चुनावी तनाव – राजेन्द्र चिमौरिया

२०७० भाद्र १५ गते, शनिबार

सरकार र चार दलीय राजनीतिक संयन्त्र यतिबेला जसरी भए पनि मंसिर ४ मा निर्वाचन गर्ने रट लगाइरहेका छन् । नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चा र अन्य राजनीतिक दलहरू यथावस्थामा चुनाव हुन नसक्ने र देशको वर्तमान राजनीतिक संकटबाट पार पाउन गोलमेच सम्मेलन गर्नुपर्ने अडानमा छन् । सरकार र चार दल जुनसुकै हालतमा मंसिर ४ मै निर्वाचन गर्ने अड्डी कसेर अगाडि बढेको छ भने नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाले कुनै पनि हालतमा मंसिर ४ को निर्वाचन सफल हुन नदिने उद्घोष गरिसकेका छन् । सरकार र चार दललाई पनि थाहा छ कि नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चालाई चुनावमा सहभागी गराउन नसके त्यस चुनावको कुनै औचित्य हुने छैन र चुनाव गराउनु नै आकाशको फल सावित हुनेछ तर पनि उनीहरू आफ्नो व्यक्तिगत र दलगत स्वार्थ र विदेशी प्रभुहरूको इशारामा मंसिरमै निर्वाचन गर्नुपर्छ भन्दै धङधङ्याउँदै हिँडिरहेका छन् । खासमा चार दल पनि वर्तमान अवस्थामा चुनाव भन्दै जनतामा जान सक्ने स्थिति छैन, किनकि विगत चार वर्षा संविधान बनाउन नसकेका उनीहरूले जनतालाई दिने कुनै जवाफ छैन । त्यसकारण पनि उनीहरू नेकपा-माओवादीले चुनाव चाहेन हामीले त अन्तिम समयसम्म कोसिस गरेकै हो भनेर उम्कन खोजिरहेका छन् । त्यसैले उनीहरू कहिले गोलमेच सम्मेलन गर्न तयार हुन्छन् र फेरि भाँड्छन् । पुनः असन्तुष्टहरूलाई समेट्न लचिलो छौँ भन्दै पुनः गोलमेचको लागि तयार भएको संकेत दिँदैछन् । कहिले नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाको मागहरू सुन्नै नसकिने बताउँछन् भने कहिले उनीहरूको मागको सम्बोधन गर्न तयार रहेको बताउँछन् । बाहिरीरूपमा चार दल चुनावको तयारीमा लागेजस्तो देखिए पनि असलीरूपमा उनीहरू चुनावमा जान डराइरहेका छन् ।
सरकार र चार दल जसरी चुनावको तयारी गर्दैछन्, त्यसैगरी, नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चा पनि चुनावलाई असफल पार्ने तयारीमा जुटेको छ । मोर्चाले चुनावलाई सशक्त बहिष्कार गर्ने तयारीस्वरूप देशभर जनचेतनालगायतको विभिन्न कार्यक्रमहरूलाई तीव्रता दिँदै गएको छ । देशमा लोकतन्त्रको सिद्धान्तविपरीत वहालवाला न्यायाधीशलाई सरकारको बागडोर सुम्पिएर, दसवर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्मविपरीत काम भएको र त्यसलाई सच्याउनुपर्ने ३३ दलीय मोर्चाको मागलाई आमजनताको साथ र र्समर्थन बढ्दै गएको छ । देशको वर्तमान संकटबाट पार पाउन चुनाव समाधान होइन भन्ने राजनीतिक विश्लेषकहरूको तर्क छ । यदि साँच्चै देशलाई वर्तमान संकटबाट मुक्त गर्ने हो भने ३३ दलीय मोर्चाले भनेजस्तै गोलमेच सम्मेलन गरेर ठोस निष्कर्षनिकाल्नुपर्छ भन्ने उनीहरूको ठहर छ । मंसिर ४ मा चुनाव गराउने चार दलको उद्घोष र यथास्थितिमा मंसिर ४ मा चुनाव हुन नसके ३३ दलीय मोर्चाको अडानको कारण संकट झन् गहिरिने निश्चित छ । चार दलले जतिसुकै चुनावको रट लगाए पनि ३३ दलीय मोर्चालाई नसमेटेसम्म चुनाव सम्भव छैन । त्यसैले चुनावको मिति जति नजिकिँदै छ, चार दललाई त्यतिकै तनाव बढ्दै छ । त्यसैको फलस्वरूप चार दलका नेताहरूले अहिले बिहान-बेलुका नै आफ्नो अभिव्यक्तिहरू फेर्ने गरेका छन् ।

प्रतिक्रियाहरु