भकुण्डे-तेमाल सडकको काम सुस्त : २० महिनामा १० प्रतिशत मात्रै काम

२०८० चैत्र ७ गते, बुधबार


काठमाडौँ । काभ्रेपलाञ्‍चोकको भकुण्डे-तेमाल सडकको सम्झौताअवधि सकिन ४ महिना बाँकी छ। २ वर्षमा सम्पन्‍न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको मात्र १० प्रतिशत काम पूरा भएको छ। नमोबुद्ध नगरस्थित भकुण्डेचोकबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मेच्छेसम्मको करिब २५ किमी सडक स्तरोन्‍नति एवं पक्की गर्न ललितपुरको केएस देवी रमण, तेजजुको लापरवाहीका कारण समयमै काम नसकिने देखिएको हो। उक्त आयोजनाका लागि २० करोड ८९ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। हालसम्म सडक किनारका केही स्थानमा पर्खाल निर्माण गरिएको छ।
ठेकेदार कम्पनीलाई चाँडो काम गर्न पटक-पटक ताकेता गर्दा बेवास्ता गरेका कारण आयोजना लथालिङ्ग अवस्थामा पुगेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए।
‘आयोजनाको सुरुआती चरणमा केही काम भएको हो, त्यसपछि निर्माणकार्यले गति नलिँदा यस्तो अवस्था आयो,’ उनले भने।
हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बाटोमा हिँड्नुपर्ने बाध्यताका कारण ठेकेदारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी स्थानीयले दिएका छन्। उनीहरूले सम्बन्धित निकायले निरन्तर अनुगमन नगरेकामा आपत्ति जनाएका छन्। साथै स्तरोन्‍नति थालिएको उक्त सडकको अनुगमन गरी काम शीघ्र सम्पन्‍न गराउन उनीहरूले माग गरेका छन्। -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु