कृषि मन्त्रालयका कर्मचारीद्वारा साखुमा सरसफाइ

२०७२ बैशाख २६ गते, शनिबार

काठमाडौं,२६ वैशाख ।कृषि विकास मन्त्रालय तथा यस मातहतमा कार्यरत नेपाल सरकारका कर्मचारीहरुले शनिबार बिहान काठमाडौंको साँखुस्थित भुकम्पले क्षति पुर्याएका भवन तथा धरोहरका भग्नावशेषमा अड्किएका वस्तुहरु हटाउनुका साथै उक्त क्षेत्रको सरसफाइ गरेका छन् । उक्त क्षेत्रमा १ सय ७ जनाको ज्यान जानुका साथै धेरै मानिसहरु घाइते भएको सरकारले जनाएको छ।साँखुका अधिकांश घर भत्केका छन् ।
सरसफाइ कार्यक्रममा मन्त्रालयका सबै महाशखा, विभाग, कार्यक्रम तथा आयोजनाका कर्मचारी तथा परामर्शदाताहरुको सहभागिता रहेको मन्त्रालयले जनाएको छ ।
भूकम्पमा मानिसका साथै पशुपक्षी पनि विनाश भएकाले महामारी फैलने आशंका बढेको छ । यसलाई नियन्त्रण गर्न तथा घाइते भएका पशुपक्षीको उपचारका लागि पशुचिकित्सक परिचालन गरिएको मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले बताए । “ राहत तथा उद्दार टोलीमा पशु चिकित्सक पनि खटाइएको छ ”, सचिव भट्टराईले बताए । उनले खेतीको समय सुरु हुनै लागेका बेला आएको भूकम्पले खाद्यान्न वीउ जोगाउन तथा वितरणमा कठिन पर्ने ठहर गर्दै यसप्रति मन्त्रालय सजक रहेको पनि बताए । “ अहिले मूख्य चुनौती खाद्यान्नको वीउ भण्डारण हो, पर्नसक्ने वीउ संकटलाई मध्यनजर गरी हामी यसको व्यवस्थामा जुटेका छौं”, सचिव भट्टराईले बताए ।
यस्तो किसिमको सहभागिताबाट भूकम्प पीडित स्थानीय बासिन्दाका साथै क्षतिग्रस्त भवनका भग्नावशेषबाट मानिसका दैनिक प्रयोगका सरसमान निकाल्न खटिएका नेपाल प्रहरी तथा नेपाली सेनाका जवानहरुकोसमेत मनोबल बढ्ने सहभागीहरुले बताए । उक्त क्षेत्रमा शनिबार चार वटा मन्त्रालयका कर्मचारी खटाइएका थिए ।

प्रतिक्रियाहरु