कमरेड माओका महत्वपूर्ण १० शिक्षाहरु

२०८० पुष १२ गते, बिहीबार
सन्तोष सी ( विषम)



सामान्य अर्थमा मान्छे दुई प्रकार हुने गर्दछन् – एउटा सामान्य मान्छे र अर्को असामान्य मान्छे । कमरेड माओ त्यहि असामान्य मान्छे हुन् जो असाध्यै थोरै राम्रा मान्छेभित्र पर्दछन् । टाइम्स पत्रिकाले कमरेड माओलाई विश्वका १०० जना सवभन्दा प्रभावशाली व्यक्तिहरुमा एक जना हुन् भनेर लेखेका छन् । उनै महान व्यक्ति कमरेड माओको १३१औं जन्मदिन अर्थात १३१औं माओ दिवस आज पौष १० गते पर्नआएको छ । यो अवसरमा कमरेड माओप्रति विशेष सम्मान र संझना । कमरेड माओको निधन भएको आज ५४ बर्ष भएको छ । कसैलाई मर्नु उप्रान्त संझनुको अर्थ हो, उनको योगदानलाई संझनु । यो अवसरमा म वहाँका १० महत्वपूर्ण योगदानहरुको स्मरण गरेर संझन चाहान्छु ।
१) सामन्तवादको अन्त:
माओकालिन चीन सामन्तवादले ग्रस्त थियो । अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको विशाल चीन एकातिर साम्राज्यवादीहरुले टुक्राटुक्रा पारेर लुछिरहेका थिए भने अर्कोतिर युद्ध सरदारहरुले चोक्टाचोक्टा गरेर रजाइ गरिरहेका थिए । जनताको अवस्था पशुवत रुपमा गुज्रेको थियो । हामीले सानो हुने बेला सुन्ने गर्दथ्यौं – चीनमा त गोरुको सट्टामा मान्छेलाई जोत्छन् रे । पछि बुझ्दा यो केही हदसम्म सत्य रहेछ । कहीँ मानछेलाई नै जोत्ने, कहीँ गोरुले झैं सामन्त–जमिन्दारहरुले किसान र जनतालाई यसरी नै जोत्ने गर्दथे । यो भनेको निकै जर्जर अवस्था हो ।
यस्तो अवस्थामा सन 1921 मा चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । यो नेपालको जर्जर राणाकालिन अवस्था थियो । नेपालमा पनि उस्तैउस्तै अवस्था थियो । त्यसैले संसारका सामन्त र शासकहरु जहाँका पनि हुन् तिनले गर्ने व्यवहार एउटै हुन्छ । यसका विरुद्ध परिवारबाटै विद्रोहमा उत्रेको कमरेड माओ जीवनभरि अन्याय, अत्याचार र गरिव जनताको पक्षमा लड्नु भयो । एक भूगोल हिसावले विशाल चीन, दोस्रो युद्ध सरदारहरुद्वारा चलिरहेको मुलुक, तेस्रो साम्राज्यवादीहरुले लुछिरहेको मुलुकलाई आन्तरिक रुपमा सामन्त र जमिन्दारी प्रथाबाट मुक्त गर्ने र अर्कोतिरबाट बेलायत, जापान र युरोपियन मुलुकहरुको उपनिवेशबाट मुक्त गर्ने कुरा सामान्य थिएन । यसको नेतृत्व गर्ने र यसलाई सफल पार्ने कुरा पनि चानचुने थिएन । यसमा धेरै चिनियाँ जनताको रगत बग्यो । अन्तिममा यसमा कमरेड माओ नै सफल हुनुभयो ।
सन 1922 मा चिनयिाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य भएका कमरेड माओ 1924 मा उत्तरी अभियानको नेतृत्व गर्नुभएका कमरेड माओ सन 1927 मा कोमिङताङले धोका दिएपछि एकातिर कोमिङताङ प्रतिक्रियावादी र अर्कोतिर छन् तुस्यू जस्ता पार्टीभित्रका दक्षिणपन्थी अवसरवादी र धोकेवाजीहरुसंग लड्नुभयो । 1935देखि जापानी आक्रमणकारीहरुसंग र 1939 देखि अमेरिकी सहयोगमा दमनमा उत्रेको च्याङकाइसेकका विरुद्ध गृहयुद्ध लडेर माओले अन्तिममा सन 1949 मा लामो युद्धद्वारा वाहिय र आन्तरिक दुश्मनहरुलाई परास्त गरी सिङ्गो चीनलाई सामन्तवाद र अर्धउपनिवेशबाट मुक्त गर्नुभयो । यो वहाँको महान कार्य थियो ।
२) जनयुद्धको सिद्धान्त ः
दोस्रो कमरेड माओको महान कार्य जनयुद्धको युद्धसिद्वान्तको विकास थियो । वहाँले अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा त्यहाँका सामन्तवाद र साम्राज्यवादसंग लड्ने सिद्धान्त प्रतिपादन गर्नुभयो । चीन जस्तो ठूलो देश, किसानहरुको बाहुल्य रहेको देश, पहाड र यातायात, सञ्चारको विकास नभइसकेको देश, शिक्षा र चेतनाले पछि परेको जनता, सामन्त, जमिन्दार, युद्ध सरदार र नोकरशाह पुँजीपति वर्गले चलाइरहेको देशमा तिनको वैज्ञानिक वर्ग विश्लेषण गरेर तिनलाई जित्ने युद्ध रणनीतिको विकास गर्नु आफैमा नौलो थियो । छापामार युद्ध, चलायमान युद्ध र मोर्चावद्ध युद्ध, रक्षा, सन्तुलन र प्रत्याक्रमण, छापामार इलाका, आधार इलाका र केन्द्रीयसत्ता कब्जा, गाउँबाट शहर घेर्ने, छापामार सेना, चलायमान सेना र नियमित सेना, गरिव किसान, निम्न मध्यम किसान, मध्यम किसान, धनी किसानलाई साथ लिएर जमिन्दार तथा सामन्तहरुका विरुद्ध लडिने संघर्ष, सर्वहारा वर्ग, सहरी निम्न पुँजीपति वर्ग, बुद्धिजीवी र राष्ट्रिय पुँजीपति वर्ग मिलेर नोकरशाह पुँजीपति वर्गका बिरुद्ध लडिने संघर्ष, सामन्ती अधिनायकत्वको अन्त्य गरेर जनवादी अधिनायकत्व कायम गर्ने राज्यसत्ताको अवधारणा, पुँजीवादबाट समाजवादमा जाने लामो बाटोको विकल्प जनवादी क्रान्तिको बाटोबाट समाजवादमा जाने छोटो बाटो पत्ता लगाउनुभयो । यसको सैन्य रणनीति दीर्घकालीन जनयुद्ध( Peoples war) थियो ।
यसलाई क्रान्तिकारीहरुले क्रान्तिको चिनियाँ मोडेलको रुपमा आत्मसात गरे । यसभन्दा अगाडि अल्पकालीन सशस्त्र विद्रोह(Insurrection)लाई मात्र क्रान्तिको मोडेल ठानिन्थ्यो । यसलाई रसियन मोडेल भन्ने गरिन्थ्यो । नेपालमा एकीकीकृत जनक्रान्तिभन्दा अगाडिका नेताहरुको विचार र मान्यतामा क्रान्तिका केवल दुई मोडेल थिए रसियन मोडेल र चिनियाँ मोडेल । त्यसमध्ये चिनियाँ मोडेलको प्रवर्तक कमरेड माओलाई मानिन्छ भने रसियन मोडेलका प्रवर्तक कमरेड लेनिनलाई मानिन्छ । यस हिसावले पनि कमरेड माओ जनयुद्धका सिद्धान्तका प्रतिपादक हुनुहुन्थ्यो ।
३) तीन विश्वको सिद्धान्त र राष्ट्रिय मुक्ति युद्ध
कमरेड लेनिनले प्रतिस्पर्धात्मक साम्राज्यवादको बेला क्रान्ति सम्पन्न गर्नुभयो । पहिलो विश्वयुद्धकै बीचमा लेनिनले रुसमा क्रान्ति सम्पन्न गर्नुभयो । यसको एउटा अनुकुलता बाहिय शक्तिकेन्द्रहरु आपसमा लड्नु र कमजोर हुनु हो । अर्थात प्रतिस्पर्धात्मक साम्राज्यवादीहरुको आपसी भीषण युद्धमा होमिएर जार शाही कमजोर भएको बेला लेनिनले रुसमा क्रान्ति सम्पन्न गर्नुभयो । कमरेड माओले विश्वका साम्राज्यवादीहरु फेरी दोस्रो पटक विश्वयुद्धमा होमिएको बेला क्रान्ति सम्पन्न गर्नुभयो । यो बेला पनि साम्राज्यवादीहरु आपसमा लडेर कमजोर बनेको विश्वको अवस्था थियो । यी दुई विश्व युद्ध र क्रान्तिहरुले पहिलो क्रान्तिको लागि अन्तराष्ट्रिय परिस्थिति क्रान्ति अनुकुल बन्नु पर्दोरहेछ भन्ने कुरा उजागर गरेको छ । दोस्रो साम्राज्यवादी कालमा सर्वहारा क्रान्तिको एउटा पाटो राष्ट्रिय मुक्तियुद्ध बन्न आउँदो रहेछ भन्ने कुरा पुष्टि गरेको छ । तेस्रो यी राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको सहि विश्लेषण र अन्तरविरोधहरुको सहि ढंगले परिचालन गर्ने लिडरशीपको आवश्यकता हुँदो रहेछ भन्ने यसबाट प्राप्त शिक्षा हो । पेरिसको मजदुर विद्रोहदेखि रुस, चीन, भियतनाम, क्युवा, कोरिया, पेरु, कोलम्बिया, नेपाल लगायतका सफल र असफल क्रान्तिहरु हेर्दा हरेक क्रान्तिले मध्यकालदेखि साम्राज्यवादको सामना गर्नुपरेको देखिन्छ र साम्राज्यवादी शक्तिहरु मिलेर क्रान्ति दबाएको वा सफल भएका क्रान्तिहरुको पनि घेराबन्दी गर्ने, असफल बनाउने षड्यन्त्र गर्ने गरेको इतिहास छ ।
उपर्युक्त सन्दर्भमा कमरेड माओले प्रतिस्पर्धात्मक साम्राज्यवाद एकाधिकारवादमा गएको र अवको विश्व ३ खेमामा विभक्त भएको निस्कर्ष निकाल्नु भयो । पहिलो विश्व एकाधिकारवादी साम्राज्यावाद, दोस्रो विश्व अन्य विकसित पुँजीवादी–दोस्रो दर्जाका साम्राज्यवादी मुलुकहरु र तेस्रो विश्व भनेर अविकसित पछौटे मुलुकहरु भनेर विश्लेषण गर्नु भयो र विश्वको प्रधान अन्तरविरोध अव साम्राज्यवाद र तेस्रो मुलुकहरु र त्यहाँका जनतासंग रहेको विश्लेषण गर्नु भयो । यो भनेको राष्ट्रिय मुक्तियुद्ध र आन्दोलनहरु थिए । यसभन्दा अगाडि लेनिनले विश्व पुँजीवाद अर्थात साम्राज्यावाद र सर्वहारा वर्ग बीचको अन्तरविरोध प्रधान भएको संश्लेषण गर्नु भएको थियो । यो बेला पुँजीवादी देशहरु विश्व कब्जा गर्ने अभियानमा प्रतिस्पर्धा गर्दै थिए ।
४) संयुक्त मोर्चा
कमरेड माओले संयुक्त मोर्चाको प्रारंभिक शिक्षा आफ्नो परिवारबाट सिक्नुभयो । माओका आफ्नै भनाइमा माओ परिवारमा बुवा, आमा र आफू गरी तीन पार्टी थिए । बुवा सामन्ती विचारका, आमा धार्मिक र दयालु स्वभावका आफू क्रान्तिकारी बिचारका । यी तीन विचारका बीचमा बुवाको गलत विचारका विरुद्ध माओ र आमाको मोर्चा बन्थ्यो र बुवालाई अल्मतमा पार्नुहुन्थ्यो । यो वहाँकै भनाइ हो । यो शिक्षालाई पछि समाज र राजनीतिमा प्रयोग गर्नुभयो किन कि परिवार भनेको समाज र राजनीतिको सानो इकाई हो ।
