आज राष्ट्रिय कर दिवस

२०७५ मंसिर १ गते, शनिबार

काठमाडौं, १ मंसिर । सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सातौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरे । बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताकारुपमा सम्मानित भएको छ । यसअघि पनि दुईपटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो । यस्तै, व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताकारुपमा सिद्धार्थशमशेर जबरा सम्मानित भए ।
सबैभन्दा बढी आयकर तिर्ने करदाताकारुपमा विगत पाँच वर्षदेखि उनी सम्मानित हुँदै आएका छन् । उनले होटल, ट्रेडिङ, ट्राभललगायत विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । कर दिवसका अवसरमा निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योग क्षेत्रतर्फ हिमाल पावर लिमिटेड, कृषि तथा पशुपक्षी क्षेत्रतर्फ प्रोवायोटिक उद्योग तथा सहकारीतर्फ छिमेकी लघुवित्त उत्कृष्ट करदाताकारुपमा सम्मानित भएका छन् ।
यस्तै, बैंक–वित्तीय संस्थातर्फ नबिल बैंक, बिमामध्येबाट नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य–शिक्षातर्फ नोबल मेडिकल कलेज, सूचना तथा प्रविधि सेवातर्फ एफवान सफ्ट इन्टरनेसनल प्रालि र पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल उत्कृष्ट करदाता घोषित भएका छन् ।
व्यापार–व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालि तथा रु ४० करोड कारोबार भएकामध्येबाट नेपाल इन्भेस्टमेन्ट प्रालि, वार्षिक रु ४० देखि ८० करोड कारोबार गर्नेमध्येबाट नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र विगत १० वर्षदेखि नियमित र समयमै कर बुझाउने घोराही सिमेन्ट प्रालिलाईसमेत सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेतालाई पुरस्कृत गरिएको थियो ।
कर नतिरे समृद्धिको बाटो बन्द हुन्छ : मन्त्री खतिवडा
उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले कर नतिरे समृद्धिको बाटो अवरुद्ध हुने बताएका छन् । आम्दानीअनुसार सबैले कर तिर्नुपर्ने बताउँदै अर्थमन्त्री खतिवडाले सबैभन्दा थोरै आम्दानी गरेर कर तिर्ने करदाता पनि उत्तिकै सम्मानित व्यक्ति हो भनेर चेतना जगाउनु जरुरी रहेको बताए । ‘हामीले कर तिरेनौं भने समृद्धिको बाटो बन्द हुन्छ’–खतिवडाले भने–‘आम्दानीअनुसार कर तिर्नुपर्छ भनेर चेतना जगाऔं ।’ उनले स्वेच्छिक कर सहभागितामा जानुपर्ने उल्लेख गर्दै मुद्दा–मामिला र हतकडी लगाउनुपर्ने अवस्था आउन नदिन व्यवसायी सचेत हुनुपर्नेमा जोड दिए ।
अनलाइनबाट कर तिर्ने प्रणालीको विकासमा सरकार लागेको उनले जानकारी दिए । कर सहभागिता बढाउन सहकार्य र एकार्काप्रति सम्मान गर्नुपर्नेमा उनको जोड थियो । राज्यको आँखाबाट कोही नछुट्ने भन्दै उनले उपभोक्ताको हितमा प्रतिकूल नहुनेगरी कर प्रणालीलाई व्यवस्थापन गर्न सरकार लागेको बताए । करको दर नभइ दायरा बढाउनेतर्फ ध्यानकेन्द्रित भएकोसमेत अर्थमन्त्री खतिवडाको भनाइ थियो ।
अर्थ मन्त्रालयका सचिव राजन खनालले कर सुधारको विषयमा सरकारले अभ्यास गरिरहेको भन्दै पछिल्ला केही वर्षदेखि परिवर्तन देखिएको जिकिर गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कर प्रणाली उद्योगमैत्री बनाउँदै औद्योगिक क्षेत्रमा लगानीको वातावरण निर्माणतर्फ सरकारको ध्यानाकर्षण गराए । कर तिर्नका लागि जागरण ल्याउन सरकारसँग सहकार्य गर्ने व्यवसायी तयार रहेको उनीहरुको भनाइ थियो ।
सम्मानित करदाताका तर्फबाट मन्तव्य राख्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनका लागि कर तिर्ने दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।
आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले करदातालाई जागरुक बनाउनेतर्फ ध्यान दिँदै सरकारको आर्थिक नीति र राजश्व परिचालन नीतिलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको बताए । उनले करदाताको बृहत्तर सहभागितका लागि बृहत्तर छुट सुविधासहितका कार्यक्रम ल्याएकाले त्यो अवसर नगुमाउनसमेत करदातालाई आग्रह गरे ।- नारायण ढंगाना (रासस)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार