नाकाबन्दी खोल्ने संकेत

२०७२ आश्विन १३ गते, बुधबार

काठमाण्डौ,१३ असोज । भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दी खुलाउने संकेत गरेको छ । नेपालमा संविधान जारी भएको झन्डै दुई हप्तापछि दक्षिणी छिमेकी भारतले नेपालमा संविधान जारी भएकोमा आफू असन्तुष्ट र बेखुसी नरहेको औपचारिक प्रतिक्रिया दिदै सो संकेत दिएको हो । नेपालस्थित भारतीय दूतावासले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर नेपालको नयाँ संविधानमा भारत खुसी र सन्तुष्ट रहेको प्रतिक्रिया दिएको हो ।
भारतीय राजदूत रन्जित रेले नेपालमा नयाँ संविधान आउँदा भारत असन्तुष्ट र बेखुसी रहेको भन्ने कुरा गलत रहेको बताउँदै भारत असन्तुष्ट र बेखुसी हुनुपर्ने कुनै कारण नभएको बताए । उनले भारतीय पक्षले नाकाबन्दी नगरेको स्पष्ट पार्दै नेपाली पक्षको प्रदर्शन र अवरोधले गर्दा नेपाल भारतबीचको नाकामा समस्या आइरहेको उल्लेख गरे । यसलाई सहज बनाउन आफूहरु नेपाली पक्षसँग हामी निरन्तर सम्पर्क र सम्वादमा रहेको राजदुतको भनाइ थियो । यहाँको असन्तुष्टी र आन्दोलन नेपालको आन्तरिक मामिला र समस्या भएको र यसलाई हल गर्ने काम यहाँको सरकार र दलहरुको भएको पनि उनले बताए ।

प्रतिक्रियाहरु