आईएस लडाकुहरुसँग बदला लिएरै छाडछु : राजा अब्दुल्ला

२०७१ माघ २२ गते, बिहीबार

काठमाडौं,२२ माघ । जोर्डनका राजा अब्दुल्लाले इस्लामिक स्टेटका अतिवादीहरुसँग कडा बदला लिइने विश्वास देशवासीलाई दिलाएका छन् । आफ्नो वायुसेनाका पाइलटलाई जिउँदै जलाएर आईएसले निर्मम हत्या गरेपछि आक्रोशित र दुःखी बनेका देशवासीलाई राजा अब्दुल्लाले धैर्य गर्न अपील पनि गरेका छन् ।पाइलटको हत्या गरेलगत्तै जोर्डनले पनि उसको नियन्त्रणमा रहेको अलकायदासम्बद्ध दुई व्यक्तिलाई फाँसी दिएको छ । आत्मघाती आक्रमण गर्न विफल भएकी साजिदा अल रिशावी र जियाद कारबोलीलाई फाँसी दिइएको हो ।
जोर्डनले आईएसको कब्जामा रहेका आफ्ना पाइलट मोयज अल कसासबेहलाई छुटाउन रिशावीलाई छाड्नसमेत तयार भएको थियो ।मृतक पाइलटका बाबुले हत्याको बदला लिन अपील गरेका छन् भने राजधानी अम्मानमा ठूलो संख्यामा हत्याको विरोधमा प्रदर्शन गरिएको छ । सिरियाको रक्कामा विमान उडाउँदै गर्दा गत वर्षको डिसेम्बरमा कसासबेहलाई आईएसले कब्जामा लिएर बन्धक बनाएको थियो । -स्रोतः एजेन्सी

प्रतिक्रियाहरु