वैज्ञानिक समाजवादका लागि कम्युनिष्ट पार्टीहरुको एकता

२०८० पुष १६ गते, सोमबार

पछिल्ला कतिपय कार्यक्रमहरुमा कतिपय नेताहरुले वाम एकताको आवश्यकता औँल्याएको पाइएको छ । यो नेपालको पुरानै र आकर्षक नारा हो । तर, बिद्यमान अवस्थामा नेपालमा वाम एकताको मात्र कुनै औचित्य देखिएको छैन । आजको प्रमुख आबश्यकता भनेको वैज्ञानिक समाजवाद मान्ने कम्युनिष्ट पार्टीहरुबीचको एकता हो । किनकि पछिल्लो समयमा केही समूहहरुले वाम शब्दलाईनै बिकृत बनाइसकेका छन् । आजको तड्कारो आवश्यकता भनेकै संसदीय व्यवस्थाविरुद्ध वैज्ञानिक समाजवादका लागि सच्चा कम्युनिष्टहरुबीचको एकता हो । यो यथार्तलाई नबुझेर ०४७ सालको राजनीतिक परिवर्तन अघिकोजस्तो बृहत् वाम एकता आजको आवश्यकता भन्ने नारा दिइयो भने त्यसले एकातिर भ्रमको सिर्जना गर्दछ भने अर्कातिर नेपालको कम्युनिष्ट आन्दोलनलाई गलत दिशामा लान सक्ने सम्भावना रहन्छ । किनकि नेपालका कतिपय कम्युनिष्ट नामधारीहरु पार्टीहरु प्रजातान्त्रिक समाजवादको पछि लागेका छन् । कतिपय अमूक समाजवादका कुरा गरिरहेका छन् । जो समाजवाद भन्छन् तर उनीहरुको समाजवादबारेको ब्याख्या स्पष्ट छैन । सबैभन्दा खतरनाक कुरा कतिपय कम्युनिष्ट नेताहरुले समाजवादका आधारहरुनै भत्काउने भूमिका निर्वाह गरिरहेका छन् । त्यसैले हालको अवस्थामा किटेरै संसदीय ब्यवस्थाका विरोधी र वैज्ञानिक समाजवादका पक्षधरहरुको एकताको आह्वान हुनुपर्दछ र त्यस किसिमको एकाताका लागि पहल पनि हुनुपर्दछ । पक्षधरतानै उपरोक्त किसिमको विकसित गरिनु आवश्यक छ । संसदवादी, प्रजातान्त्रिक समाजवाद पक्षधर र अमूक समाजवादको चर्चा गर्नेहरुका पछाडि लागेर वैज्ञानिक समाजवाद पक्षधरहरुका लागि कुनै पनि उपलब्धि प्राप्त हुन सक्दैन ।

डा. केशव देवकोटा

कतिपयले नेपालमा वामपन्थी शक्तिहरुबीच एकता हुनुपर्छ तर संसदवादका लागि नभई नयाँ राज्यसत्ता प्राप्तिका लागि भन्ने गरेको पनि सुनिएको छ । राजनीतिक मुद्दा मिल्ने कम्युनिष्ट÷वामपन्थी दलहरुसँग कार्यगत एकता र विचार मिल्ने संसदवाद बिरोधी शक्तिहरुसँग पार्टीगत एकता गर्न आवश्यक रहेको छ । यतिबेला नेपालमा चारैतिरबाट साम्राज्यवादीहरुले हमला गरिरहेका छन् । त्यसैले पनि उनीहरुलाई परास्त गर्नका लागि सच्चा वामपन्थी र कम्युनिष्टहरु एक हुनु जरुरी भएको छ । नेपालको ७४ वर्षको कम्युनिष्ट आन्दोलनको इतिहासमा कतिपय कम्युनिष्ट घटकहरुले पटक–पटक जनसमर्थन पाएर संसदीय सत्तामा पुगे पनि केही गर्न नसकेको कुरा सबैका सामु छर्लङ्ग छ । खासमा भन्ने हो भने नेपालमा यतिबेला दलाल पुँजीवादी बिचौलियाहरुको सत्ता रहेको छ । त्यसैले राजनीतिलाई उनीहरुले कमाइखाने भाँडो बनाएका छन् । जनताका विभिन्न किसिमका भ्रमहरु दिने र आफ्नो सत्ता लम्ब्याउने काम भैरहेको छ । राजनीतिलाई पेशा नभएर सेवा मान्ने गरिन्छ । तर, नेपालमा राजनीतिलाई पेशा बनाएर अकुत सम्पत्ति कमाउनेहरु धेरै छन् । हाल कतिपयले संसदीय सत्तामा रहेर समाजवादको कल्पना गरेका छन् । उनीहरुले भन्ने गरेको काल्पनिक समाजवाद हो । क्रान्तिबाट मात्रै वैज्ञानिक समाजवादको स्थापना गर्न सम्भव हुन्छ । विकसित पुँजीवाद र साम्यवादबीचको संक्रमणकालीन राज्य व्यवस्था नै वैज्ञानिक समाजवाद हो । जसलाई साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवाद र दलाल पुँजीवाद विरोधी राज्य व्यवस्था मान्ने गरिन्छ । वैज्ञानिक समाजवाद समुदायमा केन्द्रित सामाजिक आर्थिक पद्धतिमा आधारित हुन्छ । यसलाई आर्थिक विकासको सामाजिक सम्बन्धको विशिष्ट ऐतिहासिक चरण मानिन्छ । वैज्ञानिक समाजवाद ऐतिहासिक विकासका क्रममा विकसित हुने गर्दछ । यो उत्पीडक र उत्पीडित वर्गबीचको संघर्र्षको लामो प्रक्रियाबाट स्थापित हुन्छ । प्राथमिक चरणमा पुँजीवादी र समाजवादी द्वैध आर्थिक पद्धति अस्तित्वमा रहन्छ तर माथिल्लो चरणमा आर्थिक, सामाजिक र सांस्कृतिक स्वरुपको समाजवादीकरण भैसकेको हुन्छ । जहाँ पैसाको मूल्य, ज्याला र पुँजी सञ्चय न्यून हुँदै जान्छ । त्यसैको जगमा साम्यवादको निर्माण गरिने हो । आज नेपालको राजनीतिले प्रगतिशील पुँजीवादको चरणमा समेत प्रबेश गरिसकेको छैन । किनकि नेपालको बिद्यमान राजनीतिक ब्यवस्थाले जनताको अधिनायकत्व समेत स्थापना गर्न÷गराउन सकेको छैन । आज पनि शासक र शासितहरुका बीचमा ठूलो भेदभाव रहेको छ । यतिबेला देशमा नीतिप्रधान र विचारप्रधान नभएर बिल्कुल्ल नेताप्रधान राजनीति चलिरहेको छ । जसले हुकुमी शासनको झल्को दिन्छ । वैज्ञानिक समाजवादमा भने सर्वहारा बर्गीय अधिनायकत्व हुन्छ ।

सर्वहाराबर्गको अधिनायकत्वमा उत्पादक शक्तिको अधिकतम विकास गरिएको हुन्छ । तर नेपालमा पछिल्ला दिनमा झन सामुहिकतालाई खण्डित र निषेधित गर्दै लगिएको छ । शासक बर्ग निकटकाहरुलाई राज्यका विभिन्न निकायमा सहजै अवसरहरु प्राप्त छन् भने सर्बसाधारणलाई रोजगारीको खोजीमा विदेश पलायन हुन बाध्य पारिएको छ । उदाहरणका लागि हाल नेपालमा उद्योग र ब्यवसायमा मन्दी आएका कारण अधिकांश उद्योग, कलकारखाना र ब्यापार बन्द हुँदै गैरहेका छन् । यस्तो अवस्थामा सरकारले उनीहरुलाई विभिन्न किसिमको सुविधा र सहुलियत दिएर जसरी पनि टिकाउने र अगाडि बढाउने नीति लिनुपर्नेमा एकातिर उनीहरुलाई पुराना बक्यौता तिर्न बाध्य पारिँदैछ भने अर्कातिर नयाँ कडा नियम कानून ल्याएर फेरि उठनै नसक्ने अवस्थामा पु¥याइँदै छ । सहकारीहरुलाई बदनाम पार्ने र नयाँ सहकारी ब्यवस्था हुन नदिने कामहरु भैरहेका छन् । सामाजिकभन्दा अत्यन्त निजात्मक चिन्तनको विकास गर्ने÷गराउने प्रयासहरु भैरहेका छन् । पछिल्लो समयमा नेपालमा समानता र सामाजिक न्यायको अवधारणलाई जसरी समाप्त पार्दै लगिएको छ, त्यसले समाजवाद स्थापना हुन दिँदैन । कुनै पनि देशको राजनीति र अर्थतन्त्र अन्तरसम्बन्धित हुन्छन् । त्यसैले हाल नेपालको राजनीतिबाट अर्थतन्त्र र अर्थतन्त्रबाट राजनीतिलाई नियाल्न सकिन्छ । हाल जसरी नेपालको अर्थतन्त्रलाई सामूहिक नभएर एकल र विदेशमुखी बनाउँदै लगिएको छ, त्यसले नेपालमा सहज ढंगले समाजवाद स्थापना हुन नदिने प्रयासहरु भैरहेको स्पष्ट गरेको छ । राष्ट्रिय औद्योगिक अर्थतन्त्रको विकास हुन नदिने खालका प्रयासहरु पनि भैरहेका छन् । देशलाई आत्मनिर्भर नभएर परनिर्भर गराउने प्रयासहरु पनि भैरहेका छन् । आन्तरिक पुँजीको बृहत्तर विकास हुन सकेको छैन र हुने संभावना पनि देखिएको छैन । उद्योग, कलकारखाना र अन्य आर्थिक एकाइहरु राष्ट्रियकरण र सहकारीकरण गर्दै लानुपर्नेमा त्यसको ठीक बिपरितका गतिबिधिहरु भैरहेका छन् । श्रमशक्तिको खरिद बिक्री बढाएर लगिएको छ । जसले गर्दा मजदुर र मालिकबीचको दुरी बढ्दै गएको छ । उत्पादनका साधनहरुको निजीकरणमा जोड दिइएको छ । जसलेगर्दा व्यक्तिगत स्वामित्वको ठाउँमा सामाजिक स्वामित्व स्थापित हुने संभावना क्षिण भएको छ ।

