चिकित्सक सम्मेलन सुरु

२०७१ बैशाख ३ गते, बुधबार


काठमाडौ, ३ बैशाख ।अस्पतालको आकस्मिक कक्षलाई सुधार गर्नेबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारदेखि दुइदिने दोस्रो नेपाल इमर्जेन्सी मेडिसिन सम्मेलन सुरु भएको छ । सम्मेलनको पहिलो दिन अस्पतालमा आकस्मिक कक्षहरूमा आएका बिरामी बचाउन इमर्जेन्सी मेडिसिन नै अध्ययन गरेका दक्ष जनशक्ति, आधुनिक उपकरण, भेन्टिलेटरलगायतको अभावमा पनि बिरामीको मृत्युदर घटाउने उपायबारे छलफल हुने जनाइएको छ ।प्रतिष्ठानको डिपार्टमेन्ट फर जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिनको आयोजनामा सुरु भएको सम्मेलनमा डा. रविन्द्र भण्डारीले विष सेवन गरेर आकस्मिक कक्षमा आएका बिरामीको उपचार पद्धतिबारे र डा. रमेश महर्जनले भेन्टिलेटर नभएको अवस्थामा आकस्मिक कक्षमा आएका बिरामीको मुखमा पाइप हालेर उपचार गरिने पद्धतिबारे आफ्नो वैज्ञानिक शोध प्रस्तुत गरेका थिए ।सम्मेलनमा अस्टे्रलियाबाट इमर्जेन्सी मेडिसिन विशेषज्ञहरू प्राडा क्रिस करी, प्राडा रस टेलर, डा. जिना वाटकिन, प्राडा जिओफ ह्युज, न्युजील्यान्डबाट प्राडा टोम मार्टन र नेपालका विशेषज्ञ चिकित्सकलगायतले विभिन्न कारणले आकस्मिक बिरामी भएर आकस्मिक कक्षमा आएका बिरामीलाई ज्यान बचाउने नयाँ पद्धतिबारे जानकारी दिने छन् । सम्मेलनमा विभिन्न मेडिकल कलेज र अस्पतालमा आकस्मिक कक्षमा कार्यरत १ सय १० जना चिकित्सकको सहभागिता छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु