हाल सम्मका विनासकारी भूकम्पहरु

२०७२ बैशाख २६ गते, शनिबार

भुकम्प एउटा यस्तो रोक्न नसकिने शक्ति हो, जसको पूर्वानुमान असम्भव छ । भुकम्पका बारेमा आजसम्म गरिएका कुनै पनि अनुमान सत्य सावित हुन सकेका छैनन् । भुकम्पका कारण संसारमा नगण्य मात्रामा मानविय तथा धनजनको क्षति भएका छन्, जसलाई पुनर्निमाण गर्नको लागि बर्षाैँ लाग्छ । यसको मतलव सबै भुकम्पहरु उत्तिकै खतरनाक हुन्छन् भन्ने चाहिँ हैन । विशेषतः ७ रेक्टर स्केल र त्यसभन्दा ठूला भुकम्पहरु खतरनाक मानिन्छन् । नेपालमा विक्रम सम्वत १२१८ असार शुक्ल तृतीया सोमबाररका दिन पहिलो विनाशकारी भूकम्प गएको थियो । त्यतिबेला भूकम्प मापन यन्त्र (रेक्टर स्केल) को आवीस्कार नभएका कारण कति रेक्टरको भूकम्प गयो भन्ने वैज्ञानिक आधार छैन । तर क्षतिको मूल्यांकनका आधारमा विज्ञहरुले त्यतिबेला करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको बताउँदै आएका छन् । सोही भूकम्पमा राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाण्डु उपत्यकाको एकतिहाई जनसंख्या प्रभावित भएको थियो । काठमाण्डुका सर्वसाधारणले १५ देखि एक महिनासम्म सहर छाडेका थिए । एक महिनासम्म पटकपटक भूकम्का धक्काहरु महसुस गरिएको थियो । धैरै घर, मन्दिर र पुरातात्विक सम्पदा ध्वस्त भएका थिए ।
दोस्रो ठूलो भूकम्प विक्रम सम्वत १३१६ को हो । त्यो भूकम्पले पनि ठूलै क्षति पु¥याएको अनुमान गरिन्छ । धेरै मानिसको मृत्यु भएको अनुमान गरिए पनि यकिन तथ्यांक छैन । जसका कारण मुलुकमा महामारी फैलनुका साथै अनिकाल परेको थियो ।
दोश्रो भूकम्पको १४९ वर्षपछि काठमाण्डुलाई केन्द्रबिन्दु बनाएर विक्रम सम्वत १४६५ मा तेश्रो भूकम्प आएको थियो । जुन भूकम्मले रातो मच्छिन्द्रनाथको मन्दिर जगैदेखि भत्कियो । त्यतिबेला काठमाण्डु उपत्यकाका धेरै मठमिन्दर र घरहरु भत्केका थिए । ठाउँठाउँमा जमिनमा ठूलठूला धाँजा फाटेका थिए । पानीको पुराना मुहान सुकेर नयाँ स्थानमा मुल पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किएका थिए । विक्रम सम्वत १७३७ सालमा भूकम्प गएको इतिहासविद बताउँछन् । जसले ठूलो विपत निम्त्याएको थियो । दर्जनौं मानिस मरेका थिए । काठमाण्डुलाई नै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पमा परी राजा श्रीनिवास मल्ल घाइते भएका थिए । तुलनात्मक रुपमा त्यतिबेला धनजनको कम क्षति भएको थियो ।
१८२४ असार १ गते एकैदिन २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पु¥यायोे । त्यसको कुनै आधिकारिक अभिलेख भेटिएको छैन । तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै धनजनको क्षति भएको ठानिएको छ ।
विक्रम सम्वत १८६७ जेठ १० गते अर्काे भूकम्प गयो । भूकम्पबाट काठमाण्डु ललितपुर र भक्तपुरमा घरहरु भत्केका थिए । काठमाण्डु र ललितपुरमा ठूलो मानवीय क्षति भएन । यद्यपि मठमन्दिर धेरै भत्किए । भक्तपुरमा निकै मानिसको ज्यान गएको थियो ।
विक्रम सम्वत १८८० यमपञ्चकका दिन भूकम्प गयो । एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिँदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पु¥यायो । भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए पनि त्यसपछि नेपालमा गएका भूकम्पको तथ्यांक स्पष्ट पाइन्छ ।
विक्रम सम्वत १८९० भदौ १२ गते सोमबार साँझ करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको दोश्रो झड्का महसुस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु र बनेपा नराम्ररी प्रभावित भएका थिए । । काठमाण्डुमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्काे आधा मात्र भत्कियो ।
