ओठ तथा तालु फाटेका बालबालिकाको निःशुल्क उपचार गरिने

२०७२ बैशाख १० गते, बिहीबार

काठमाडौं,१० वैशाख । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा काभ्रेले ओठ तथा तालु फाटेका खोटाङका नौ जना बालबालिकाको निःशुल्क उपचार गर्ने जिम्मा लिएको छ । बुधबार जिल्ला अस्पताल खोटाङमा ‘१६ वर्षसम्मका शारीरिक अपाङ्ता, ओठ एवम् तालु फाटेका तथा आगोले पोलेर एक भागको अङ्ग अर्को भागसँग टाँसिएका बालबालिकाको परीक्षण तथा स्वास्थ्य शिविर’का माध्यमबाट केन्द्रले नौ बालबालिकाको निःशुल्क उपचार गर्ने जिम्मा लिएको हो ।
केन्द्रले ओठ तथा तालु फाटेका बालबालिकालाई बिएन्डबी अस्पतालमा पुर्याएर उपचार गर्ने व्यवस्था मिलाएको अपाङ्ग सेवा संघका सचिव कृष्णप्रसाद आचार्यले बताए ।
यस्तै केन्द्रले हाडजोर्नीसम्बन्धी समस्या भएका २१ बालबालिकालाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको आचार्यले जानकारी दिए ।
उपचारका लागि छानिएका सबै बालबालिका १६ वर्षमुनिका रहेका छन् । शिविरमा आएका एक सय ६ जना बिरामीमध्येबाट केन्द्रले उनीहरुलाई निःशुल्क उपचारका लागि छनोट गरेको हो ।
हाडजोर्नीसम्बन्धी समस्या बिरामीलाई काभ्रेमा लगेर उपचार गरिने जनाइएको छ । शिविरमा नक्कली हात लगाइदिनका लागि दुई बालबालिकाको नापजाँच गरिएको, चार जनाको प्लास्टर गरिएको र एक जनालाई ‘वाकर’ प्रदान गरिएको छ ।
यस्तै आर्थिक अभावमा बनेपासम्म पुग्न नसक्ने अवस्थाका बुइपा–७ की सिर्जना राई र चाँदनीलाई दुई हजार रूपैयाँ आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।
अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रका चिकित्सक विवेक बाँस्कोटा र कश्यप श्रेष्ठलगायतका टोलीले सोमबार हलेसीमा सञ्चालित शिविरमा अपाङ्गता भएका बालबालिकाको जाँज गरेका थिए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु