सुनौली नाकाबाट मालबाहक गाडी भित्रन थाल्यो

२०७२ आश्विन १३ गते, बुधबार

काठमाण्डौ,१३ असोज । रुपन्देहीको बेलहिया नाकाबाट इन्धन र अन्य उपभोग्य पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिन सुरु गरेका छन् । आज नेपाल र भारत दुबै देशका सुरक्षाकर्मी र भन्सार अधिकारीहरुबीचको बैठकले भारतमा रोकिएका मालबाहक साधनहरु नेपालमा पठाउने निर्णय गरेपछि सुनौली नाकाबाट निर्वाधरुपमा मालबाहक सवारी–साधन नेपाल भित्रिन थालेका हुन् । आज दिउँसोसम्ममा १ सय ४ ओटा ट्रक, २१ ओटा बस, एलपी ग्यासको एक बुलेट, कार्बनको ४ ट्रक, अक्सिजन बोकेको एक गाडी, पेट्रोल–डिजल का ४, नयाँ गाडी १२, र ३ ओटा पीकअप भित्रिएका छन् ।
यस्तै, ६४ ओटा ट्रकमा फलफूल, नयाँ मोटरसाइकल, गहुँ, चामल, अगरबत्ती, तोरी, सिमेन्ट, प्याज, आलु कम्बल, टायरलगायतका सामग्री रहेका छन् । मालबाहक गाडीहरु भित्रिनेक्रम जारी छ ।
मधेसी मोर्चाका कार्यकर्ताहरुलाई दशगजाबाट हटाइएपछि भारतबाट निर्वाधरुपमा सवारी–साधन भित्रिएका हुन् । भारतमा रोकिएका तेलका ट्यांकर र अन्य मालबाहक सवारी–साधनहरु भारतीय प्रहरीले कडा सुरक्षाका साथ सीमासम्म ल्याइरहेको छ । भारतीय बजार सुनौलीमा प्रहरीचौकीमा बसेको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी राजश्व गस्तीका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खनाल, इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी, भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रविन्द्र प्याकुरेल र भारतको तर्फबाट महाराजगन्जका सहायक सीडीओ विक्रम सिंह र भारतीय सुरक्षा बलका अधिकारीहरु सहभागी थिए ।

प्रतिक्रियाहरु