निःशुल्क भिसा र हवाइ टिकटबिरुद्ध म्यानपावर व्यवसायी

२०७२ असार १३ गते, आईतवार

काठमाडौं, १३असार । वैदेशिक रोजगार व्यवसायीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको राजिनामा माग गर्दै प्रदर्शन गरेका छन् । श्रम तथा रोजगार राज्यमन्त्री गुरुङले भिसा र हवाइ टिकट निःशुल्क उपलब्ध नगराउने खाडी मुलुकमा कामदार नपठाउने र म्यानपावर व्यवसायीलाई सेवा शुल्कको नाममा कुनै पनि रकम उठाउन नदिने निर्णय गरेपछि व्यवसायीले राज्यमन्त्री गुरुङको राजीनामाको माग सहित प्रदर्शन गरेका हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा व्यवसायीले आज वैदेशिक रोजगार विभागको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । व्यवसायीले श्रम तथा रोजगार राज्यमन्त्री गुरुङमाथि बंगलादेशी एजेण्टको मिलेमतोमा नेपालको कोटा बंगलादेश पुर्‍याउन भिसा र टिकट निःशुल्क उपलब्ध नगराउने मुलुकमा कामदार नपठाउने निर्णय गरेको आरोप लगाउँदै निर्णय कुनै हालतमा नमान्ने बताएका छन् ।
व्यवसायीले राज्यमन्त्री गुरुङमाथि बंगलादेशी एजेण्टसँग घुस खाएर निःशुल्क भिसा र हवाइ टिकटको निर्णय गरेको आरोप लगाउँदै नाराबाजीसमेत गरेका छन् । श्रम तथा रोजगार मन्त्रालयले गएको जेठ २६ गते भिसा र हवाइ टिकट उपलब्ध नगराउने खाडी मुलुकमा कामदार नपठाउने तथा म्यानपावर व्यवसायीहरुलाई सेवा शुल्कको नाममा कुनै पनि रकम उठाउन नदिने निर्णय गरेको थियो ।
मन्त्रालयको त्यो निर्णय कार्यान्वयन भए आफ्नो करोडौं रुपैयाँको आम्दानी गुम्ने भएका कारण सबै राजनीतिक दलसम्बद्ध व्यवसायी मन्त्री गुरुङ विरुद्ध एक भएका हुन् । व्यवसायीले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी विरुद्ध पनि नाराबाजी गरेका छन् ।
महानिर्देशक सुवेदीले दोहोरो नागरिकता लिएको भन्दै व्यवसायीले उहाँमाथि कारवाहीको माग गरेका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले फरक मिति राखेर दुई वटा नागरिकता बनाएको सम्बन्धमा गृह मन्त्रालयले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु