तस्वीर चोरेर सार्वजनिक प्रदर्शनी

२०७२ श्रावण १४ गते, बिहीबार

काठमाडौ, १४ साउन । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीका विभिन्न समयमा खिचिएका तस्वीरहरु चोरी भएको अधिकारवालाले बताएका छन् । मदन भण्डारीको युवा अवस्थादेखिका विभिन्न समयका तस्वीरहरु मूल अधिकारवाला फोटोग्राफरलाई जानकारी नै नदिई चोरी गरेर सार्वजनिक प्रयोग गरिएको दावी फोटोग्राफर नरेश श्रेष्ठले गरेका छन् । आफूले २०४७ सालमा खिचेका तस्वीरहरुसहित सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु, जीवराज आश्रितलगायतका तस्वीरहरु पाइरेसी गरेर सार्वजनिक प्रदर्शनीमा राखिएको श्रेष्ठले बताए ।
उनले भनेका छन् – ‘हाल काठमाडौंको ववरमहलस्थित नेपाल आर्ट काउन्सिलमा साउन १० गतेदेखि १६ गतेसम्म सांस्कृतिक संग्रहालय नेपालले गरिरहेको फोटो प्रदर्शनीमा राखिएका करिब १५० तस्वीर म अधिकारवालाको अनुमतिविना सार्वजनिक प्रदर्शनीमा राखिएकोले नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ का आधारमा कारवाही गरिपाउँ भनी सम्बन्धित निकायमा निवेदन दिइसकेको छु ।’
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र महानगरीय प्रहरी परिसर टेकुमा आवेदन दिई कारवाहीको प्रक्रिया अगाडि बढाइएको समेत उनले बताए ।
प्रतिलिपि अधिकार ऐन २०५९ ले स्रष्टालाई सर्वाधिकार दिई आर्थिक र नैतिक दुवै अधिकार प्रदान गरेको छ । स्रष्टाका सिर्जनाअन्तरगत तस्वीर पनि पर्ने भएकाले तस्वीरको प्रयोग गर्दा सम्बन्धित फोटोग्राफरको अनुमति लिनुपर्ने, आर्थिक अधिकारअन्तरगत उससँग किन्नुपर्ने र नैतिक अधिकारअन्तर्गत अनिवार्य रुपले उसको नाम फोटो सिर्जनामा उल्लेख गर्नुपर्ने हुन्छ । तर सांस्कृतिक संग्रहालयले नरेश श्रेष्ठको नाम समेत तस्वीरमा उल्लेख नगरी प्रदर्शनीमा राखेको र उनलाई कुनै पारिश्रमिकको समेत व्यवस्था गरिएको छैन ।
फोटो पत्रकार नरेश श्रेष्ठले केही वर्षपहिले मदनआश्रित प्रतिष्ठानका लागि तस्वीहरु दिएका थिए । ती तस्वीरहरु मदन आश्रित प्रतिष्ठानको ग्रन्थको प्रयोजनका लागि मात्रै दिइएको दावी उनको छ । मदन आश्रित प्रतिष्ठानबाट नै ती तस्वीरहरुको पाइरेसी भएको अनुमान गरिएको छ । विश्वमै बौद्धिक सम्पत्तिको चोरीलाई गम्भीर अपराध मानिन्छ । यस्ता बौद्धिक सम्पत्तिको चोरी एमाले नेताकै कब्जामा रहेको प्रतिष्ठानबाट हुन्छ र गृहमन्त्री टुलुटुलु हेरिरहन्छन् भने स्रष्टाको सम्मान हुने दिन आउने कहिले ।
श्रेष्ठको भनाइ जस्ताको तस्तै
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीका विभिन्न समयमा खिचिएका तस्वीरहरु पाइरेसी गरी प्रर्दशनमा राखिएको बारे ध्यानाकर्षण ।
म नरेशकुमार श्रेष्ठले विभिन्न समयमा खिचेका एमालेका तत्कालीन महासचिव मदन भण्डारी, जीवराज आश्रित, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पा लगायत विभिन्न व्यक्तिहरुको तस्वीर खिचेकोमा ती तस्वीरहरु मेरो अनुमतिविना सार्वजनिक प्रयोग गरेकोले संचारमाध्यमहरुमा समाचार प्रकाशित गरिदिनुहुन अनुरोध गर्दै यो विज्ञप्ती जारी गरेको छु ।
हाल काठमाडौंको ववरमहलस्थित नेपाल आर्ट काउन्सिलमा साउन १० गतेदेखि १६ गतेसम्म सांस्कृतिक संग्रहालय नेपालले गरिरहेको फोटो प्रदर्शनीमा राखिएका करिब १५० तस्वीर म अधिकारवालाको अनुमतिविना सार्वजनिक प्रदर्शनीमा राखिएकोले नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ का आधारमा कारवाही गरिपाउँ भनी सम्बन्धित निकायमा निवेदन दिइसकेको छु ।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र महानगरीय प्रहरी परिसर टेकुमा आवेदन दिई कारवाहीको प्रक्रिया अगाडि बढाइएको समेत अवगत गराउन चाहन्छु । प्रतिलिपि अधिकार ऐनले स्रष्टालाई सर्वाधिकार दिई आर्थिक र नैतिक दुवै अधिकार प्रदान गरेकोमा मेरा तस्वीरहरुमा मलाई आर्थिक र नैतिक दुवै अधिकारबाट बञ्चित गराई गैरकानुनी ढंगले ती तस्वीरहरु सार्वजनिक प्रदर्शनीमा राखिएको छ । यतिसम्म कि सर्वाधिकार भएको स्रष्टालाई सूचना समेत नदिई तस्वीरमा मेरो नाम समेत उल्लेख नगरी गैरकानुनी रुपले पाइरेसी (डकैती) गरिएकोले समाचार सम्प्रेषण गरिदिनुहुन अनुरोध गर्दछु । मैले खिचेका र विनाअनुमति प्रदर्शनीमा राखिएका केही तस्वीर समेत साथमा पठाएको छु ।
नरेशकुमार श्रेष्ठ
फोटो पत्रकार

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार