अख्तियारमा उजुरीको चाङ्ग

२०७२ श्रावण २७ गते, बुधबार

काठमाडौ, २७ साउन । अख्तीयार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा गएको आर्थिक वर्ष २०७१/०७२ मा ३ हजार ९५ वटा उजुरी परेका छन् । अख्तीयारले यस अवधिमा परेका उजुरी मध्ये एक हजार ७ सय ६५ वटाको फैसला पनि गरको छ । अब एक हजार ३ सय २० वटा उजुरीको फैसला हुन बाँकी रहेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाका प्रवक्ता महेन्द्रनाथ भटराईले जानकारी दिए ।
गएको वर्ष सबैभन्दा बढी उजुरी शिक्षासँग सम्बन्धित छन् । शिक्षामा मात्र एक हजार २ सय ६६ वटा उजुरी परेका छन् । यी उजुरी मध्ये ७ सय २५ वटा उजुरीको फैसला भएको छ । अब ५ सय ४१ वटा उजुरीको निर्णय हुन बाँकी छ । शिक्षामा विशेष गरी विद्यालयका भवन निर्माण, शौचालय निर्माण, पाठ्य पुस्तक खरिद, छात्रवृत्ति वितरण लगायतका काममा बढी अनियमितता भएको पाइएको अख्तीयारले जनाएको छ ।
शिक्षा पछि अर्को भ्रष्टाचार हुने क्षेत्र स्थानीय निकाय हो । स्थानीय निकायमा गएको आर्थिक वर्षमा ९ सय ७ वटा उजुरी परेका छन् । स्थानीय निकायमा बढीजसो विकास निर्माणका काममा अनियमितता बढेको पाइएको छ । खरिद गरिएका सामानको बिल बढीको बनाइएको, गाविसहरुले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, कामै नगरिकन भुक्तानि दिएका जस्ता उजुरी बढी छन् । यसैगरी भूमिसुधार अन्तर्गतमा एक सय ६८ वटा उजुरी परेका छन् ।
२०७० साल असोज एक गतेबाट स्थापना भएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौडामा २०७२ साल असार मसान्तसम्ममा ३ हजार ९ सय १८ वटा उजुरी परेका छन् । अख्तियारमा परेका उजुरीको छानबिन गरेर कारबाही प्रक्रियामा लैजानका लागि कर्मचारीलाई भ्याइनभ्याइ हुनेगरेको अख्तियार क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु