असहयोग आन्दोलन चलाउछौ : मधेसी मोर्चा

२०७२ आश्विन १३ गते, बुधबार

काठमाण्डौ,१३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको रौतहटको गौरमा बसेको बैठकले असहयोग आन्दोलन चलाउने निर्णयका साथै औपचारिक वार्ताका लागि आठबुँदे सहमति कार्यान्वयनको राजनीतिक प्रतिवद्धता मागेको छ । बैठकले राज्यलाई कर नतिर्ने आहृवान गर्दै असहयोग आन्दोलन चलाउने निर्णय गरेको हो । सद्भावना अध्यक्ष राजेन्द्र महतोले अनलाइनखबरसँग भने-हामीले कर लगायतका कुनै पनि शुल्क नतिर्ने र असहयोग आन्दोलन सुरु गर्ने निर्णय गरेका छौं ।’ उनका अनुसार मधेसी मोर्चाको बैठकले आन्दोलन उत्कर्षमा पुगेको निष्कर्ष निकालेको छ । मधेसी मोर्चाले अहिले नाकाबन्दी गर्ने भन्दै भारतसँगको सीमा नाकाहरुमा धर्ना दिइरहेको छ । मधेसी मोर्चाले भोलि बिहीबार मेचीदेखि महाकालीसम्मको हुलाकी सडकमा मानव साङ्लो बनाएर एकता प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।
मधेसी मोर्चाको बैठकमा तीन दलसँग भएको अनौपचारिक वार्ताको समिक्षा भएको छ । उसले औपचारिक वार्ताका लागि आठबुँदेसहितका विगतका सहमति कार्यान्वयनको राजनीतिक प्रतिवद्धता मागेको छ ।
महतोले भने-हामी वार्ता विरोधी होइनौं । तर, औपचारिक वार्ताका लागि वातावरण बनाउनुपर्छ । मधेसी मोर्चासँग भएको ८ र २२ बुँदे सहमति कार्यान्वयन गर्ने राजनीतिक प्रतिवद्धता जनाउनुपर्छ ।’
मधेसी मोर्चाको बैठकले तीन दलसँग अनौपचारिक वार्ता गर्ने जिम्मा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । यसअघि पनि ठाकुरले नै तीन दलका नेताहरु र वार्ता टोलीसँग अनौपचारिक कुराकानी गर्दै आएका थिए ।
तीन दलले विगतका सहमति कार्यान्वयनको प्रतिवद्धता जनाएमा भने औपचारिक वार्ता समिति नै बनाएर वार्तामा बस्ने मोर्चाले जनाएको छ ।

प्रतिक्रियाहरु