चितवनमा डेङ्गु आतंक

२०७१ असार १९ गते, बिहीबार

काठमाडौँ । चितवनमा पानी परेसँगै डेङ्गुको सङ्क्रमण पनि बढेको छ । विसं २०७१ वैशाखमा दुईजनामा देखिएको डेङ्गुको सङ्क्रमण जेठमा १४ जनामा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक निरीक्षक राम केसीले जानकारी दिए ।यो असारमा पनि सङ्क्रमण देखिएको तर सबै क्षेत्रको तथ्याङ्क आइनसकेको उहाँले बताउनुभयो । डेङ्गुको सङ्क्रमण बढेपछि जनस्वास्थ्यले यही असारको २४ गतेबाट तीन दिन जिल्लाका दुई नगरपालिकामा घरघरमै पुगेर डेङ्गु सार्ने लामखुट्टे नष्ट गर्ने अभियान सुरु गर्न लागेको केसीले बताए ।
चितवनमा गएको साउनबाट जेठसम्म ३५७ जनामा डेङ्गु रोग लागेको पाइएको छ । जसमा ६४ प्रतिशत पुरुष छन् । माघ, फागुन र चैतमा सङ्क्रमण शून्य रहे पनि पानी परेसँगै सङ्क्रमण फैलिएकाले घरवरपर साना-ठूला भाँडामा पानी जमेको भए फाल्न र सफा राख्न जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहर सिंह गोदारले सबैमा आग्रह गरेका छन् ।
डेङ्गु सार्ने लामखुट्टेले यस्तै जमेको पानीमा फूल पार्ने र बच्चा हुर्काउने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका हुन् । विसं २०६७/६८ मा यहाँ डेङ्गुको महामारी भएको थियो । उक्त समयमा ७३९ जनामा सङ्क्रमण भएको थियो । तीमध्ये पाँचजनाको मृत्युसमेत भएको थियो । यस्तै विसं ०६८/६९ मा ६८ र विसं २०६९/७० मा ५२ जनालाई डेङ्गु लागेको थियो तर अहिले २०७०/७१ म्ाा भने सङ्क्रमण फेरि सङ्क्रमण बढेर असारको रिपोर्ट नआउँदै ३५७ पुगेको छ ।
जनस्वास्थ्य कार्यालयलेे डेङ्गु सार्ने लामखुट्टे र उसको लार्भा तथा प्युपा खोजेर नष्ट गर्न अहिले यहाँ महिला स्वयम्सेवीलाई प्रशिक्षण दिन थालिएको छ । भरतपुर र रत्ननगर नगरपालिकाका ३५० स्वयम्सेवकलाई प्रशिक्षण दिएर अभियानमा खटाउने तयारी गरेको जनाएको छ । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु लाग्ने गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु