प्रभु बैंकको डेपुटी सिइओ न्यौपाने र गौतमसहित ११ जना पक्राउ

२०८० फाल्गुन १६ गते, बुधबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका दुई जना प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ मनोज न्यौपाने र तुलसीराम गौतमसहित ११ जनालाई आज पक्राउ गरेको छ । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित कर्मचारीलाई सीआईबीले पक्राउ गरेको हो । चौलागाईं सहकारी गठी प्रकरणमा पुर्पक्षका लाथि थुनामा छन । सहकारीका बचतकर्ताको ७ अर्ब ठगी गरेको अभियोगमा गत असोज १८ गते सीआईबीले चौलागाईं पक्राउ गरेको थियो । तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरु सुशील श्रेष्ठ, अनुपमा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सविन श्रेष्ठ, दिलीप बराल, सुशील बस्नेत, राजेश भण्डारी, रमण श्रेष्ठ र दिपेश प्रधान पनि पक्राउ परेका छन् । यीमध्ये ५ जना प्रभु बैंकका बहालवाला कर्मचारी रहेको सीआईबीले जनाएको छ । ८० करोड रुपैयाँ बराबरको धितो राखेर २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिल गायतका कम्पनीका नाममा चौलागाईंले तत्कालीन सेञ्चुरी बैंकबाट पटक पटक गरेर २ अर्ब ४ करोड रुपैयाँ ऋण लिएका थिए । सेञ्चुरी मर्जपछि न्यौपाने प्रभु बैकमा नायब कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । न्यौपाने भन्दा अघि बैंकमा गौतम सीईओ थिए । गौतमका पालमा सेञ्चुरीले रविन्द्रका कम्पनीलाई ऋण दिन थालेको प्रहरीले जनाएको छ ।
बैंकिङ कसुर को आरोपमा तत्कालिन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ समेत तानिने भएका छन् । लामाटारको ८२ रोपनी जग्गा धितोमा ९६ करोड ऋण दिदा उक्त धितो अन्तै धितो जमानी रहेको बताइएको छ । उक्त ऋण बिना धितो नै दिएको सम्बन्धमा र एउटै धितोमा ३ वटा ऋण प्रवाह भएको समेत जनाएको छ ।

प्रतिक्रियाहरु