१८९० कै असोजमा अर्काे ठूलो भूकम्प गयो । एक महिना नबित्दै असोज १० गते राति अर्काे भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पा¥यो । अघिल्लो वर्षको भूकम्पले लगाएको घाउ सेलाउन नपाउँदै एक वर्षपछि विक्रम सम्वत १८९१ असार र असोजमा फेरि दुई ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो । नेपालको भूकम्प इतिहासमा सबैभन्दा विनाशकारी भूकम्प १९९० माघ २ गतेकोलाई मानिन्छ । त्यतिबेला काठमाण्डुमा राजा त्रिभुवन विक्रम शाह राजा थिए । संखुवासभाको चैनपुर केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको भूकम्पले देशलाई नराम्रो असर पा¥यो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाण्डु उपत्यकामा मात्र करिब चार हजार ५ सय जनाले ज्यान गुमाए । ९५ हजार मानिस घाइते भए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ । काठमाण्डु उपत्यका झण्डै तहसनहस भएको थियो । धरहराको आधा भाग त्यतिबेलै भत्किएको हो । घण्टाघर पनि क्षतिग्रस्त भएको थियो । भूकम्पले मुलुकका ९५ प्रतिशत स्थानमा खानेपानी आपूर्ति बन्द भएको थियो । झण्डै ५० प्रतिशत पुल भत्किए । सात लाख बढी मानिस घरबारविहीन भए ।
२०३७ सालमा सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले बझाङसहित सुदूरपश्चिमका बैतडी, बाजुरा र दार्चुला जिल्ला बढी प्रभावित भएका थिए । त्यसबेला करिब २५ सय घर ध्वस्त भए । १ सय २५ जना मानिसले ज्यान गुमाए । २ सय ४८ जना घाइते भए । ११ हजार ६ सय ४ ध्वस्त भएका थिए ।
२०४५ साल भदौ ५ गते बिहान पौने पाँच बजे ठूलो भूकम्प गएको थियो । उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा ७५० जनाले ज्यान गुमाए । ६ हजार ५ सय भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पु¥यायो भने काठमाण्डु उपत्यकामासमेत प्रभाव परेको थियो ।
२०६८ साल असोज १ गते भारतको सिक्किम केन्द्रबिन्दु भएर गएको ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो । जसमा ५ जनाको मृत्यु भएको थियो । २७ जनाबन्दा बढी घाइते भएका थिए ।
२०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्प गयो । हालसम्म करिब ७ हजार मानिसको मृत्यु भइसकेको छ । त्यो संख्या १० हजार नाघ्ने अनुमान छ । सयौं घाइते छन् । भूकम्पका कारण हजारौं घरबारबिहीन भएका छन् । भूकम्पले ऐतिहासिक धरहरा ढलेको छ । पुरातात्विक तथा ऐतिहासिक महत्वको वसन्तपुर दरबार स्क्वाएर क्षतिग्रस्त भएको छ ।
यसैगरी, संसारमा हालसम्म गएका १० शक्तिशाली भूकम्पहरु निम्न अनुसारका छन् ।
वाल्दिभिया भुकम्प (१९६०)
आजसम्मको विश्व रेकर्डमा भएको सबैभन्दा शक्तिशाली भुकम्प सन् १९६० मे २२ मा चिलीको वालिदभिया सहरमा गएको थियो । उक्त भुकम्प ९.५ रेक्टर स्केलको थियो । साँझको ७ः११ मा गएको भुकम्पमा परि करीब १ हजार ६ सय ६५ जनाले ज्यान गुमाएको थिए भने ३ हजार मानिस घाइते भएका थिए । उक्त भुकम्पले करीब २० लाख मानिसलाई घरबारबिहीन बनायो भने लगभग ५ सय ५० मिलियन डलरको क्षति भएको थियो । यसै भुकम्पका कारण जापान, हवाइ, दक्षिण चिली, पूर्वी न्यूजिल्याण्ड, फिलिपिन्स र अष्ट्रेलियाको दक्षिणपूर्वी भागमा सुनामी आइ थप धनजनको क्षति भएको थियो ।
प्रिन्स विलियम साउण्ड, अलस्का (१९६४)
