पाइपलाइन निर्माणसम्बन्धी सम्झौता हुदै

२०७२ भाद्र ७ गते, सोमबार

काठमाडौ, ७ भदौ । नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज तेल पाइपलाइन निर्माणसम्बन्धी सम्झौता आज हुने भएको छ । निर्माणको चर्चा चलेको करिब डेढ दशकपछि सम्झौता हुन लागेको हो । सम्झौताका लागि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्य मन्त्री धर्मेन्द्र प्रधानको नेतृत्वमा भारतीय आयल निगमको टोली नेपाल आइसकेको छ ।
नेपालका तर्फबाट सम्झौता कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा नेतृत्वको टोलीले सहभागिता जनाउने छ । भारतको रक्सौलस्थित पेट्रोलियम डिपोदेखि नेपालको पेट्रोलियम डिपो अमलेखगञ्जसम्म ४१ किलोमिटर पाइपलाइन निर्माणका लागि सम्झौता हुने छ । पाइपलाइनको ३९ किलोमिटर भाग नेपालमा र २ किलोमिटर भाग भारतीय भूमिमा पर्नेछ । पाइपलाइन भारतीय आयल निगमले अनुदानमा बनाइदिने घोषणा २०७१ साउनमा नेपाल भ्रमणताका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको थियो । अध्ययन प्रतिवेदनले यो आयोजना पूरा गर्न करिब ४ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । सम्झौता भएको मितिले पाइपलाइन योजनाका लागि जग्गा अधिग्रहणदेखि आयोजना पूरा गर्ने कार्य साढे २ वर्ष भित्र सक्ने गरी सम्झौता हुन लागेको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रियाहरु