टुरगाइडको पारिश्रमिक बढ्यो

२०७० फाल्गुन ८ गते, बिहीबार

काठमाडौं,८ फागुन । पारिश्रमिक वृद्धि गर्ने विषयमा लामो समयदेखि चल्दै आएको टुरगाइडहरुको विवादको अन्त्य भएको छ ।फेब्रुअरी १४ देखि लागु हुने गरी टुरगाइडहरुको पारिश्रमिक १७ प्रतिशतले वृद्धि भएको छ । टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) र नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्ट) बीच सोमबार गाइडहरुको पारिश्रमिक वृद्धि गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष डि.बी. लिम्बु र टुर्गानका अध्यक्ष हरेराम बरालले संयुक्त रुपमा हस्ताक्षर गरे ।
यस अगाडी दुई संस्थाबीच गाइडहरुको पारिश्रमिक बढाउने विषयमा विवाद चल्दै आएको थियो । गत वर्ष नाट्टा र टुर्गानबीच पटक पटक वार्ता भएपनि निर्णयमा पुग्न नसकेपछि टुरगाइडको पारिश्रमिक वृद्धिको विषय विवादित बन्दै आइरहेको थियो । नाट्टा सहमतीमा नआएपछि टुर्गानले एकपक्षीय रुपमा गाइडहरुको २० प्रतिशत पारिश्रमिक बढेको घोषणा गरेको थियो ।
टुरगाइडहरुको पारिश्रमिक हरेक दुई/दुई वर्षमा वृद्धि गर्ने नाट्टा र टुर्गानबीच सम्झौता छ । टुर्गानले बढी तलब वृद्धि गर्नुपर्ने अडान राखेपछि सहमतीमा पुग्न नसकिएको नाट्टाले बताउँदै आएको थियो । टुरगाइडहरुको पारिश्रमिक भाषामा भएको दख्खलताका आधारमा वृद्धि गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु