भोलि र पर्सि आमहडताल

२०७२ श्रावण ३० गते, शनिबार

काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र मधेस केन्द्रित राजनीतिक दलले भोलि साउन ३१ र ३२ गते आमहडताल आव्हान गरेको छ । मस्यौदा संविधान प्रतिगामी भन्दै यसको खारेजीको माग गर्दै उनीहरुले आमहडतालसहित संघर्षको कार्यक्रम अगाडी बढाएको बताइएको छ । यसैबीच शान्तिपूर्ण प्रचारप्रसारमा उत्रिएका ३३ दलीय मोर्चा र मधेस केन्द्रित राजनीतिक दलका कार्यकर्ताहरुलाई काठमाडौं उपत्यकामा प्रहरीद्वारा धरपकड गरिएको बताइएको छ । बन्दसहित संघर्षका कार्यक्रमको प्रचारमा लागेका माओवादीका शारदा महत, डिल्ली महतसहित तीन जनालाई काठमाडौंको खसी बजारमा पक्राउ गरी कालीमाटी प्रहरी चौकीमा राखिएको छ । जावलाखेलबाट नेकपा–माओवादी र संघीय समाजवादी फोरमका छ जनालाई गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा गगन मगर, सुनिल थापा, सविन महर्जन, शैलेन्द्र महर्जन, गणेश आचार्य लगायत छन् । तमलोपाका सुरेन्द्र मण्डल र राजेन्द्र मिश्रलाई जावलाखेलमा अलग्गै पक्राउ गरिएको छ ।
भक्तपुर ठिमीबाट भवनाथ तिमल्सिना र वीना लामालाई गिरफ्तार गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी–माओवादीका तीन जना कार्यकर्तालाई आज विहान दरबार मार्गबाट पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा राजकुमार श्रेष्ठ, महेश श्रेष्ठ र राजु लामा रहेका छन् ।

प्रतिक्रियाहरु