आजदेखि अनिश्चितकालिन पूर्वाञ्चल बन्द

२०७२ श्रावण २२ गते, शुक्रबार

काठमाडौँ, २२ साउन । वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीती पूर्वाञ्चलले संविधानमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने सहित तीन बुदे माग राख्दै आजदेखि अनिश्चितकालिन पूर्वाञ्चल बन्दको आह्वान गरेको छ । संघर्ष समीतीले आह्वान गरेको बन्दको आज पहिलो दिन यातायात, कलकारखना, उद्योग धन्दा, व्यापार व्यवसाय, पसल, विद्यालय, कलेज बन्द हुदा पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ ।
समीतीले संविधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने, गौवंश हत्या संविधानमा नै निधेष गर्नुपर्ने र धर्म परीवर्तन संविधानमा नै निषेध गर्नुपर्ने माग गर्दै आजदेखि अनिश्चितकालका लागि पूर्वाञ्चल बन्दको आह्वान गरेको हो । संघर्ष समीतीका पूर्वाञ्चल संयोजक राजेन्द्र पोखरेलले बन्द हड्ताल नगरी सरकारले नदेख्ने र नबुझ्ने गरेकाले बन्दको विकल्प अपनाउन बाध्य भएको बताएका छन । उनले आफूहरुले दुई सातादेखि नियमित शान्तिपूर्ण प्रदर्शन गरीरहेपनि कुनै सुनवाइ नगरेकाले पूर्वाञ्चल बन्द आह्वान गरिएको बताए । बन्दका कारण यातायात नचल्दा यात्रुहरु अलपत्र परेका छन् भने परिक्षा सञ्चालन भइरहेका विद्यालयका विद्यार्थीहरु समेत बन्दका कारण प्रभावित बनेका छन् । बन्दकै क्रममा पनि केहि विद्यालयहरु भने सञ्चालनमा आएका छन् । यस्तै प्रेस, एम्बुलेन्स, शब बाहन, अत्यावशेक पदार्थ बोकेका सवारी साधनमा भने कुनै अवरोध नगर्ने संघर्ष समीतीले जनाएको छ ।
संघर्ष समीतीको नेतृत्वमा हिन्दुवादीहरुले दुई सातादेखि इटहरीमा दैनिक प्रदर्शन र चक्काजाम गर्दै आएका छन् । समीतीले विश्वमै एक मात्र हिन्दु राष्ट्र रहेको नेपाललाई केहि नेताहरुले डलरको लोभमा धर्म निरपेक्ष पारेको भन्दै पुनः हिन्दु राष्ट्र नभएसम्म आन्दोलन जारी राख्ने बताउदै आएको छ । केहि नेताहरुले नेपालको पहिचान र अस्तित्व समाप्त पार्न षड्यन्त्र गरीरहेको समीतीले आरोप समेत लगाएको छ ।

प्रतिक्रियाहरु