जोर्डनी पाइलटको जिउँदै जलाएर हत्‍या

२०७१ माघ २१ गते, बुधबार

काठमाडौ, २१ माघ । इस्लामिक आतङ्कवादी समूह आइएसले आफ्‍नो कब्जामा रहेका जोर्डनी पाइलट मोएज अल कसासबेहलाई जिउँदै जलाएर हत्या गरेको छ। उसले इन्टरनेटमार्फत् कसासबेहलाई जिउँदै जलाउँदै गरेको भिडियो सार्वजनिक गरेको हो। पाइलट कससाबेहलाई आगोमा जलाएर हत्या गरिएको समाचार जोर्डनले आधिकारिक रुपमा पुष्टि गरिसेकेको समाचार डेली मेलले जनाएको छ।उक्त भिडियोमा कसासबेहलाई एउटा पिंजडाभित्र राखेर बाहिरबाट आगो लगाउँदै गरेको देखाइएको छ। पाइलट कसासबेहले आइएसविरुद्धको मिसनमा चलाएको विमान गत डिसेम्बर महिनामा सिरियाको राक्‍का क्षेत्रमा खसेपछि उनलाई आइएसले आफ्‍नो कब्जामा लिएको थियो।कसासबेहलाई आइएसबाट मुक्त गर्न जोर्डनले अनेक पहल गरे पनि असफल रह्‍यो। कसासबेहको हत्याको खबरलगत्तै जोर्डनी राजा अब्दुल्लाले आफ्नो अमेरिकी यात्रालाई बीचमै रोकेर स्वदेश फर्किएका छन्। उनले देशवासीलाई आइएसविरुद्ध एकजुट हुन समेत अपील गरेका छन्।
यस्तै पाइलट कसासबेहको हत्याको अमेरिकी राष्ट्रपति बराक ओबामाले निन्दा गरेका छन्। उनले उक्त यस्तै घटनाको निन्दा गर्दै आतिवाद रोक्नका लागि विश्वका सबै एकजुट हुनुपर्ने प्रतिक्रिया दिएका छन्। पाइलट कसासबेहको हत्‍याप्रति विश्‍वभर विरोध भइरहेको छ।
यसअघि आइएसले बन्धक बनाएका एक चर्चित जापानी स्वतन्त्र पत्रकार केन्जी गोतोको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक गरेक थियो। -एजेन्सी

प्रतिक्रियाहरु