अलस्कामा सन् १९६४ मार्च २७ मा महाभुकम्प महशुस भएको थियो । उत्तर अमेरिकाको अलस्का सहरको दक्षिण पूर्वी भागमा गएको भुकम्पले नजिकका भूभागमा थुप्रै सुनामी र पहिरोहरु निम्त्याएको थियो । ९.२ रेक्टर स्केलको उक्त भुकम्पमा तुलनात्मक रुपमा कम क्षति भएको थियो । यद्यपी सुनामी र पहिरोका कारण भने १९९ जनाले ज्यान गुमाएका थिए भने अलस्कामा लगभग ४ सय मिलियन डलरको हाराहारीमा क्षती भएको थियो । सुनामीका कारण क्यानडामा ५ मिलियन डलर बराबरको क्षति भएको थियो ।
हिन्द महासागर भुकम्प (२००४)
सन् २००४ डिसेम्बर २६ मा गएको ९.१ रेक्टर स्केलको त्रासपूर्ण भुकम्प र सुनामीले १४ देशका २ लाख ३० हजार मानिसको ज्यान लिएको थियो । इन्डोनेसियाको सुमत्रा टापूमा गएको भुकम्पमा परि ५० हजार मानिस घाइते भएका थिए भने ५० लाख मानिस घरबार बिहीन बन्न पुगेका थिए । यो संसारकै सबभन्दा लाम समयसम्म गएको भुकम्प थियो । ८ देखि १० मिनेट सम्म उक्त भुकम्पले लगातार कम्पन दिएको थियो । श्रीलंका, भारत र थाइल्याण्डमा समेत उक्त भुकम्पले त्रास फैलाएको थियो ।
कामचत्का रसिया भुकम्प (१९५२)
कामचत्काको यस भुकम्प सन् १९५२ डिसेम्बर ४ मा साँझको ४ः५८ मा गएको थियो । ९ रेक्टर स्केलको उक्त भुकम्पमा मानवीय क्षतिकमा साथसाथै १ मिलियन डलरभन्दा बढी धन क्षती भएको थियो । जापान, अलस्का, चिली र न्यूजिल्याण्डमा सुनामी आए तापनि खासै नोक्सान भने निम्त्याएको थिएन ।
टोक्यो जापान भुकम्प (२०११)ः
सन् २०११ मार्च ११ विहान ५ः४६ मा जापानले ९ रेक्टर स्केलको भुकम्पको धक्का महशुस गरेको थियो । भुकम्पका कारण गएको सुनामीमा परी १५ हजार ८ सय ८१ जनाले ज्यान गुमाएका थिए भने ६ हजार १ सय ४२ मानिस घायल भएका थिए । त्यस्तै, २ हजार ६ सय ६८ मानिस बेपत्ता भएका थिए । सुनामीले न्यूक्लियर एक्सिडेन्ट समेत निम्त्याएको थियो । ५ मिनेट सम्म लगातार आएको धक्काले झण्डै ३६ दशमलव ६ विलियन डलर बराबरको क्षति भएको थियो ।
अफ्रिका चिली भुकम्प (१६१५¬)ः
सन् १९६५ को सेप्टेम्बर १६ मा चिलीमा गएको भुकम्प अर्काे एक शक्तिशाली भुकम्प हो जसले लगभग ५ मिलियन डलरको विनाश गराएको थियो । ८।८ रेक्टर स्केलको उक्त भुकम्प आजसम्म रेकर्ड भएको मध्ये सबैभन्दा पुरानो भुकम्प पनि हो ।
सुमत्रा भुकम्प (१८३३)ः
सन् १८३३ नोभेम्बर २५ मा गएको ८।८ देखि ९।२ रेक्टर स्केलको भुकम्पको धनजनको क्षतिबारे पूर्ण विवरण आजसम्म प्राप्त भएको छैन । यद्यपी उक्त समय बेङ्गकुलुमा ५ मिनेट र पादाङ्गमा ३ मिनेट सम्म भुकम्पको कम्पन महशुस गरिएको थियो । अमेरीका र क्यानडाको बिच प्रशान्त महासागरमा उक्त कम्पन महशुस भएको थियो ।
इक्वेडर कोलम्बिया भुकम्प (१९०६)ः
सन् १९०६ जनवरी ३१ का दिन दिउँसो ३ः३६ मा महशुस भएको कम्पन ८.८ रेक्टर स्केलको थियो । पातलो जनसंख्याका कारण धेरै मानवीय क्षती हुन नपाए पनि उक्त भुकम्पका कारण आएको सुनामीले केही क्षती गराएको थियो । यस भुकम्पका विषयमा तथ्यसंवत जानकारी भने अझै प्राप्त भएको छैन ।
चिली भुकम्प (२०१०)ः
सन् २०१० फेब्रअरी २७ मा विहान ६ः३४ मा चिलीमा गएको भुकम्प ८.८ रेक्टर स्केलको थियो भने ३ मिनेट सम्म कम्पन रहेको थियो । चिलीका करीब ९ प्रतिशत जनसंख्या यस भुकम्पबाट प्रभावित भएका थिए । ५२५ जनाले आफ्नो घर गुमाएका थिए भने २५ जना सम्पर्कविहीन भएका थिए । भुकम्पका कारण करीब २० मिलियन बराबरको भौतिक क्षति भएको थियो ।
कास्काडिया भुकम्प (१७००)ः
सन् १७०० जनवरी २६ को बेलुकी ९ बजे गएको भुकम्प ८.७ देखि ९.२ रेक्टर स्केलको थियो । भुकम्पको ठ्याक्कै विवरण भने अन्जान नै रहेको छ ।

प्रतिक्रियाहरु