प्रधानमन्त्रीद्वारा कर्मचारीमाथि समस्या पर्न नदिने उदघोष

२०८० चैत्र १२ गते, सोमबार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताउदै भने -“कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन। असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कही कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु।”
प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए। उनले भने-“राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन । हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ। अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु।”
प्रधानमन्त्री प्रचण्डले सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै भने- “म आफू पनि राष्ट्र र कानुन विपरितको कुनै पनि काम गर्दिन र तपाईहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु।”
प्रधानमन्त्री प्रचण्डले जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै शिक्षा, स्वस्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहादानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए।
प्रधानमन्त्री प्रचण्डले तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आईपुग्दा समेत पूँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै आयोजना अधुरा रहनु तथा काम सम्पन्न भईसकेकका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सुखद पक्ष नभएको बताए ।

प्रतिक्रियाहरु