रक्सौल–अमलेखगञ्ज पाइपलाइन सम्झौता हुदै

२०७२ भाद्र ४ गते, शुक्रबार

काठमाडौँ, ४ भदौ । नेपाल आयल निगम लिमिटेडले बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी औपचारिक सम्झौता सोमबार हुने बताएको छ । नेपाल सरकार र भारत सरकारबीच हुने सो सम्झौतामा हस्ताक्षर गर्न यही भदौ ६ गते भारतका पेट्रोलियम मन्त्री, इन्डियन आयल कर्पाेरेसनका अध्यक्षलगायत ११ सदस्यीय टोली नेपाल आउने जानकारी आयल निगमले गराएको छ । दुबै मुलुकका सरकारबीच सम्झौतापछि निर्माण हुने पाइपलाइन विस्तारले मुलुकमा पट्रोलियम पदार्थको आपूर्ति सहज हुने निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए । मुलुकमा दैनिक बन्द र हडताल भइरहेको विषम परिस्थितिमा पनि निगमले पेट्रोलियम पदार्थको अभाव हुन नदिएको जानकारी गराउँदै उनले बन्दकर्तालाई दैनिक आवश्यकताका वस्तुको आपूर्तिमा अवरोध नगर्न आग्रह गरे ।
एक फरक प्रसङ्गमा कार्यकारी निर्देशक खड्काले निगममा नियमित रुपमा हुने सरुवा, बढुवा र नियुक्तिका सम्बन्धमा केही सञ्चारमाध्यमले अनावश्यक समाचार सम्प्रेषण गरेकामा असन्तोष प्रकट गरे । उनले आफू निगमलाई सुधार्न लागेको बताउँदै हाल निगममा कुल ७५३ दरबन्दी रहेको र त्यसमध्ये ४२८ स्थायी दरबन्दी तथा बाँकी ३२५ दरबन्दीमा करार, ज्यालादारीका रुपमा नियुक्ति हुने प्रावधान रहेको जानकारी गराए ।

प्रतिक्रियाहरु