बर्ड फ्लू संक्रमित कुखुरा बिक्रीमा

२०७० श्रावण १४ गते, सोमबार

भक्तपुर, १४ साउन – भक्तपुरको बर्ड फ्लू संक्रमित फर्मबाट भैरहवातर्फ लगिएको कुखुरा सोमबार बिहान ललितपुरको सुन्दरीघाटबाट पक्राउ गरिएको छ ।कटुञ्जे २ को गंगा जमुना कुखुरा फार्मले ४ सय ५० वटा प्यारेन्ट कुखुरा राती नै भैरहवा लैजान लाग्दा जिल्ला पुश सेवा कार्यालय ललितपुरले पक्राउ गरेको हो ।
पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्रप्रसाद भट्टले बर्ड फ्लु संक्रमित कुखुरा बिक्री गर्नका लागि कुखुरा लगिदै छ भन्ने जानकारी दिएपछि ललितपुरको पुश सेवा कार्यालयले नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएको कुखुरालाई सोमबार नै सुन्दरीघाट मल पोखरी नजिकै स्काभेटरले खाल्डो खनेर पुरिएको पशु सेवा कार्यालय ललितपु्रका प्रमुख डा.मुगलप्रसाद शाहले जानकारी दिए ।
भक्तपुरको सिपाडोल गाविस ९ र नंखेल गाविस २ मा रहेको पञ्चराम किसी र बलराम किसीको त्यस फार्ममा बर्ड फ्लू भेटिएपछि एक हप्तामा दुई हजार भन्दा बढी कुखुरा मरिसकेको स्थानीय वासिन्दाले बताएका छन् ।मरेका कुखुरा प्रशासन र पशु कार्यालयलाई समेत जानकारी नदिई गत शुक्रबार नंखेल २ मै रहेको जिजे इटा भट्टामा राती लगेर पुरिएपनि त्यसको दुर्गन्ध फैलिएपछि स्थानीय वासिन्दाले बिरोध गरेका थिए ।किसी दाजुभाईले जथाभावी रुपमा बर्ड फ्लू संक्रमित कुखुरा रातीको समयमा भक्तपुर र काठमाडौका मासु पसल एवं कोल्ड स्टोरहरुमा बिक्री गर्ने गरेको स्थानीय वासिन्दाको आरोप छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु