कमिसनमा विद्यालयका लेखापरीक्षण

२०७२ बैशाख ९ गते, बुधबार

काठमाडौ, ९ बैशाख । जिल्ला शिक्षा कार्यालय गोरखले सामुदायिक विद्यालयहरुको लेखा परीक्षणका लागि नियुक्ती गरेको लेखा परीक्षकहरुकाबाट कमिसन लिने गरेको लेखा परीक्षकहरुले बताएका छन् । विद्यालयको लेखा परीक्षणका लागि प्रचलित कानुन बमोजिम दर्ता भएका लेखा परीक्षकहरुमध्येबाट कम्तीमा तीन जना लेखा परीक्षकको नाम नियुक्तीको लागि जिल्ला शिक्षा अधिकारी समक्ष विद्यालय व्यवस्थापन समितिले सिफारीस गर्ने नियमलाई लत्याएर सोझै जिल्ला शिक्षा अधिकारी र लेखा अधिकृतले मोलमोलाईमा लेखा परीक्षक खटाउने गरेका बताइएको छ ।
जिल्ला शिक्षा कार्यालय गोरखाका एक कर्मचारीका अनुसार जिल्ला भित्र रहेको संस्थागत विद्यालयहरुले लेखा परीक्षणका सम्बन्धमा कार्यलयसँग कुनै सरोकार राख्दैनन् । संस्थागत विद्यालयको लेखा परीक्षणका लागि पनि सामुदायिक विद्यालयको जस्तै तीन जना लेखा परीक्षकको नाम नियुक्तीका लागि जिल्ला शिक्षा अधिकारी समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ ।
बहालवाला कर्मचारीको हकमा विसं. २०७४ सालसम्म एक आर्थिक वर्षमा बढीमा एकसयवटा मात्र लेखा परीक्षण गर्न पाउने नियम छ । “कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर” भनेझै जिल्ला शिक्षा कार्यालय गोरखाले भने जिल्ला वन कार्यालय रौतहटमा कार्यरत लेखापाल विष्णु भुसाल र उनको भुसाल एण्ड कम्पनीलाई गोरखाका अधिकाँश गाविसका विद्यालयहरुको लेखा परीक्षण गर्न अनुमति दिएको छ । भुसालले तीन महिना लगाएर सातवटा गाउँ
विकास समिति भित्र रहेका ५० भन्दा बढी विद्यालयको लेखा परीक्षण गरिसकेको बताए ।
रौतहटमा रहेको आफ्नो बन कार्यालयमा हाजिर हुनुपर्दैन भन्ने प्रश्नमा उनले भने (“ उता हाकिमसाबलाई पनि मनाएको छु ।” गोरखामा आफूले जौवारी, तान्द्राङ, गाँखु, छोप्राक, बारपाक र आरुआरबाङ लगायतका गाविसको लेखा परीक्षण गरेको उनले बताए । जिल्ला शिक्षा कार्यालय गोरखामा विद्यालयको लेखा परीक्षण गर्न पाउँ भनि निवेदन दिनेहरु ४५ जना सूचिकृत भएका छन् । कतिपयले नियुक्तीपत्र समेत नलिएको जिशिका गोरखाका लेखा अधिकृत केदार आचार्यले बताए । एउटा लेखा परीक्षकले एउटा विद्यालयको तीन वर्ष लगातार लेखा परीक्षण गरेको अवस्थामा मात्रै अर्को लेखा परीक्षक खटाएको अन्यथा विद्यालयको सिफारीस अुनसार नै काम भएको उनले बताए । कार्यालयले कुनै कमिसन माग नगरेको उनको भनाई छ ।
लेखा परीक्षकहरुले भने जसले धेरै कमिसन दिन्छ उसलाई धेरै गाविसको काम दिने गरेको बताएका छन् । कमिसन धेरै पाउने लोभमा बाहिरबाट लेखा परीक्षक ल्याएको एक लेखा परीक्षकले बताए । कार्यालयले कमिसनमा लिएर पठाएका लेखा परीक्षकले लेखापरीक्षण गर्न नजानेको भन्दै विद्यालयका प्रधानाध्यापकहरुले जिल्ला शिक्षा अधिकारीलाई व्यवहार सुधार्न चेतावानी समेत दिएका एक प्रधानाध्यापकले जानकारी दिए । – राजेन्द्र न्यौपाने

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु