आजपनि सुदुरपश्चिम ठप्प

२०७२ भाद्र २ गते, बुधबार

काठमाडौ , २ भदौ । थरुहट संघर्ष समितिले चितवनदेखि कञ्चनपुरसम्मको भू–भाग थरुहट प्रदेश हुनुपर्नेे माग गर्दै गरेको बन्द नवौं दिनमा प्रवेश गरेको छ ।
नौ दिनदेखिको बन्दले पश्चिमी जिल्लाहरु समेत प्रभावित बनेका छन् । सबैभन्दा बढी सर्वसाधारणको दैनिकी चौपट बनेको छ । बन्दको कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनेको हो । बन्दका कारण यि जिल्लाहरुमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने विद्यालय, उद्योग धन्दा, कलकारखाना, बजार ठप्प छन् । हिमाल, पहाड, तराईको भूगोल समेटेर बनाइएको प्रदेश कुनै पनि हालतमा थारुवानका मूल आदीवासीलाई स्वीकार्य नहुने भन्दै बन्द आह्वान गरिएको हो । पश्चिम तराईकै केही जिल्लामा भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्द पनि जोडिएको छ । दोहोरो बन्दको प्रभाव सबैभन्दा बढी कपिलवस्तु जिल्लामा देखिएको छ । दोहोरो तर्फबाट हुने प्रदर्शनले सदरमुकाम तौलिहवा तनावग्रस्त बन्दै गएको छ । कपिलवस्तु भएर भारतबाट आउने यात्रु अहिले कृष्णनगरमै अलपत्र परेका छन् ।
उता, १४ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो ।
कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग गर्दै अखण्ड सुदुरपश्चिम पक्षधरले बन्दको आह्वान गरेका हुन् । बन्दका कारण सुदूरपश्चिमकै ९ जिल्लामा यातायात, शैक्षिकसंस्था र बजार ठप्प बनेको छ ।

प्रतिक्रियाहरु