प्रचण्ड पतन हुनुका कारणहरू – खेम थपलिया

२०७२ आश्विन १ गते, शुक्रबार

महान् जनयुद्धका नायक प्रचण्ड कुनै बेला नेपालका समकालीन राजनीतिक नेताहरूभन्दा माथि थिए । नेपालमा मात्र नभएर उनको चर्चा परिचर्चा विश्वव्यापी नै हुने गर्दथ्यो तर विगतका करिब दस वर्षको राजनीतिक सङ्क्रमणकालसँगै उनको उचाइ घट्दै गएर अहिले करिब करिब चर्चाशून्य (यद्यपि काङ्ग्रेस एमालेहरूले प्रशंसा गरिरहेका छन्) को अवस्थामा पुगेको छ । आफूले गरेको सङ्घर्ष, पार्टीको मुख्य कार्यदिशा र लक्ष्यभन्दा विल्कुल विपरीत दिशामा गएर कथित सङ्घीयतासहितको संविधान निर्माणमा उनले हस्ताक्षर गरेपछि उनको राजनीति छबि करिब करिब धुलिसात् हुन पुगेको छ । यस्तो किन भयो ? नेपालको समकालीन राजनीतिमा यत्ति छिट्टै भयानक उतार चढाव उनको जीवनमा किन आइप¥यो ? यो विषय अहिले नेपालको राजनीतिमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि बहस हुने गरेका छन् । यहाँ प्रचण्ड पतन हुनुका कारणहरूको सामान्य चर्चा गर्ने जमर्को गरिएको छ ः
प्रचण्ड दर्शनमा सारसङ्ग्रहवादी हुँदै दक्षिणपन्थी संसदीय भासमा भासिए । राजनीतिमा उनले मध्यपन्थी अवसरवादी हुँदै दक्षिणपन्थी सुधारवाद र राष्ट्रिय आत्मसर्मपणवादतर्फको यात्रालाई तीब्र बनाए । भारतीय विस्तारवादको दलाल पुँजीपतिवर्गसँग प्रधान अन्तर्विरोध भनिए पनि व्यवहारमा त्यसको विल्कुल कार्यान्वयन गरेनन् । उनले कहिले चिनियाँ कार्ड र कहिले भारतीय कार्डको प्रयोग गरिरहे । उनले आफ्नो पार्टीको पारित राजनीतिक दस्तावेजभन्दा ठीक विपरीत काम कारबाही गर्न थाले । पछिल्लो १६ बुँदे सहमतिले र ७ प्रदेशको सङ्घीय प्रदेशसम्मको सहमतिले उनको पश्चगामी यात्रालाई पुनर्पुष्टि गरिदिएको छ । राष्ट्रिय स्वाधीनताको नारालाई आन्दोलनको मूल केन्द्रविन्दु बनाउनुपर्नेमा व्यवहारमा त्यसलाई ओझेलमा पारे । संयुक्त मोर्चा–वामपन्थी, देशभक्त र गणतन्त्रवादीहरूसँग गर्ने भनिए पनि व्यवहारमा भारतीय विस्तारवादपरस्त र तिनका दलाल वर्गसँगको सहकार्यमा जोड दिए । जनवादी क्रान्ति करिब करिब सम्पन्न भएको भन्दै उनले कथित समाजवादी क्रान्तिको कार्यदिशा अवलम्बन गरे । यो कुरालाई पार्टीभित्रकाले समेत स्वीकार गर्ने स्थिति बनेन । उनले कथित शान्ति र संविधानलाई नै सम्पूर्ण रणनीतिक कार्यदिशा बनाएको प्रस्ट भयो । एक थान संविधानको नाममा उनले आफ्नो सर्वस्व गुमाउन तयार भए । उनले भन्ने गरेको हेटौंडा महाधिवेसनभन्दा अघिको कार्यदिशाअनुरूप ‘चार आधार र चार तयारी’ को दिशामा सिन्को पनि भाँचेनन् । संविधान निर्माणमा जनताको सङ्घीय गणतन्त्र भनिए पनि वास्तवमा त्यो काङ्ग्रेस र एमालेको भनेको जस्तै लोकतान्त्रिक गणतन्त्र नै थियो । उनी संसदीय भासमा उठ्नै नसक्नेगरी भासिए । उनमा कम्युनिस्टको बँचेखचेको मर्म पनि बाँकी रहेन । यसरी उनी बुर्जुवाहरूको बहुलवादमा पतन हुन पुगे ।
