अन्तर्राष्ट्रिय व्यापार मेला फाल्गुन२२ देखि

२०७० मंसिर २७ गते, बिहीबार


काठमाडौं, २७ मंसिर । सरकारले उच्च प्राथमिकतामा राखेका १९ वटा वस्तुहरुको प्रवद्र्धन गराउने उद्देश्यसहित आगामी फाल्गुन २२ गतेदेखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । व्यापार मेला नेपाल सरकारको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघले गर्न लागेको हो । महासंघले विभिन्न ४ क्षेत्रमा क्षेत्रीय व्यापार मेला पनि गर्ने भएको छ । तेस्रो संस्करणको व्यापार मेलाबारे राजधानीमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराइएको हो । अलैची, हाते कागज, उनीका सामान, तयारी चाउचाउ, मह लगायतका नेपालले प्राथमिकतामा राखेको १९ वटा वस्तुहरुको प्रवद्र्धन, द्धिपक्षीय व्यापार विस्तार एवं लगानी बढाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने महासंघले जनाएको छ ।
कृषि उत्पादन, निर्माण सामाग्री, छालाजन्य उत्पादन, जडिबुटि तथा जडिबुटीजन्य वस्तुहरु मेलाको विशेष आकर्षण रहने बताइएको छ । मेलामा भारत, चीन, बंगलादेश, अमेरिका, पाकिस्तान, इरान लगायत खाडी मुलुकहरुले पनि सहभागिता जनाउने बताइएको छ ।
विदेशी लगानी भित्र्याउन मेलामा निजी क्षेत्रले विभिन्न मुलुकका प्रतिनिधिहरुसँग बी टू बी छलफल, अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने पनि महासंघले जनाएको । १५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको मेलाको स्वदेशी तथा विदेशी गरी २ लाख ५० हजार बढिले अवलोकन गर्ने जनाइएको छ । तेस्रो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको सहयोगी राष्ट्र चीन रहेको महासंघले जनाएको । मेला फाल्गुन २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२७ ठेकेदार कम्पनीलाई स्पष्टीकरण

२०८१ बैशाख २७ गते, बिहीबार

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार