म्यानपावरमा छापा , कागजपत्र र कम्युटर नियन्त्रणमा

२०७२ असार ११ गते, शुक्रबार

काठमाडौं, ११ असार । वैदेशिक रोजगार विभागले कर छलीको आंशकामा ५ ठूला म्यानपावर कम्पनीमा छापा मारेर कागजपत्र र कम्युटर नियन्त्रणमा लिएको छ । विभागले एक सातामा टपजब्स, माउन्ट कंचन, प्याराडाइज, कोशी इन्टरनेसनल र ब्लु स्काइमा छापा मारेको हो । ती कम्पनीले कामदारसँग तोकिएभन्दा बढी रकम असुलेर ठगी गरेको पाइएको विभागले जनाएको छ ।
विभाग प्रवक्ता बद्रि कार्कीले ५ म्यानपावर कम्पनीमाथि छापा मारिएको बताए । ‘अनुसन्धान अधिकृतसहितको टोलीले छापा मारेको हो। अहिले ती म्यानपावरको कागजपत्र अध्ययन भइरहेको छ,’ उनले भने ।
छापामारीलाई तीव्रता दिएपछि म्यानपावर व्यवसायीले नेता र मन्त्री गुहार्न थालेको विभागले जनाएको छ। ती व्यवसायीले आगामी १७ गते हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा अवरोध हुने र विभागले गलत नियतले छापा मारेको भन्दै रोक्न गृहमन्त्री बामदेव गौतम र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ गुहारेको स्रोतले बतायो।
विभागका अनुसन्धान अधिकृत भेषबहादुर कार्कीले ५ वटा म्यानपावर कम्पनीमा छापा मारेर उनीहरुको कारोबारको कागजपत्र र कम्प्युटर ल्याइएको बताए। ‘हामीले कामदारसँग बढी रकम असुलेको र कर छलीको विषयमा अध्ययन गरिरहेका छौं’ उनले भने, ‘अध्ययनपछि रिपोर्ट कर कार्यालय तथा राजस्व अनुसन्धान विभागमा समेत पठाउँछौं।’
विभागले ३५ वटा अभिमुखीकरण संस्थामा पनि अनुगमन गरेर छानबिन थालेको छ। अन्य केही संस्थालाई सचेत गराएको छ। केही संस्थाले विदेश जाने कामदारलाई अभिमुखीकरण तालिम नै नदिई प्रमाणपत्र मात्र बेच्ने गरेकाले अनुगमन गरिएको विभागले जनाएको छ।
विभागले अनुगमनलाई तीव्रता दिएपछि म्यानपावर व्यवसायीले आफूहरुलाइ धम्काउन थालेकोे कर्मचारी बताउँछन्। विभागका एक अधिकृतले म्यानपावर व्यवसायीले हातखुट्टा भाँच्ने धम्की दिएको बताए ।
व्यवसायीको दबाबकै कारण विभागले अहिले अनुगमन र छापामारी स्थगित गरेको छ। संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले विभागले व्यवसायीलाई तर्साउन मात्र छापा मारेको बताए। मन्त्रालयले निःशुल्क टिकट र भिसा लागू गर्न लागेको बेला व्यवसायी तर्साएर विरोध साम्य पार्न छापा मारेको उनले बताए। ‘हामी चुनावमा लागेका छौं। मन्त्रालयका सचिव असार अन्तिममा सेवानिवृत्त हुँदैछन्,’ उनले भने, ‘यही बेला निःशुल्क टिकट र भिसाको निर्णय र व्यवसायीलाई पेल्ने काम भएको छ।’,

प्रतिक्रियाहरु