प्रचण्डको जातीय स्वायत्ततासहितको सङ्घीय प्रणाली भनिए पनि व्यवहारमा त्यो एकात्मक र केन्द्रीकृत प्रणाली नै रहेछ भन्ने कुरा प्रमाणित भएको छ । आत्मनिर्णयको अधिकार, अग्राधिकार र महिला, दलितहरूको विशेषाधिकार आदि सवालहरूमा पनि उनले केही गर्न सकेनन् । राज्यका अङ्गहरूमा उत्पीडित जाति, महिला, मधेसी, दलित आदिको समानुपातिक प्रतिनिधित्व भनिए पनि व्यवहारमा कहीँ कतै लागू नगरिनुले उनको विश्वसनीयता खत्तम भयो । सार्वभौम जनताको मान्यताअनुसार जनप्रतिनिधिसभालाई अधिकार सम्पन्न गराउनुको सट्टा बुर्जुवाहरूको शक्ति पृथकीकरणको सिद्धान्तअनुसार क्षेत्राधिकारबिनाका सदन बनाउन सहमति गरे । उनी निर्वाचित कार्यकारी राष्ट्रपतिको मागमा टिक्न सकेनन् । उनी पनि एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाका मतियारमा दर्ज भए । न्यायपालिकाको स्वतन्त्रताको दुहाई दिइयो तर न्यायक्षेत्रमा जनप्रतिनिधिहरूको सहभागितालाई न्यूनीकरण गर्ने प्रवृत्ति उनमा पनि देखाप¥यो । उनले खुला सिमाना र बाह्य जनसांख्यिक अतिक्रमण बढिरहेको स्थितिमा विदेशीहरूलाई अङ्गीकृत नेपाली नागरिकता वितरण गर्ने व्यवस्थालाई खुुकुलो मात्र बनाएनन्, हेटौंडा महाधिवेसनमा जनमत सङ्ग्रहको व्यवस्थासम्मको कुरा गरे । यो उनको भारतीयहरूको हददर्जाको चाकरी र चाप्लुसी थियो । यो उनको भारतीय विस्तारवादको चाकरी गर्ने नराम्ररी चिप्लिए र पतन भए ।
राज्यको यथास्थितिवादी संरचनालाई पुनर्संरचना गर्दै लानुपर्नेमा उनले त्यसो गरेनन् । सेना समायोजनको नाममा उनले आफ्नै सेनाका विरुद्ध मध्यरातमा नेपाली सेना लगाएर कू गरे । व्यक्ति समायोजनको मान्यताअनुसार सङ्ख्या तोकी समूहगत मान्यतालाई छोडे । रि–गु्रपिङको नाममा क्यान्टोनमेन्टलाई खाली र निःशस्त्रीकरण गराइयो । उनले मध्यरातमा नेपाली सेना लगाएर जनमुक्ति सेनामाथि धावा बोल्न आदेश दिए । उनले आफू सरकारमा हुँदा जनवादी क्रान्तिको चरणमा राष्ट्रिय स्वाधीन कृषि–औद्योगिक अर्थतन्त्रलाई जोड दिनुपर्नेमा विदेशी एकाधिकार बहुराष्ट्रिय कम्पनी र विदेशी लगानी तथा दलाल–नोकरशाही पुँजीको बढावा दिने प्रकृतिका विधेयकहरू ल्याए । माथिल्लो कर्णाली र अरुण तेस्रोलगायतका निर्यातमुखी जलविद्युत परियोजनाहरूमा भारतीय कम्पनीहरूको लगानीमा जोड दिए । उनले पार्टीको बहुराष्ट्रिय भाइचारा सम्बन्धलाई निषेध गरे र वर्गदुश्मन विशेषगरी भारतीय विस्तारवादी खुफिया एजेन्सीसँगको सम्बन्धमा जोड दिए । यी कार्यहरूले उनको क्रान्तिकारी छबिमा व्यापक मात्रामा ¥हास मात्र आएन, उनी पतनको गर्तमा नराम्ररी जाकिए ।
प्रचण्डले पार्टी सङ्गठनलाई जनवादी केन्द्रीकृत र सामूहिक नेतृत्व प्रणालीमा लानुको सट्टा आत्मकेन्द्रित व्यक्तिवादी ढङ्गले सञ्चालन गरे । पार्टी द्वन्द्वात्मक सम्बन्धहरूको समुच्चय हो भन्ने मान्यता विपरीत आलोचनाप्रति असहिष्णु बन्ने र भिन्न मतलाई निषेध गरी सत्रुतापूर्ण परिस्थिति बनाए । भिन्न मत राख्नेहरूमाथि भौतिक आक्रमण तथा कुटपिटमा उत्रनेजस्ता काम पनि भए । उनले पार्टीलाई एकताबद्ध बनाउन सकेनन् र पार्टी विभाजित भयो । उनी आर्थिक आचरणमा भ्रष्टीकरण देखिए । पद, पैसा र प्रतिष्ठाको लागि नैतिक–अनैतिक जे पनि गर्ने प्रवृत्ति देखियो । पार्टीको आय–व्यय र आर्थिक हरहिसाबको कुनै रेकर्ड राखिएन । कमिटी प्रणालीविहीन बनाए । पूरै व्यक्तिवादी ढङ्गले पार्टीको स्रोत–साधनको दुरुपयोग गर्ने प्रवृत्ति बढावा दिए । उनी आफ्नो तुच्छ स्वार्थका लागि महान् उपलब्धि र सम्भावनाहरू त्याग्न तयार भए, जसका कारण उनी पतन भए ।
कमरेड लेनिन भन्नुहुन्छ, “अराजकतावादको जग व्यक्ति हो भने माक्र्सवादको जग जनता हो ।” लेनिनको थप कथन छ, “सिद्धान्तबिनाको व्यवहार अन्धो हुन्छ भने व्यवहारबिनाको सिद्धान्त लङ्गडो हुन्छ ।” अहिले प्रचण्डले नेतृत्व गर्नुभएको पार्टीमा अराजकता छ । उनको पार्टीमा सिद्धान्त एकादेशको कथा भएको छ । उनको पार्टीलाई बुर्जुवा सांस्कृतिक झारले पूरै ढाकेको छ । जे गर्नुपर्ने हो, त्यही नगर्ने विरासत प्रचण्डको भएको छ । हुन त दुनियाँमा कहिले पनि प्रतिक्रान्तिकारीहरूले ‘म दक्षिणपन्थी भएँ, म विर्सजनवादी भएँ, मैले जनताका सत्रुसँग सम्झौता गरेँ’ भन्दैनन् । प्रचण्डले पनि यसो भन्ने आँट गरेका छैनन् । वर्गसङ्घर्षबाट वर्गसमन्वय हुँदै सम्झौतावादमा फस्नु बहुलवादी सौन्दर्य चिन्तनमा आधारित कुरा हो । यी सङ्क्षिप्त पारिस्थितिक सन्दर्भले नेपालमा अर्को भीषण युद्धको अपरिहार्यतालाई जनाउँछ । हिजो सँगै वर्गसङ्घर्षमा लडेका विप्लवहरू आज भनिरहनुभएको छ– “हामी क्रान्तिप्रति जबाफदेही छौँ । हामी आफ्नो उच्च क्षमताको साथ क्रान्तिकारी आन्दोलनको सेवा गर्नेछौँ । हामीले यो जिम्मेवारी यससँग जोडिएका खतराहररूको पनि आभास गरेका छौँ । नेपालमा भारतीय विस्तारवाद र अमेरिका साम्राज्यवाद एवम् लेन्डुपे दलालहरूको उपस्थितिलाई हामीलाई अमान्य छ । कथित संविधान अमान्य छ । कथित सङ्घीय अमान्य छ । अर्को युद्ध अपरिहार्य भएको छ । एकीकृत जनक्रान्ति– जिन्दावाद !” क्रान्तिकारी मर्मलाई पूरै बेवास्ता गरेर एमालेसित पार्टी एकतालाई अपरिहार्य देख्न थाल्नु प्रचण्डको पतनको सर्वोत्कृष्ट दृष्टान्त हो ।
अहिले संविधान महान् जनयुद्ध र जनआन्दोलनको मूल मर्मविरुद्ध छ । यो महेन्द्रीय कर्मकाण्डी सङ्घीयता र संविधानबाहेक केही होइन । यो भारतको निर्देशनमा ७ प्रदेशको सीमाङ्कन भएको हो । हाँस्यास्पद कुरा त के छ भने सबै प्रदेशहरूलाई दुष्ट छिमेकी मुलुक भारतसँग जोडिएको छ । यसरी भारतसँग सबै प्रदेशलाई जोडिनुलाई भारतीय स्वार्थअनुकूल र उसको दबाबका आधारमा सिमाङ्कन गरिएको कुरा पुष्टि हुन्छ । प्रचण्डले उनले नेतृत्व गर्नुभएको एमाओवादीले यसअघि उठाएको राज्य पुनर्संरचनाको कुनै पनि विषय समावेश भएनन् । एमाले काङ्ग्रेस त सङ्घीयता विरोधी थिए नै तर जनयुद्धदेखि जनआन्दोलनमा समेत सङ्घीयतासहितको नयाँ संविधानको मुख्य मुद्दा उठान गरेको एमाओवादी यतिसारो गल्नुको मुख्य कारण प्रचण्ड नै हुन् भन्ने कुरामा दुईमत हुन सक्तैन । आज प्रचण्ड र उनको पार्टीमा निजी पुँजी र परिवारप्रति आशक्ति बढेको छ । उनको पार्टीमा भ्रष्टीकरण र अपराधीकरण संस्थागत हुँदै गएका छन् । त्यसको केन्द्रीकृत अभिव्यक्ति एमाओवादीबाट भइरहेको छ । त्यसको मूल नेतृत्व स्वयम् प्रचण्डले गरेका छन् । यसले उनको राजनीतिमा ‘हाई प्रोफाइल’ यसरी ‘शून्य प्रोफाइल’ मा गिर्न पुगेको छ । नेपालको राजनीतिमा उनले शीघ्र उत्थान र शीघ्र पतनको परिचय बनाएका छन् । प्रचण्डको यो अवस्थाबाट नेपालका समकालीन क्रान्तिकारीहरूले गम्भीर शिक्षा लिन आवश्यक छ । अहिले प्रचण्ड पतन हुनुका कारणहरू उठिरहेका छन् । महान् जनयुद्धको नायकका रूपमा नेपाली राजनीतिमा उदाउनुभएको प्रचण्डले क्रान्ति सुरु गर्नुताकाका व्यक्त गरिएका प्रतिबद्धताहरू पूरा गर्न सकेनन् वा चाहेनन् । सामन्ती शासकहरू विभिन्न बाहनाबाजी गरेर जनता झुक्याएर आफ्नो लुटको स्वर्ग टिकाउन हजार प्रयत्न गरिरहेको बेला पार्टीमा पचण्डले तिनीहरूकै पक्षपोषण गर्नेगरी पार्टीलाई प्रतिक्रियावादीको सेवामा लगाए ।
प्रचण्डले पुरानो पार्टी संरचनाले पुरानो संसार भत्काएर नयाँ संसारको निर्माण गर्नुको साटो पार्टीलाई अपसांस्कृतिक केन्द्र बनाए । नेपाललाई सामन्तवादका आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, प्रशासनिक सम्बन्धबाट मुक्त गरी स्वतन्त्र, सार्वभौम र स्वाधीन राष्ट्र बनाउनुको सट्टा उनले तिनीहसित आत्मसमर्पण गरे । उनले पार्टी र क्रान्ति, मुक्तिकामी जनसमुदायलाई ठूलो धोका दिए । उनले जनसुखाय एवम् मुक्तिसुखायको भावबोध गर्न सकेनन् । उनले माक्र्सवाद–लेनिनवाद–माओवादको आधारभूत मान्यताहरू परित्याग गरे । उनले सहिदका सपना बिर्से, बेपत्ता परिवारको पीडा भुले, घाइतेहरूको आर्तनादमा मलम लगाएनन् । बिहीबार मात्रै प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीसित ३६ मिनेट फोनवार्ता गरे । फोनवार्ताका क्रममा प्रचण्डले एमालेसित पार्टी एकताको गम्भीर विषय राखे । एमालेसितको पार्टी एकताको प्रस्तावपछि प्रचण्डमा अब के पो बाँकी रहयो र ! प्रचण्ड रित्तिए, सिद्धिए, पतन भए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु