संसद्को बैठक बस्दै

२०७२ बैशाख २४ गते, बिहीबार

काठमाडौँ,२४ वैशाख । भूकम्पका कारण उत्पन्न राष्ट्रिय विपत्तिको अवस्थालगायतका विषयमा छलफल गर्न व्यवस्थापिका संसद् बैठक आज अपराह्न ३ बजेबाट सुरू हुँदैछ । राष्ट्रपति डा रामवरण यादवले यही वैशाख १८ नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्नुभएको थियो ।
बैठकको कार्यसूची र भूकम्पपछिको मानवीय र भौतिक क्षतिका सम्बन्धमा सङ्कल्प प्रस्ताव पेसका विषयमा आज सभामुख सुवास नेम्वाङले प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो ।
छलफलमा तीन दलका शीर्ष नेताबीच पुनः परामर्श गरी सङ्कल्प प्रस्ताव दर्ता र अन्य प्रक्रियाबारे चाँडै टुङ्गो लगाइने कुराकानी भएको संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
सङ्कल्प प्रस्तावमा भूकम्पपछिको विपत्तिको स्थितिमा राष्ट्रियरुपमा उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रममा सरकारलाई विशेष निर्देशन दिई सबै क्षेत्रबाट यस कार्यमा सहयोगको आह्वान गरिने बुझिएको छ ।
बैठकमा भूकम्पमा ज्यान गुमाएका र यसबीचमा निधन हुनुभएका पूर्व सभासद् चक्रबहादुर ठकुरीप्रति अलग अलग शोक प्रस्ताव पारित गरिनेछ ।
कार्यसूचीमा सङ्कल्प प्रस्ताव वा शोक प्रस्ताव पहिला राख्ने भन्ने विषयमा स्पष्ट भइसकेको छैन् । सोलगायतका विषयमा छलफल गर्न अहिले तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको छ । विनाशकारी भूकम्प गएपछि सत्तारुढ र प्रतिपक्षी दलले संसद्को अधिवेशन आह्वानको माग गरेका थिए । संविधानसभाको बैठक पनि यही शुक्रबारका लागि तय गरिएको छ ।

प्रतिक्रियाहरु