पश्चाताप – बलराम तिमल्सिना

२०७५ श्रावण १४ गते, सोमबार

हिड्दा हिड्दै लडेको मान्छे
धूलो टक्टक्याउँछ फेरि उठ्छ
निकै चोट लागेको रहेछ भने
अरुको सहयोग माग्छ , उठ्न खोज्छ
तर जानाजान लडेको मान्छे
आफै त उठ्दै उठ्दैन
हात दिए पनि उठ्दैन !

लामो यात्रामा
शारीरिक थकाईले
भोकले या निद्राले
थकाई मारेको यात्री
थकाई मरेपछि आफै उठ्छ
र खुरु खुरु हिड्छ आफ्नो बाटो
तर,
मन थाकेर बसेको मान्छे
जति थकाई मार्यो त्यति थाक्छ
ऊ कहिलै उठेर हिड्दैन !

युध्दमा घाइते भएको सिपाही
उपचारपछि मैदानमा फर्कन्छ
युध्दमा हारेको सिपाही पनि
अर्को तयारी गर्छ र फेरि लड्छ
तर,
आत्मसमर्पण गरेर भागेको सिपाही
कहिलै मैदानमा फर्कदैन
भगौडा सैनिकले कैलै लडाई लड्दैन !

महान योध्दा हो भन्ने सोचेर
दशकौं बुट बजारेर सलाम ठोकियो
अहिले आएर सोच्दा
आफ्नै विवेकप्रति दया लाग्छ
मेरो दिव्य दशक
भगौडालाई सलाम ठोकेर वितेछ !

प्रतिक्रियाहरु