पढ्ने भन्दा पढाउने धेरै

२०७१ असार ७ गते, शनिबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी संकायअर्न्तर्गतका केही विषयमा विद्यार्थीभन्दा प्राध्यापक धेरै हुन थालेका छन् । पाठ्यक्रममा समयसापेक्ष परिवर्तन नहुँदा र अध्ययनपछिको विकल्प बलियो नहुँदा विद्यार्थी संख्या नगन्य छ । हाल इतिहास विषयमा प्राध्यापक १७ जना विद्यार्थी ७ जना छन् भने हिन्दी विषयमा प्राध्यापक ७ जना विद्यार्थी १ जना छन् यसैगरी संस्कृत विषयमा प्राध्यापक ३ जना विद्यार्थी ७ जनाछन् । राजनीतिशास्त्र विषयमा प्राध्यापक ९ जना विद्यार्थी २२ जना र बौद्ध अध्ययन विषयमा प्राध्यापक १३ जना विद्यार्थी ५० जना रहेका छन् । त्रिविमा कुनै समय विद्यार्थीको राम्रो आकर्षा हुने इतिहास विषयले चालू शैक्षिक सत्रमा स्नातकोत्तर तहमा ७ विद्यार्थीमात्र पाएको छ । सेमेस्टर प्रणालीमा इतिहासका लागि ५० जनाको कोटा छुट्याइए पनि विद्यार्थी आएनन् । यी ७ विद्यार्थीका लागि १७ स्थायी प्राध्यापक छन् ।
पढेर पनि रोजगारी पाउन कठिन भएपछि विद्यार्थीको आकर्षा घट्दै गएको त्रिवि केन्द्रीय इतिहास विभागका प्रमुख विजयकुमार मानन्धर बताउँछन् । ‘इतिहास अध्ययन गरेका विद्यार्थीलाई राज्यले उपयोग गर्ननसक्दा विषयप्रतिको आकर्षा नै हराएको छ,’ उनी भन्छन्, ‘अब त बन्दै हुने अवस्थामा पुगेको छ ।’ हिन्दी भाषाको स्थिति पनि त्यस्तै छ । १ जना विद्यार्थीका लागि स्थायी र आंशिक गरी ७ प्राध्यापक छन् । संस्कृत र हिन्दीसँगै मानविकी संकायअर्न्तर्गत अहिले २६ विषयको अध्यापन भइरहेको छ । तीमध्ये आधाजसो विषयमा कोटाभन्दा थोरै विद्यार्थी भर्ना भएका छन्, आधाले विद्यार्थी नै पाएका छैनन् । त्रिविले चालू शैक्षिक सत्रमा अंग्रेजी भाषाबाट परीक्षा लिने व्यवस्था गरेपछि कम विद्यार्थी भर्ना भएको मानविकी संकायका डिन चिन्तामणि पोखरेलले बताए । ‘सेमेस्टर प्रणालीमा भाषा विषयबाहेक अरु सबै विषयलाई अंग्रेजीमा परीक्षा दिने व्यवस्था गरिएपछि विद्यार्थी घटेका हुन्,’ उनले भने । राजनीतिशास्त्र विषयमा कुनै समय अत्यधिक चाप हुने गरे पनि चालू शैक्षिक सत्रको स्नातकोत्तरमा २२ विद्यार्थीमात्र भर्ना भएका छन् । यो विषयका प्राध्यापक भने ९ जना छन् । राजनीतिशास्त्र विभागकी मुख्य कार्यालय सहायक शीला बगालेका अनुसार २२ विद्यार्थी भर्ना भए पनि अध्ययन गर्न भने सबै आउँदैनन् । गत वर्षम्म यो विषयमा २ सयभन्दा बढी विद्यार्थी हुन्थे । मानविकी संंकायअर्न्तर्गत स्नातकोत्तरमा अध्ययन हुने नेवारी तथा मैथिली विषयमा पनि विद्यार्थी नगन्य छन् । नेवारीको केन्द्रीय विभाग पाटन संयुक्त क्याम्पस र मैथिलीको केन्द्रीय विभाग जनकपुरमा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु