औचित्यहीन संविधान सभा – राजेन्द्र चिमौरिया

२०७२ असार २६ गते, शनिबार

नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चा मिलेर फास्टट्र्याकमार्फत् संविधान ल्याउने जुन हर्कत भइरहेको छ, यसले देश र जनताको भविष्यमाथि गम्भीर आघात पु-याउने निश्चित देखिन्छ । संविधानसभामा रहेका अन्य दलहरुलाई उपेक्षा गर्दै चार दलले आफ्नो दलगत र गुटगत हितका लागि जारी गर्न लागिएको संविधान स्वीकार्य हुन नसक्ने टिप्पणी आमजनतामाझ सुरु हुन थालेको छ । हुन त चार दलका नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर संविधान जारी गर्ने खेल खेलेपछि चार दलभित्र पनि हङ्गामा सुरु भएको छ । चार दलभित्रका इमानदार, देशभक्त र जनताप्रति उत्तरदायी सभासद्हरुले वर्तमान संविधान निर्माण प्रक्रियाको विरुद्ध संविधानसभाभित्र आवाज बुलन्द पार्न थालेका छन् भने आफ्ना दलका शीर्ष नेताहरुको राष्ट्र र जनताप्रतिको गैरजिम्मेवारीपूर्ण कार्यको दलभित्र समेत व्यापक आलोचना गर्न थालेका छन् । यसरी संविधानसभाभित्र र चार दलभित्रसमेत सर्वस्वीकार्य हुन नसकेको मस्यौदा संविधानलाई पूर्णता दिनु खोज्नु चार दल र सरकारको नालायिकीपन हो । चार दल र सरकारको लहलहैमा आउन लागेको संविधान देश र जनताको मुक्तिको कारक पक्कै बन्न सक्दैन । बरु यो संविधान जारी भयो भने मुलुक पुनः द्वन्द्वमा फस्ने देखिन्छ । तसर्थ, चार दलले संविधान निर्माणमा जुन लिँडेढिपी देखाइरहेका छन्, त्यो तुरुन्त छोड्नु आवश्यक छ । संविधान चार दलको हितका लागि मात्र बन्नु हुन्न, संविधान आमनेपालीको लागि अपनत्व हुने किसिमको हुनुपर्छ । चार दलको बाहुबलले संविधान जारी गर्न खोज्नु भनेको मुलुकलाई पुनः जबर्जस्ती द्वन्द्वमा धकेल्नु हो । त्यसकारण चार दलले समयमै बुद्धि पु¥याई सम्पूर्ण दल र नेपाली जनतालाई सर्वस्वीकार्य हुने संविधान बनाउनेतर्फ लाग्नुपर्छ । जुन संविधानले राष्ट्र, राष्ट्रियता र जनताको पूर्णअधिकारको सुनिश्चितता गर्न सकोस् । नेपाल र नेपाली जनता स्वाधीन भएर बाँच्न सकून् । यसतर्फ चार दलले विशेष ध्यान दिनै पर्छ । त्यसैले चार दलले वर्तमान संविधान निर्माणको नाममा देखाइरहेको नौटंकी तुरुन्त बन्द गर्नुपर्छ । अन्यथा जनता सडमा उत्रन बाध्य हुनेछन् । जनता सडकमा उत्रिए भने के हुन्छ, यो चार दललाई सम्झाइरहनुपर्ने विषय होइन, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु