नागरिक उड्डयन प्राधिकरणको जग्गामा भू–माफियाको चलखेल

२०७१ फाल्गुन २१ गते, बिहीबार

काठमाडौँ । मध्यपुरथिमि नगरपालिका–८ बस्ने ४५ वर्षीय रामचन्द्र श्रेष्ठ ठगीको अभियोगमा रु ५० हजार धरौटी राख्न नसकेपछि जेल चलान भएका छन् । उनले आफ्नै पुख्र्यौली सम्पत्तिका रुपमा रहेको मथिनपा–१७ साविक दिव्यश्वरी–८ को किनं १३८३ को १२ आना जग्गा बिक्री गरेबापत ठगीको अभियोग खेप्न बाध्य भएका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४९ लाख ठगी गरेको आरोपमा पक्राउ गरी कानुनी कारबाही गर्न आदेश गरेबमोजिम महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी कारबाही अगाडि बढाएको हो ।
भक्तपुर जिल्ला अदालतले उनलाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिए पनि धरौटी जम्मा गर्न नसकेपछि उनलाई जेल पठाइएको हो । जिल्ला न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले मङ्गलबार रामचन्द्रलाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।
घटना विवरणअनुसार ऊ विरुद्ध २०२९ सालमा तत्कालीन हवाई विभागको रिसिभिङ स्टेसन राख्न अधिग्रहण गरिएको १२८ रोपनी जग्गामध्येको ४४२ कि नं को २४ आनामध्ये कित्ता काट गरी १२ आना जग्गा बिक्री गरेको अभियोग लगाइएको हो ।
रामचन्द्रले बाबु हरिबहादुरको मृत्युपछि सो जग्गा २०६७ फागुन १९ गते आफ्नो नाममा नामसारी गरेको हो । मालपोत कार्यालयले गत पुस १६ गते महानगरीय प्रहरी परिसर भक्तपुरलाई लेखेको पत्रमा कि नं ४४२ को जग्गा हरिबहादुर श्रेष्ठको नामबाट कित्ताकाट गरी कि नं १३८१, १३८२, १३८३ र १३८४ कायम भएको जनाएको छ ।
रामचन्द्रको मुद्दामा भू–माफियाहरुले ठूलो चलखेल गरेको देखिन्छ । रामचन्द्रको लिखतमा जग्गाको कुल रकम दुईपटकसम्म सच्याइएको छ । लेखपढ गर्न नजान्ने निरक्षर रामचन्द्रले यसबारेमा आफूलाई जानकारी नभएको बताएका छन् । सुरुमा जग्गाको कुल रकम रु १९ लाख लेखिएको स्पष्ट देखिन्छ । त्यसपछि रकम बढाएर रु ४० लाख लेखिएको छ । त्यसलाई पनि काटेर अन्तमा रु ४९ लाख उल्लेख गरिएको छ । लिखत लेख्दालेख्दै जग्गाको कुल रकम दुईपटकसम्म परिवर्तन गर्नुले यसमा भू–माफियाको चलखेल रहेको प्रस्ट हुन्छ ।
जग्गा खरिद कर्ता प्रतिभाञ्जली पोखरेलले सो जग्गा अन्नपूर्ण फाइनान्समा रु ४८ लाखमा धितो राखेको देखिन्छ । रामचन्द्रले सो जग्गा पोखरेललाई २०६८ जेठ ११ गते बिक्री गरेको हो । सो जग्गा धितो राखेर पोखरेलले पाँच दिनपछि १६ गते नै अन्नपूर्ण फाइनान्सबाट रु ४८ लाख ऋण लिएको हो । प्रहरीले पोखरेललाई पक्राउ गरेको छैन । उनी कहाँ छन् भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।
रामचन्द्रले सो जग्गा रु पाँच लाखमा बिक्री गरेको र आफूलाई दिने भनिएको रु दुई लाख ५० हजारमा पनि अड्डा खर्चबापत भन्दै रु ५० हजार कटाएर रु दुई लाखमात्र दिएको दाबी गर्दै आएको छ । त्यसमध्ये पनि उनले रु एक लाख ७५ हजार जग्गा खरिद कर्ता प्रतिभाञ्जली पोखरेललाई फिर्ता गरिसकेको बताएको छ । उनलाई २०६८ माघ २८ गते घरबाट अपहरण शैलीमा पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा एक रात राखेर भोलिपल्ट महानगरीय प्रहरी परिसर हनुमानढोकामा लगिएको र त्यहाँ एक रात थुनामा राखेपछि फागुन १ गते रु एक लाख ७५ हजार फिर्ता गरेको दाबी छ । कैलाश विकास बैंकबाट प्राप्त रामचन्द्रको खाताको विवरणबाट पनि उनको भनाइ पुष्टि हुन्छ । स्रोतका अनुसार पोखरेलका पति प्रहरी अधिकृत भएको र तत्कालीन अवस्थामा हनुमानढोकामै कार्यरत भएकाले रामचन्द्रलाई पक्राउ गरी हनुमानढोका लानुमा उनको हात रहेको भन्ने सकिन्छ ।
त्यस्तै अख्तियारको निर्देशनमै प्रहरीले मध्यपुरथिमि–९ का तेजकृष्ण विसिंद्यो श्रेष्ठलाई पनि ठगीको आरोपमा पक्राउ गरी मुद्दा चलाएकामा अदालतले रु एक लाख २५ हजार धरौटी लिई रिहा गरेको छ । उनी विरुद्ध पनि नागरिक उड्डयन प्राधिकरणको जग्गा बिक्री गरी ठगी गरेको अभियोग लगाइएको छ ।
सरकारले तत्कालीन हवाई विभागको ट्रान्समिटर स्टेसनका लागि भक्तपुर जिल्ला मध्यपुरथिमि नगरपालिका तत्कालीन दिव्यश्वरी–८ क को पूर्व तुइलाल पिला भक्तपुर इनावको कि नं ४७५ को जग्गा, पश्चिम काइलाल कसुमारी भ. पु. ठिमी मरुटोलको कि नं १०५ को जग्गा, उत्तर गोरेटो बाटो र जनक शिक्षा सामग्री केन्द्र र दक्षिण गोरेटो बाटो यति चार किल्लाभित्रको ७० रोपनी आठ आना दुई पैसा जग्गा २०२६ साल वैशाख २९ गते अधिग्रहणका लागि राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।
सरकारले दोस्रो चरणमा रिसिभिङ स्टेसनका लागि २०२९ पुस २४ गतेको राजपत्रमा सूचना प्रकाशन गर्दै भक्तपुर जिल्ला तत्कालीन दिव्यश्वरी–८ क मा पर्ने पूर्व कि नं ६७४ को जग्गा र कि नं ५३८, ४३९, ५४०, ५४१, ५४३, ५५१, ५५२, ५५४, ५६२, ५६३, ५६४, ५६५, ५६६, ५६७, ५७०, ५७१, ६९०, ६९१, ६९३ र ८२० को बाँकी जग्गा, पश्चिम हवाई विभागले प्राप्त गरिसकेको जग्गा र कि नं २९६, ३३० को बाँकी जग्गा हुँदै कि नं ३५८, ३५९ को जग्गा र कि नं ३१९, ३८४, ३८५ को जग्गा हुँदै कि नं ३६०, ३८२ को जग्गा, उत्तर गोरेटो बाटो र हवाई विभागले प्राप्त गरिसकेको जग्गा, दक्षिण ऐ वडाकै सिमाना र गोरेटो बाटो यति चार किल्लाभित्रको १२८ रोपनी सात आना तीन पैसा जग्गा अधिग्रहण गरेको जनाउ दिएको हो ।
अधिग्रहणको सूचना प्रकाशन भएपछि ठिमीका किसानले अधिग्रहणको विरोधमा तत्कालीन अञ्चलाधीशको कार्यालयमा २०२६ साल वैशाख ३१ गते निवेदन दिएको देखिन्छ । सो निवेदनमा दस्तखत गर्नेमध्ये तेजकृष्ण विसिंद्यो श्रेष्ठ पनि एक हुन् । उनले बाबु तेजबहादुरको मृत्यु भएकाले हकदारका रुपमा दस्तखत गरेको हो । त्यसपछि किसानले अधिग्रहण गरेबापत तत्कालीन सरकारले तोकेको मुआब्जासमेत पाएका छैनन् ।
सो जग्गा तेजकृष्णले बाबुको हकदारका रुपमा २०२७ साल माघ ६ गते आमा सानुमायासमेतको नाममा संयुक्त रुपमा नामसारी गरेको हो । सानुमायाको पनि मृत्यु भएपछि तेजकृष्णले सो जग्गा २०६१ साल साउन २९ गते आफ्नो नाममा एकलौटी कायम गरी २०६१ असोज ६ गते सञ्जयबल्लव गिरीलाई राजीनामा पास गरी बिक्री गरेको थियो । सो जग्गा गिरीले २०६२ असोज १२ गते विमल ढकाललाई, ढकालले २०६५ मङ्सिर २२ गते कृष्णप्रसाद मैनाली र देवीप्रसाद पाण्डेलाई, मैनाली र पाण्डेले २०६६ साल पुस २४ गते भगवती पौडेललाई बिक्री गरेको हो ।
मालपोत कार्यालय भक्तपुरका तत्कालीन प्रमुख हरि बखतीले २०६९ साल भाद्र १८ गते अख्तियारलाई लेखेको पत्रमा समेत उल्लिखित व्यहोरा रहेको छ । सो पत्रमा बखतीले राय प्रतिक्रिया दिँदै नागरिक उड्डयन प्राधिकरणले अधिग्रहणको सूचना प्रकाशन भएपछि अधिग्रहणमा परेका जग्गाको दा।खा। गरी लिनुपर्नेमा त्यस्तो नभएको, मालपोत कार्यालयले पनि नामसारी गर्न मिल्ने नमिल्ने यकिन नगरेकाले भू–माफियाहरुले चलखेल गर्ने मौका पाएको उल्लेख गरेको छ । साथै सम्बन्धित नगरपालिकाले पनि घर बाटोको सिफारिस दिएको, विभाग जग्गा धनी पुर्जा प्राप्त गर्नेतर्फ उदासीन हुनुले जग्गाको हक हस्तान्तरण भई गएको देखिएको त्यसमा उल्लेख छ ।
प्राधिकरणले २०६८ साल भदौ १३ गतेमात्र मालपोत कार्यालय भक्तपुरलाई पत्र लेखी २०२६ साल र २०२९ सालमा अधिग्रहण गरेका जग्गाको विवरण पठाई सो जग्गाहरु दा।खा। गरी धनी पुर्जा उपलब्ध गराउन माग गरेको हो ।
– लक्ष्मी गारु, रासस

प्रतिक्रियाहरु