निर्वाचन समाधान होइन – राजेन्द्र चिमौरिया

२०७० भाद्र २५ गते, मंगलवार

सरकार र चार दलीय राजनीतिक संयन्त्र यतिबेला जसरी भएपनि मंसिर ४ मा निर्वाचन गर्न रट लगाइरहेका छन् । नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चा र अन्य राजनीतिक दलहरु यथावस्थामा चुनाव हुन नसक्ने र देशको वर्तमान राजनीतिक संकटबाट पार पाउन गोलमेच सम्मेलन गर्नुपर्ने अडानमा छन् । सरकार र चार दल जुनसुकै हालतमा मंसिर ४ मै निर्वाचन गर्न अड्डी कसेर अगाडि बढेको छ भने नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाले कुनै पनि हालतमा मंसिर ४ को निर्वाचन सफल हुन नदिने उद्घोष गरिसकेका छन् । सरकार र चार दललाई पनि थाहा छ कि नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चालाई निर्वाचनमा सहभागी गराउन नसके त्यस निर्वाचनको कुनै औचित्य हुने छैन, निर्वाचन गराउनु नै आकाशको फल सावित हुनेछ तर पनि उनीहरु आफ्नो व्यक्तिगत र दलगत स्वार्थ र विदेशी प्रभुहरुको इशारामा मंसिर मै निर्वाचन गर्नुपर्छ भन्दै धङधङयाउँदै छन् । सरकार र चार दल जसरी निर्वाचनको तयारी गर्दैछन्, त्यसैगरी, नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चा पनि निर्वाचनलाई असफल पार्न तयारीमा जुटेको छ । मोर्चाले निर्वाचनलाई सशक्त बहिष्कार गर्न तयारी स्वरुप देशभर जनचेतनालगायतको विभिन्न कार्यक्रमहरुलाई तीव्रता दिँदै गएको छ । देशमा लोकतन्त्रको सिद्धान्तविपरीत वहालवाला न्यायाधीशलाई सरकारको बागडोर सुम्पिएर, दसवर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्म विपरीत काम भएको र त्यसलाई सच्याउनुपर्ने ३३ दलीय मोर्चाको मागलाई आमजनताको साथ र र्समर्थन बढ्दै गएको छ । देशको वर्तमान संकटबाट पार पाउन निर्वाचन समाधान होइन । यदि साँच्चै देशलाई वर्तमान संकटबाट मुक्त गर्ने हो भने ३३ दलीय मोर्चाले भनेजस्तै गोलमेच सम्मेलन गरेर ठोस निष्कर्षनिकाल्नु पर्छ ।

प्रतिक्रियाहरु