वहाँले संयुक्त मोर्चाको सिद्धान्तमा विकसित गर्दै क्रान्तिकालमा जापानी साम्राज्यादीहरुको आक्रमणका विरुद्ध च्याङ काइ सेकसंग संयुक्त मोर्चा बनाई जापानीहरुलाई परास्त गर्नुभयो । यो अवधारणाको विकास संयुक्त मोर्चा सम्बन्धि नयाँ सिद्धान्त थियो । यहि सिद्धान्त पार्टीभित्र पनि क्रान्तिकारी प्रबृत्ति, दक्षिणपन्थी प्रवृत्ति र मध्यपन्थी प्रवृत्तिको कितान गरी मध्यपन्थी प्रवृत्तिलाई क्रान्तिकारी मोर्चामा लिएर दक्षिणपन्थी प्रवृत्तिमाथि हावी हुने नीति पार्टीभित्रको मोर्चाको रुप थियो । लिउसाओ ची, देङस्याओपिङ, लगायतका दक्षिणपन्थी प्रवृत्तिका विरुद्ध कहिले ह्वाकोफेङलाई त कहिले लिनपियाओलाई मिलाएर पार्टीलाई सधैं सन्तुलनमा राख्ने र क्रान्तिकारी विचार लागु गर्ने, गरिरहनु भयो । अमेरिकी सहयोग र गठबन्धनमा जनमुक्तिसेनासंग लडिरहेको च्याङकाइसेको सेना र अमेरिकालाई धपाउन उत्तरी चीनमा माओले स्टालिनसंग संयुक्त मोर्चा गरेर रुसी लालसेना र चिनियाँ जनमुक्ति सेना परिचालन गरेर एकातिर उत्तरी चीनलाई युरोपियन साम्राज्यवादी अपनिवेशबाट मुक्त गर्नुभयो भने अर्कोतर्फ अमेरिकीहरुलाई पनि चीनको भूमिबाट धपाउन माओ सफल हुनुभयो ।

यो वहाँको अन्तराष्ट्रिय संयुक्त मार्चा सम्बन्धि विकसित युद्धकला र कुटनीतिककला थियो । कमरेड माओले यसबाट एउटा निष्कर्ष निकाल्नुभयो — समाज वा राजनीति वा विचार–प्रवृत्ति जहिले पनि तीन खेमामाा विभक्त हुन्छ । एउटा क्रान्तिकारी वा परिवर्तनकारी शक्ति, दोस्रो ठिक यसको विपरित प्रतिक्रियावादी शक्ति र तेस्रो बीचको मध्यमार्गी तप्का । यी तीन खेमालाई माओले क्रान्तिकारी शक्ति २० प्रतिशतको संख्यामा, प्रतिक्रियावादी १० प्रतिशतको संख्यामा हुन्छ । बाँकी अत्यधिक ठूलो शक्ति ७० प्रतिशत बीचमा बसेको हुन्छ । त्यसलाई जसले तान्न सक्यो उसैले जित्छ, भन्नुभएको छ । यसको अर्थ हो प्रतिक्रियावादीहरु मुठ्ठीभर हुन्छन् । तिनीहरुभन्दा प्रगतिशील वा परिवर्तनकारी शक्ति अलि बढी हुन्छन् तर यी दुईभन्दा अत्यधिक संख्या जहिले पनि बीचमा बसेको हुन्छ । यो अवस्थामा क्रान्तिकारीहरुले मुख्य दुश्मनलाई एक्लो बनाउन बीचको मध्यमार्गी, अवसरवादी जो मौका हेरेर बसेको हुन्छ, यसलाई आफूतिर तान्न सकेमा मात्र क्रान्ति जित्न सकिन्छ । यो संयुक्त मोर्चा सम्बन्धि क. माओबाट सिक्नु पर्ने महत्वपूर्ण पक्ष हो ।
५) महान सर्वहारा साँस्कृृतिक क्रान्ति
1871 को पेरिसमा भएको मजदुर विद्रोहपछि गठन भएको पेरिस कम्युन विद्रोहपछि ७२ दिन मात्र टिक्यो । 1917 मा रुसमा भएको महान अक्टोबर क्रान्तिपछि कमरेड माओले महान सर्वहारा साँस्कृतिक क्रान्तिको अवधारणा विकास गर्नु भयो । सन 1966 – 1976 सम्म एक दशक चलाइएको यो अभियान निरन्तर क्रान्तिको सुरुवात थियो । यद्यपि यसलाई पूर्णता नदिदै क. माओको निधन भयो । यो एउटा दुखद घटना बन्न पुग्यो । यसलाई एउटा पंक्तिले “अनावश्यक” भनेर विरोध गरे तर यो जायज र आवश्यक थियो । उनीहरु माओको आलोचना गर्दा यसलाई माओको “सवभन्दा ठूलो गल्ती” भन्ने गर्दछन् । पछिल्लो चिनियाँ शासकहरुले यो साँस्कृतिक काललाई “अँध्यारो काल” पनि भन्दा रहेछन् । असल कम्युनिस्टहरुको दृष्टिमा यो अभियान प्रतिक्रान्ति रोक्ने र कम्युनिस्ट पार्टी र कम्युनिस्ट सत्तामा देखा परेका पुँजीवादी विकृति–विसंगति रोक्ने एउटा राजनीतिक अभियान थियो । यो अभियानमा पुँजीवादी र दक्षिणपन्थीको योजनाबद्ध घुसपैठबाट साँस्कृतिक क्रान्तिका नीति विपरित उत्सृङ्खल कार्यहरु गर्ने, अनावश्यक मठ–मन्दिरहरु भत्काउने, तोडफोड गर्ने कामहरु गरे जुन साँस्कृतिक क्रान्तिको नीति विपरित थियो । यो महान कार्य पूरा नहुँदै कमरेड माओको निधन भयो । परिणाम सत्ता दक्षिणपन्थी समुहको हातमा पर्न गयो र यो अभिानका नेतृत्वहरुलाई जेल कोचियो र यो महान कार्यले सफलतासम्म पुग्न पाएन । यो नै आजसम्म आलोचनाको विषय बन्दै आएको छ । बास्तवमा यो प्रतिक्रान्ति रोक्ने निरन्तर क्रान्तिको सिद्धान्त थियो । यो सिद्धान्तको प्रतिपादक कमरेड माओ हुनुहुन्थ्यो ।
यस बाहेक वहाँले क्रान्तिकालमै बाहिय संघर्षका साथै पार्टीभित्र पनि १० ठूला दुईलाइन संघर्ष चलाउनु भयो । छनतुस्यु, चुचुपाइ, वाङ्मिङ, लीलीसान, चाङकोथाओ, ल्यूसाओची, लिनपियाओका विरुद्ध माओले भीषण दुई लाइन संघर्ष गरेर मात्र माओले बाहिरी र भित्री दुश्मनहरुलाई पराजित गर्नुभयो ।
६) माक्र्सवाद–लेनिनवादको रक्षा र विश्व कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी ध्रुवीकरण
शोभियत संघमा 1953 मा कमरेड स्टालिनको निधनपछि निकिता ख्रुश्चोभ नेतृत्वमा आए । उनले संशोधनवादी नीति लिए । पहिलो पटक शान्तिपूर्ण संक्रमण, खुला प्रतिस्पर्धा र उदारीकरणको नीति लिएपछि शोभियत संघमा पुराना लेनिन र स्टालिनकालीन मान्यताहरु उल्टिए । यसले शोभियत संघलाई पतन गराउन ढोका खुला गरे । यसपछिको पाचौं नेतृत्व गोर्भाचोवको पालामा आएर शोभियत संघको पूर्ण रुपले विघटन गरियो । यसरी ख्रुश्चेभको उदयपछि विश्व कम्युनिस्ट आन्दोलनमा खुला संशोधनवादी धार देखा प¥यो । यसको कमरेड माओले खुलेर विरोध गर्नु भयो । कमरेड माओले महावहस चलाउनु भयो र विश्व कम्युनिस्ट आन्दोलनमा अर्को क्रान्तिकारी धार स्थापना गर्नुभयो । यो बहसले एकातिर खुला संशोधनवादी धारलाई उजागर ग¥यो भने अर्कोतिर आन्दोलनमा लुकेर ठूलठूला क्षति पु¥याउँदै आएको संशोधनवादी धारलाई आन्दोलनबाट झिकेर खुला बजारमा मिल्काइदिनु भयो । यसले अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा चलेको महान बहस (जुन पहिलो पटक चलेको अन्तराष्ट्रिय वहस थियो)ले क्रान्तिकारीहरु ध्रुवीकरण सुरु ग¥यो । यो कमरेड माओको महान देन थियो ।
७) चिनियाँ जनताका महान नेता (राजनीतिक, आर्थिक र साँस्कृतिक क्रान्ति)
कमरेड माओ चिनियाँ जनताका प्यारो नेता हुनुहुन्थ्यो । गएगुज्रेको चीनलाई आधुनिक चीन बनाउनेमा कमरेड माओको ठूलो देन छ । कुनै बेलाको साम्राज्यवादी उपनिवेशमा पिल्सिएको चीन र चिनियाँ जनता आज संसार हल्लाउने र विश्व चकित पार्ने चीन र चिनियाँ जनतामा फेरिएकाछन् । यसको कारण नै माओले चीन देश र चिनियाँ जनताका रोग÷पीलो निचोरेर फालिदिएको कारणले हो । त्यसैले कमरेड माओलाई चिनियाँ जनता अहिले पनि ठूलो सम्मान गर्छन् । चिनियाँ समाजलाई जर्जर सामन्तवादको उत्पीडनबाट मुक्त गर्न कमरेड माओलाई लामो लडाई लड्नु प¥यो । चिनियाँ कम्युनिस्ट पार्टी र कमरेड माओको नेतृत्वमा स्थानीय युद्ध सरदार, जमिन्दारहरु र युरोपियन साम्राज्यवादी उपनिवेशबाट मुक्त गर्न कोमिङताङ र कम्युनिस्ट मिलेर सन 1924 बाट सुरु गरेको उत्तरी अभियानको नेतृत्व स्वयं कमरेड माओले गर्नु भयो । यसपछि पार्टी महासचिव छनतुस्युको गलत लाइन र कोमिङताङ पार्टीमा सनयात्सेनको निधनपछि कोमिङ्ताङ पार्टीको नेतृत्वमा आएको च्याङकाइसेकले कम्युनिस्टसंगको संझौता उलङ्घन गरेर हजारौं कम्युनिस्टहरुको हत्या गरेपछि उत्तरी अभियान स्थगित गरेर कमरेड माओले अर्कै विचार लाइन प्रस्तुत गर्नुभयो तर त्यो बेला नेतृत्वमा रहेका पार्टीका नेतृत्वले नमानेपछि पार्टीमा ठूलठूला क्षतिहरु भए । पछि कमरेड माओको लाइन स्थापित हुँदै गयो र एक पछि अर्को लडाई र अभियानहरु छेड्दै कमरेड माओले कहिले बाहिय अतिक्रमणकारीहरु त कहिले पार्टीभित्रका दक्षिपन्थी र उग्रवामपन्थी लाइनसंग, कहिले चाङकोथाओको आत्मसमर्पणवादी लाइनका विरुद्ध जुधेर दोस्रो विश्वयुद्धका बीचमा चिनियाँ क्रान्तिलाई सुदृढ गरेर पुरानो चीनलाई नयाँ चीनमा बदल्नुभयो र चिनियाँ जनतालाई साम्राज्यवाद र देशीय सामन्तवाद तथा स्थानीय जमिन्दार र युद्ध सरदारहरुको उत्पीडनबाट मुक्त गर्नुभयो र चिनियाँ जनताका प्रिय नेता बन्नुभयो ।
८) विश्व सर्वहारा वर्गका प्रनेता (माओवादका प्रवर्तक)
कमरेड माओ केवल आफ्नो देशको जनताका मात्र प्यारो नेता भएनन् उनी विश्व सर्वहारा वर्गका पनि नेता बन्नुभयो । शोभियत संघको पतनपछि विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व कमरेड माओको काँधमा आयो । कमरेड माओले आफ्नो नेतृत्वकालमा शोभियतसंघका महान नेता कमरेड स्टालिनसंग सहकार्य गर्नुभयो । सुरुसुरुमा वहाँहरु दुई जना बीच केही चिन्तन र कार्यशैली नमिलेर केही समय वहाँहरु बीच निकै उच्च स्तरीय बहस भयो । पछि कमरेड माओको विचारसंग कमरेड स्टालिन सहमत हुनुभयो । सहमत मात्र हुनुभएन कमीकमजोरी पनि महसुस गर्नुभयो र आत्मालोचित हुनुभयो । यसपछि वहाँहरु बीचको सहकार्यले एकातिर चीनको समाजावादी सत्तामा महत्वपूर्ण सहयोग र योगदान पुग्यो भने अर्कोतिर विश्व कम्युनिस्ट आन्दोलनले सहि धार पकड्न सफल भयो । तर स्टालिनको छिट्टै भएको निधनले भने चिनियाँ क्रान्ति र माओलाई ठूलो क्षति पुग्न गयो । स्टालिन कालपछि माओकाल सुरु हुन्छ । माओकालसम्म विश्व कम्युनिस्ट आन्दोलन एउटा उभारमा आएको थियो । यसै समयमा क्युवा, कोरिया, भियतनाम, कम्वोडिया, लाओस, भारत, फिलिपिन्स, इन्डोनेशिया, चिली लगायतका देशहरुमा क्रान्तिको उभार आयो । केहीमा सफल भए केही असफल भए । यी सफल असफल क्रान्तिहरुमा कमरेड माओको महत्वपूर्ण सहयोगी भूमिका रहेको थियो ।
जव कमरेड माओको निधन भयो त्यसपछि अहिलेसम्म कहिँ पनि क्रान्तिहरु सफल हुन सकिरहेका छैनन् । एक प्रकारले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्न पुगेको छ । यी कारणहरुले कमरेड माओ चर्चाको शिखरमा हुनुभयो । क्रान्तिकारी कम्युनिस्टहरुले कमरेड माओका विचारलाई माक्र्सवाद–लेनिनवाद पछिको विकसित माक्र्सवादी सिद्धान्तको रुपमा ग्रहण गरेर माओवादको रुपमा मान्दै आएकाछन् । यतिवेला क्रान्तिकारीहरुले माक्र्सवादलाई मालेमावादको रुपमा स्वीकार गर्नुको सार नै कमरेड माओ विश्व सर्वहारा वर्गका एक महान गुरु (नेता) हुनुहुन्थ्यो ।
९) क्रान्तिको पुनराबृत्ति हुँदैन
यतिबेला नेपालमा दर्जन कम्युनिस्ट समुहहरु छन् । ती मध्ये एकथरि माओवादका पक्षधर छन् र दोस्रो थरि माक्र्सवाद – लेनिनवाद मात्र मान्ने तर माओवाद नसकार्ने कम्युनिस्ट समुहहरु छन् । माओवाद नसकार्ने कम्युनिस्टहरु खु्रश्चोभी शान्तिपूर्ण संक्रमण र खुला तथा उदारीकरणका समर्थक हुन् । माओका विचार मान्नेहरुमा पनि एकथरी माओविचारधारा भन्नेहरु छन् । उनीहरु माओवाद स्वीकार गर्दैनन् । यी जदसूत्रवादी कम्युनिस्ट हुन् ।
कम्युनिस्ट आन्दोलनमा जड्सूत्रवादले गुँड जमाएको छ । माक्र्सवादी सिद्धान्त प्रतिपादन भएपछि माक्र्सवादलाई मात्र विश्वास गर्ने तर लेनिनवाद सकार्न धौ माने । लेनिनवादको विकासपछि एकथरि फेरी माक्र्सवाद–लेनिनवादमै गुँड जमाएर बसे । उनीहरु माओवाद सकारेनन् । माओलाई मान्नेहरुमा पनि एकथरि माओकालीन विचारधारामा गुँड जमाएर बसे । त्योभन्दा बाहिर