अतिक्रमणको चपेटामा सत्खलुवा ताल

२०७३ आश्विन ६ गते, बिहीबार

काठमाण्डौ ,६ असोज । नेपालका सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । सिमसार क्षेत्र संरक्षणका नाममा अर्बौं रुपैयाँ लगानी गरिएको भए पनि अतिक्रमण नियन्त्रण हुन सकेको छैन । कतिपय पर्यटकीय सिमसार क्षेत्र ओझेलमा समेत पर्दै आएका छन् । चुरे क्षेत्र नजिकै रहेको बर्दियाको धधवार गाविसस्थित पर्यटकीय सत्खलुवा ताल ओझेलमा परेको छ । नेपालमा सीमसार क्षेत्रको संरक्षणका नाउँमा अरवौं रुपैयांको खोलो वगाएपनि जोखिममा रहेका प्राकृतिक सीमसार क्षेत्रहरु सुक्दै गएका छन् । दाताहरुले सीमसार क्षेत्रको संरक्षणमा दीर्घकालिन योजना नल्याउँदा सीमसार क्षेत्रमा गरिएको लगानी खेर गएको हो । बर्दियाको धधवार गाउँ विकास समितिमा रहेको प्राकृतिक सत्खलुवा ताल संरक्षणमा चाँसो नदिँदा ओझेलमा परेको छ । सतञ्जी, सतपटुवा र सत्खलुवा तीन वटा प्राकृतिक ताल रहेको सत्खलुवाताल ६० विगाहा क्षेत्रफलमा फैलिएको छ । हिँउँदमा चारैतिरको पानी सुक्दा समेत सत्खलुवा तालमा पानी रही रहने हुँदा जरायो, वाघ, विभिन्न चराचुरुङ्गी लगायत अजिङ्गरको समेत तालक्षेत्र वासस्थान वनेको ताल संरक्षण समितिका अध्यक्ष सुनिल चापागाइ बताउँछन् ।
प्राकृतिक सौन्दर्य र विशेषता वोकेको सत्खलुवा ताल पूर्व–पश्चिम महेन्द्र राजमार्गको उत्तर चुरेको काखमा अवस्थित छ । र्दुलभ रातो कमलको फूल यो तालमा हेर्न पाईन्छ । ताल र त्यहाँका प्राकृतिक सुन्दरताको संरक्षण गरिदिन स्थानीयले सरकार र संघ संस्थासँग माग गरेका छन् । प्रशस्त पर्यटकिय गन्तव्यको सम्भावना वोकेको सो ताल राज्य र संघ संस्थाहरुको नजरमा नपर्दा ओझेलमा परेको स्थानीयको वुझाई छ । सत्खलुवा ताल प्राकृतिक गन्तव्यको प्रशस्त सम्भावना वोकेको क्षेत्र हो । चुरेको नजिकै रहेकाले पनि ताल क्षेत्र मनमोहक रहेको पाईन्छ । तसर्थ तालको दीगो संरक्षण गर्दै पश्चिम नेपालको पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु जरुरी देखिन्छ । -यादव आचार्य, ईमेज

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु