पोखरामा चिडियाखाना बन्ने

२०७१ माघ १६ गते, शुक्रबार

काठमाडौं । पोखरामा क्रियाशिल युनाइटेड क्लवले चिडियाखाना स्थापनाको लागि पहलकदमी अघि बढाएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि काम गर्दै आइरहेको युनाइटेड क्लब पोखराले केहीदिन अघि पाँचौ पोखरा महोत्सवको सम्पन्न गरेसँगै अब चिडियाखाना निर्माणका लागि ध्यान केन्द्रित गरेको हो ।क्लबले चिडियाखानकै लागि पोखराका विभिन्न ठाउँमा अन्तरक्रिया कार्यक्रम गरेको छ । क्लवका पदाधिकारीहरुले साततालको बाटिका शहर अन्तर्गत पर्ने लेखनाथ नगरपालिकाको पचभैयाका स्थानीय बासिन्दाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेका छन् ।
बुधवार लेखनाथको पचभैयामा आयोजित अन्तरक्रियामा सहभागी पचभैयाका स्थानीयहरुले आफ्नो ठाउँमा रहेको सामुदायिक वन चिडियाखाना निर्माणका लागि प्रदान गर्न तयार रहेको बताए । अन्तरक्रिया कार्यक्रममा वोल्दै पचभैया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मोहनबहादुर घिमिरेले आफुहरुले सदियौदेखि पचभैयाको वनको संरक्षण गर्दै आएको बताउदै आफ्नो वनलाई युनाइटेड क्लवले सारेको प्रस्ताव अन्तर्गत चिडियाखाना निर्माणका लागी प्रदान गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
लेखनाथ नगरपालिका वडा नं. ११, १२ र १४ मा पर्ने पचभैया सामुदायिक वन उपभोक्ता समुह, चैनपुर सामुदायिक वन उपभोक्ता समुह र चप्रियानी सामुदायिक वन उपभोक्ता समुह अन्तर्गत पर्ने २ सय ३५ हेक्टर जमिन मध्ये आफुहरुले १ सय ५० हेक्टर जंगल पूर्णरुपमा चिडियाखानाका लागी प्रदान गर्ने सामुदायिक बन उपभोक्ता समितीहरुको निर्णय भइसकेको उहाँले जानकारी दिए । रुपातालसँगै जोडिएको सामुदायिक वनमा चितुवा, मृग, अजिंगर लगायत विभिन्न प्रजातिका चराचुरुङगीसहित १ सय ३४ प्रजातिका जीवजन्तु र ३ सय ३६ प्रजातिका वनस्पतिका साथै सीता गुफा समेत उक्त स्थानमा रहेकाले चिडियाखाना निर्माणका लागी उपयुक्त ठाउ हुन सक्ने उनको भनाइ थियो ।
पचभैयाका पर्यटन व्यवसायी दामोदरभक्त थापाले समग्र रुपाताल र बेगनासतालको विकासका लागि चिडियाखानाले महत्वपूर्ण भुमिका खेल्ने भएकाले आफुहरुले सम्पूर्ण वन उपभोक्ता समितिहरुको निर्णयमा चिडियाखानाका लागी जंगल प्रदान गर्न तयार रहेको बताए
युनाइटेड क्लवका अध्यक्ष तथा चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले पचभैयाको वन क्षेत्र चिडियाखाना निर्माणका उपयुक्त स्थल रहेको बताए । जैविक विविधताले भरिपुर्ण रहेको सामुदायिक बन तथा पर्यटकीय हिसावले महत्वपूर्ण रहेको पचभैयामा यथासक्य छिटो जिल्ला विकास समितिसँग समन्वय गरी विज्ञहरुको टोलीलाई उक्त स्थानमा सर्वेका लागि पठाउने बख्रेलले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा लेनपा ११ का पूर्व वडा अध्यक्ष दिनानाथ ढकाल, पचभैया प्रगतिशील युवा मञ्चका अध्यक्ष जीवन पौडेल, युनाइटेड क्लवका कोषाध्यक्ष राजु श्रेष्ठ, युनाइटेड क्लवका सह सचिवलोक वहादुर थापा, कोषाध्यक्ष राजु श्रेष्ठ, क्लवका सदस्यहरु शान्त बहादुर थापा, दिपक गुरुङ, सावित्री थापा, निर्मला लामिछाने, भीम गुरुङ, सुनिल थापा, अनिल गुरुङ, दिनेश सुनार लगायतको उपस्थिती रहेको थियो ।
केही दिन अघि पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले समग्र पोखरालाई अन्तराष्ट्रिय शहरको रुपमा बिकास गर्नका लागी विभिन्न १० वटा समिति मध्ये युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेललाई चिडियाखाना निर्माण समितिको संयोजक तोकेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु