प्याजको मूल्य आकाशियो

२०७२ भाद्र ६ गते, आईतवार

काठमाडौं,६ भदौ । प्याजको भाउ ह्वात्तै बढेको छ । अहिले प्याजको थोक मूल्य किलोको १ सय रुपैयाँ पुगेको छ । यो मूल्य यसवर्षको अहिलेसम्मकै उच्च भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तराईका जिल्लामा बन्द भैरहेकाले प्याजको आयात ठप्प जस्तै भएको छ । ढुवानी नहुँदा र बजारमा माग धेरै हुँदा प्याजको भाउ महंगिएको हो । प्याजका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ । भारतबाट आयात नभएकाले भाउ अझै बढ्ने अनुमान छ । यो वर्षको सुरुमा किलोको ३७ देखि ३८ रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ वर्षा लागेपछि बढेर किलोको ७० देखि ७५ रुपैयाँ पुग्यो । त्यसपछि फेरि घटेर किलोको ६७ देखि ६८ रुपैयाँ थोक मूल्यमा झरेको भाउ आज ह्वात्तै बढेर सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रियाहरु