चरा महोत्सव सुरु

२०७० माघ १५ गते, बुधबार


काठमाडौं,१५ माघ । आजदेखि सप्तरीमा १४औँ कोसीटप्पु चरा महोत्सव सुरु गरिएको छ ।चराचुरुङ्गीको संरक्षण र महत्वबारे जनचेतना फैलाउने उद्देश्यले सो महोत्सव सुरु भएको हो ।‘सिमसार र कृषि अन्तिम साझेदार’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको उक्त महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने कोसीटप्पु वन्यजन्तु आरक्षले जनाएको छ ।आरक्षको आयोजनामा सुरु भएको चरा महोत्सव पहिलो दिन आज आरक्षअन्तर्गत पर्ने सप्तरीको पिप्रा पूर्व गाविसस्थित पथरीमा सरसफाइ गरियो ।
चरा महोत्सवअन्तर्गत भोलि माघ १६ गते सप्तरीको बरमझियामा आरक्ष कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, माघ १७ गते सप्तरीको बदगामामा म्युजिकल चियर प्रतियोगिता, माघ १८ गते सुनसरीको कुशहामा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता गर्ने कार्यक्रम तय भएको आरक्षका प्रमुख गङ्गाराम सिंहले जानकारी दिए ।
यस्तै माघ १९ गते सप्तरीको पिप्रा पूर्व गाविसस्थित पथरीमा पथरी पोस्टको उद्घाटन, माघ २० गते अन्तर माविस्तरीय चित्र प्रतियोगिता र माघ २१ गते पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने छ । उचित बासस्थानको आभाव र अनियन्त्रित चोरी सिकारीका कारण चराचुरुङ्गीको सङ्ख्या दिनप्रतिदिन घट्दै गएकाले त्यसमा सुधार ल्याउन चरा महोत्सव गर्न लागिएको आरक्षको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले बताए ।आरक्षमा ४९२ प्रजातिका चरा रहेको जानकारी दिँदै अध्यक्ष यादवले यस वर्ष आरक्षमा चराका प्रजातिको सङ्ख्या केही बढ्ने सम्भावना भएपनि चराको सङ्ख्या भने घट्दै गएको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु