रसुवाली कविका हिरासतका दिन – भगवानचन्द्र ज्ञवाली

२०७६ भाद्र १ गते, आईतवार

रसुवाली कवि अर्थात् ठाकुरप्रसाद तिमल्सिना सङ्घर्षका दुनियाँमा अब कुनै नयाँ नाम रहेन । घोषणा गरेरै उनी कवि बने समले चिसोचुल्हो महाकाव्य दाबीझैं गरी । देख्दा दुब्ला पातला तर प्रतिक्रियावादीहरूका नाकमा दम भर्ने जिरे खुर्सानी हुन् उनी । त्यसैले होला उनी लेखक हुन् भन्ने जान्दाजान्दै पनि ओली सरकारले उनलाई एक दिन मानवअधिकारको हनन्बारे छलफल गर्न भन्दै हामीलगायत केही बुद्धिजीविहरू जम्मा भएका बेला एउटा कलेजका गेटबाटै साथी सङ्गीत स्रोतसहित उनलाई गिरफ्तार ग¥यो । उनी निर्दाेष थिए तर सरकारका नजरमा उनी भीषण बम देखिए त्यसैले भोलि कतै पड्किएला कि भन्ने डरले तत्काल उसले उनलाई गिरफ्तार ग¥यो र हामीले पञ्चायत फर्केको अनुभव ग¥यौं ।
म जस्तो कोही हुनुहुँदैन मेरो बाटो कोही हिंड्नु हुँदैन मैंले जे बुझें म जे भन्छु त्यही माक्र्सवाद हो भन्ने मायोपिया रोगग्रस्त नेताहरूले सञ्चालन गरेका मुलुकमा यस्तो हुनु स्वाभाविक हुँदो रहेछ । सत्ताधारीहरूलाई सामन्तवादकालदेखि नै चाटुकारी मन पर्छ । २१ औं शताब्दीमा ठाकुरप्रसादलाई त्यस्तो चाटुकारी गर्न मन लागेन । असती सत्ताका विरुद्ध विद्रोह गर्नु जनताको नैसर्गिक अधिकार हो । त्यसलाई कुल्चने प्रयासमा वर्तमान सरकारले नेकपालाई भावावेशमा आएर प्रतिबन्ध लगायो । अनि सुरु भयो लेखक, कवि, कलाकारहरूलाई पक्रने र जनताका हितैषी निर्दोष युवाहरूलाई काउन्टरका नाममा गिरफ्तार गरेर गोली हान्ने नाटकको मञ्चन ।
आफ्ना अक्षमताको दोष नेकपामाथि थोपरेर सरकार चरम भ्रष्टाचार, अराजकता र बेथितिको नग्न दायित्वबाट पन्छिने असफल प्रयास गर्दैछ भन्ने यसबाट सहजै बुझ््न सकिन्छ । सरकार अहिले नीरमा डुबेको स्यालका हैसियतमा पुग्नै लागेको भान हुन्छ । त्यसैले सङ्घीयता असफल पार्ने प्रयास वा राजतन्त्र पुनस्र्थापनाको षड्यन्त्रको फलाको लगाइरहेछ । एक जना रसुवाली कविलाई थुनेर वा यातना दिएर मौलिक हक हननका विरुद्ध उठ्ने आवाज बन्द हुँदैन ।
हिरासतका (ती) दिन त्यस्तै आवाजहरूको प्रतिनिधि रचना हो । शक्ति र सत्ताभित्र लुकेको प्रतिक्रियावादी चिन्तनलाई यसले एउटा दरिलो झापड दिएको छ । कविले वास्तवमा नेपाल सरकारका प्रहरी हिरासतभित्र लुकेका विसङ्गत पक्षलाई चित्र गरेर जनतालाई सत्यको आभास दिएका छन् । यो कृति हिरासतभित्रको सन्देश बनेर पाठकसामू आएको छ । भाषामा परिमार्जन छ र अभिव्यक्तिमा प्रौढता । क्रान्तिकारी साहित्यको एक कडीका रूपमा मैंले यस हिरासतका दिन रचनालाई बुझेको छु । अस्तु ।

प्रतिक्रियाहरु