जग्गाको खण्डिकरण बढ्दो छ । देशमा मुख्यत शहरका जग्गाहरु अन्न उत्पादनमा नभएर अन्य प्रयोजनमा प्रयोग हुनथालेका छन् भने ग्रामीण क्षेत्रका जग्गाहरु बाँझो हुने क्रम बढेर गएको छ । नेपालका कम्युनिष्ट पार्टीहरुले देश समाजवाद स्थापनाको बिपरित दिशामा गैरहेको कुरालाई ख्याल गर्न सकिरहेको देखिएको छैन । बर्गसंघर्षको राजनीतिलाई बर्गसमन्वयवादतर्फ लाने, कम्युनिष्ट पार्टीका विश्वब्यापी मूल्य, मान्यता र आदर्शहरुलाई समाप्त गर्ने र नारा मात्रै चर्का–चर्का लगाउने कामहरु भैरहेका छन् । वैज्ञानिक समाजवादमा पुग्नका लागि उत्पादक शक्तिहरुको समुचित विकास गर्नुका साथै उत्पादनको साधनहरुमा जनताको नियन्त्रण र सामूहिक स्वामित्व बढाउँदै लानुपर्ने हुन्छ । तर पछिल्ला दिनमा नेपालमा त्यसको ठीक बिपरितका गतिबिधिहरु भैरहेका छन् । नेपालमा कम्युनिष्ट राजनीति बिरोधीहरु संगठित हुँदै गएको तर कम्युनिष्ट र मुख्यत राजनीतिक रुपले वैज्ञानिक समाजवाद मान्नेहरुका बीचमा फाटो बढ्दै गएको देखिएको छ । सामाजिकरुपमा कलह र फुट नभएर एकता, सद्भाव र मेलमिलापको वातावरण बनाइनुपर्नेमा कलह बढाउने र नेपालीहरुका बीचमा फाटो बढाउने खालका गतिविधिहरु सुनियोजित रुपमा भैरहेका छन् । नेपाली समाजलाई जातीय, क्षेत्रीय र धार्मिक रुपमा बिभाजित गराउन विभिन्न किसिमका प्रपञ्चहरु भैरहेको देखिएको छ । ०४७ को राजनीतिक परिवर्तनबाट सत्ता र शक्तिमा पुग्ना साथ जसरी नेपाली कांग्रेसले आफ्नो प्रजातान्त्रिक समाजवादको नारानै परित्याग ग¥यो, त्यसैगरी नेपाली कांग्रेसको पछिलागेका कतिपय कम्युनिष्ट नामधारी पार्टीहरुले पनि वैज्ञानिक समाजवादको नीति परित्याग गरेको देखिएको छ । त्यसैले आजको अवस्थामा देशको समग्र राजनीतिको लेखाजोखा र आ–आफ्ना घोषित नीतिअनुसारको कार्यशैलीको विकास गर्नुपर्ने देखिएको छ । त्यसैले आजको कम्युनिष्ट पार्टीहरुका बीचको एकताको मुख्य आधार वैज्ञानिक समाजवादलाई बनाउनुपर्ने आवश्यकता छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु