखलाई कुनै जानकारी गराएको छैन।
प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन सभामुख सुवासचन्द्र नेम्वाङले अन्तरिम नियमावलीको मस्यौदा तयार गरी प्रमुख दलका मुख्य सचेतकहरूलाई उपलब्ध गराएका छन्। ‘प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गरी शुक्रबारै राजीनामा गर्ने चर्चा चले पनि त्यसको औपचारिक जानकारी प्राप्त भएको छैन,’ सचिवालय स्रोतले भन्यो, ‘संविधानले नै अधिवेशन सुरु भएको ७ दिनभित्र सहमतिको सरकार गठन हुन नसके संसद्ले बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरेकाले प्रधानमन्त्रीले राजीनामा नै गरिरहनु पर्दैन भन्ने मत पनि आएको छ।
सभामुख नेम्वाङले भने पद रिक्त नभई नयाँ सरकार गठन प्रक्रिया सुरु गर्दा राम्रो सन्देश नजाने उल्लेख गर्दै प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गरी राजीनामाको घोषणा गर्नु उपयुक्त हुने सुझाव दिनुभएको छ।’
संविधानको संक्रमणकालीन धारामा संसद् अधिवेशन प्रारम्भ भएको ७ दिनभित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख–उपसभामुख र ३० दिनभित्र राष्ट्रपति–उपराष्ट्रपति चयन गर्नुपर्ने व्यवस्था छ। त्यसको सहज कार्यान्वयनका लागि प्रधानमन्त्रीले समयमै राजीनामा दिएर मार्ग प्रशस्त गर्दा राष्ट्रपतिसहित बाँकी पदाधिकारी चयनको प्रक्रिया सहज हुने विश्वाससहित नेम्वाङले आफ्नो सन्देश पठाएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीले आजै राजीनामा घोषणा नगरे नयाँ सरकार गठनसम्बन्धी संक्रमणकालीन व्यवस्था कार्यान्वयनमा बाधा पर्न सक्छ। संविधानमा अधिवेशन प्रारम्भ भएको ७ दिनमा सहमतिको सरकार गठन हुन नसके बहुमतीय प्रक्रिया सुरु हुने उल्लेख छ।

प्रतिक्रियाहरु