संविधानसभाको कार्यसूची अलपत्र

२०७२ श्रावण २२ गते, शुक्रबार

काठमाडौं, २२ साउन । संविधानसभाको बैठक संविधानका विवादित विषयमा दलहरुबीच सहमति हुन नसक्दा अन्यौलमा परेको छ । आज साझ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बोलाएको बैठक बोलाएका छन् । उनले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले जनताका सुझावसमेत समेटेर संविधानको प्रारम्भिक मस्यौदा परिमार्जनमा देखिएका विवाद समाधान गरी प्रतिवेदन बुझाउने विश्वासमा संविधानसभा बैठक आह्वान गरेका हुन् ।
बिहीबार बिहान सहमतिको नजिक पुगेको भन्दै आएका दलहरुबीच साँझसम्म पनि सहमति जुट्न नसकेपछि अन्यौल बढेको हो । आज बिहानदेखि नै दलहरु सहमतिका लागि प्रयासमा जुटेका छन् ।
यद्यपी दलहरुबीच प्रदेशको सीमांकन, धर्मनिरपेक्षता, नागरिकताको प्रावधान लगायत ५–६ वटा मूख्य विषयमा सहमति जुट्न बाँकी छ । विवादित यी विषयमा सहमति जुटाएर संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले शुक्रबार साँझसम्ममा संविधानसभालाई प्रतिवेदन बुझाउन निकै कठिन रहेको स्रोतले बतायो ।संवैधानिक समितिका सभापति डा. बाबुराम भट्टराईले समेत शुक्रबार साँझसम्ममा सहमति जुट्ने सम्भावना नरहेको संकेत गरिसकेका छन् । उनकै शब्दमा ‘सहमति’ होइन, ‘सम्झौता’ मात्र हुन सक्छ । उनले बिहीबार बिहान ७ बजेदेखि ९ बजेसम्मको मेहनत सतहमा फलदायी नदेखिए पनि अन्त्यमा उपलब्धिमुलक रहेको भन्दै आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘साँझ अन्त्यसम्म सीमांकन लगायतका विषयमा शीर्ष तहमा जुन समझदारी बनेको छ, त्यसले शुक्रबार सबै विषयमा नयाँ सम्झौता हुने आधार तयार भएको छ ।’

प्रतिक्रियाहरु