भूकम्पमा परी मृत्यु हुनेको संख्या झन्डै ८ हजार

२०७२ बैशाख २५ गते, शुक्रबार

काठमाडौं । भूकम्पबाट मृत्यु हुनेको संख्या झन्डै ८ हजार पुगेको छ ,नेपाल प्रहरीले उपलब्ध गराएको सख्या अनुसार शुक्रबार सम्म ७ हजार ८८५ को मृत्यु भएको छ भने १५ हजार ९४४ जना घाइते भएका छन् ।भूकम्पवाट सबैभन्दा धेरै सिन्धुपाल्चोक जिल्लामा ३ हजार ३५ जनाको मृत्यु भएको छ । यसैगरी काठमाडौंमा १ हजार २१०, नुवाकोटमा ९५०, धादिङमा ७०२, रसुवामा ४५९, गोर्खामा ४१२ र काभ्रेमा ३१७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
यस्तै भक्तपुरमा ३१४, ललितपुरमा १७४, दोलखामा ७५, मकवानपुरमा ३३, रामेछापमा २७, सोलुखुम्बुमा २२, ओखलढुंगामा १९ र सिन्धुलीमा १० जनाको मृत्यु भएको छ ।हालसम्म ७ हजार ८८५ मृतकमध्ये ७ हजार ७७९ शव आफन्तको जिम्मा लगाइएको छ भने १०६ शव बुझाउन अझै बाँकी छ । शवहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी भूकम्पमा परी ३६६ जना सम्पर्कविहीन छन् । २५५ जना नेपाली र २११ जना विदेशी नागरिक हराइरहेका छन् । हराइरहेकामध्ये एक जना नेपाल प्रहरीका छन् ।हालसम्म काठमाडौंमा उपत्यकामा १ हजार ६८३, पूर्वमा क्षेत्रमा ५०, मध्य क्षेत्रमा ५ हजार ६६२, पश्चिम क्षेत्रमा ३८२ र मध्य पश्चिम क्षेत्रमा २ जनाको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गइ सूचना दिन प्रहरीले सबैमा अनुरोध गरेको छ ।
यसैबीच, काठमाडौ महानगरपालिले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु १५ दिनभित्र हटाउन उर्दी जारी गरको छ ।महानगरपालिकाको बागदरबारस्थित कार्यालय भूकम्पले क्षति गराएपछि पुरानो बसपार्क सीटी मार्केटका पसलहरु खाली गर्न लागिएको हो । सो मार्केटमा महानगरपालिकाको कार्यालय सञ्चालन गर्नुपर्ने भन्दै सिटी मार्केटका सबै पसल खाली गर्न निर्देशन दिइएको हो ।काठमाडौ महानगरपालिकाको बागदरबारस्थित कार्यालय वैशाख १२ गतेको भूकम्पले क्षति भएकाले उक्त कार्यालय सिटी मार्केटको भवनमा सार्न लागिएको काठमाडौ महानगरपालिकाले जनाएको छ ।
यसैवीच भूकम्पका कारण भत्किएका वा जोखिमयुक्त घरहरु भत्काउनुपर्ने भएमा सम्पर्क गर्न काठमाडौ उपत्यका विकाश प्राधिरकरणले उपत्यकाबासीलाई आग्रह गरेको छ ।सुरक्षित घरहरुलाई समेत जोखिम पुर्याठउने गरी भूकम्पबाट क्षति भएका भवनहरु पहिचान गरी भत्काउनुपर्ने भन्दै विकास प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरेको हो । भूकम्पबाट क्षति भएका संरचनाको नगरपालिकाको वडा कार्यालय मार्फत वा सिधै सम्पर्क गर्न सकिने काठमाडौ उपत्यका विकास प्राधिकरणले जनाएको छ । कार्यालयमा नायव सूबा तेजकुमारी ढुंगानालाई र खरिदार सजिता गौतमलाई सम्पर्क गर्न सकिने प्राधिकरणबाट जारी सूचनामा जनाइएको छ ।

प्रतिक्रियाहरु