निस्कनै सकेनन् । अहिले माओवादलाई मान्नेहरु पनि माओवादमा गुँड जमाउन थालेकाछन् र सिद्धान्तको विकास गर्ने प्रक्रियाको विरोध गर्छन् । यसरी प्रत्येक स्टेपमा, कदम कदममा आएर गुँड जमाउने, प्रत्येक चोक र चौतारामा बसेपछि त्योभन्दा एक कदम अगाडि बढ्नै नचाहने चिन्तन नै जड्सूत्रवाद हो, रुढीवाद हो जसले माक्र्सवादलाई एउटा धर्मभन्दा माथि सोच्दैनन् । माक्र्सवादको विकास हुन्छ वा यसको विकास गर्नु पर्छ भन्ने गतिशील विचारलाई विर्सन्छन् र धार्मिक पथ पछ्याउँछन् । यो प्रवृत्तिले कम्युनिस्ट सिद्धान्त पछि परेको छ । कम्युनिस्ट आन्दोलनले अपेक्षित विकास गर्न नसक्नुको एउटा प्रमुख कारण यहि हो । जसका कारण पुँजीवादको आयु लम्बिरहेको छ ।
अतः हामी कम्युनिस्टहरुले पहिलो त कमरेड माओबाट सिक्नु पर्छ । कमरेड माओले पुरानै पथ पछ्याएको भए चीनमा क्रान्ति नै हुँदैनथ्यो । वहाँको नयाँपन भनेको माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा माओवादी सिद्धान्तको विकास गर्नुमा रहेको छ । अर्थात पुरानो तरिकाले वा नक्कल गरेर क्रान्ति सफल हुँदैन भन्ने कुराको सफल प्रयोग वहाँले गर्नुभयो । दोस्रो हाम्रा अघिल्ला पुस्ताका कम्युनिस्ट नेताहरुबाट सिक्नु पर्छ । हाम्रा अघिल्ला पुस्ताका अग्रजहरुले कम्युनिस्ट शिक्षाको राम्रो प्रचार गरे तर वहाँहरुले एक संकीर्णताको राजनीति गरे । दोस्रो जड्सूत्रवाद प्रयोग गरे । यो वहाँहरुले गरेको कमजोरीबाट शिक्षा लिनुपर्छ । हाम्रो आन्दोलनको शिक्षा हो । तेस्रो १० बर्षको जनयुद्धको असफलताको शिक्षा पनि ज्यादै महत्वपूर्ण छ । यो पनि विकासको नयाँ सिद्धान्तलाई पकड्न नसक्नुको एउटा कारण हो । एकीकृत जनक्रान्तिको कार्यदिशा तय गर्नुको पछाडि नेपाल कम्युनिस्ट पार्टीलाई कमरेड माओ, हाम्रा अघिल्ला पुस्ताका अग्रजहरु, प्रचण्डको आत्मसमर्पण र वैज्ञानिक हकिङको भौतिक विज्ञानमा गरेको पछिल्लो संश्लेषण आदिको फिडब्याक महत्वपूर्ण शिक्षा बनेका छन् । यिनमा पनि कमरेड माओकै संश्लेषण मुख्य रहेको छ ।
१०) नयाँ जनवादी क्रान्ति विश्वक्रान्तिको एउटा मोडेल
नयाँ जनवादी क्रान्ति अहिलेसम्मका क्रान्तिहरुमा एउटा मोडेल हो जसलाई चिनियाँ मोडेल भनिन्छ । हामीलाई हाम्रा अग्रजहरुले क्रान्तिमा प्रेरित गर्दा यहि भन्ने गर्नु हुन्थ्यो कि संसारमा अहिलेसम्म क्रान्तिका दुई मोडेल छन् — पहिलो रसियन मोडेल र दोस्रो चिनियाँ मोडेल । रसियन मोडेललाई विद्रोहको मोडेल भनिदै आएको छ र चिनियाँ मोडेललाई दीर्घकालिन जनयुद्ध अर्थात संक्षिप्तमा जनयुद्ध भनिदै आएको छ । यी दुई मोडेल बारे हामीलाई कण्ठष्ट बनाइयो तर नयाँ मोडेलको बारेमा पढाइएन । जतिखेर पनि ‘नेपालको धेरै कुराहरु चीनसंग मिल्ने भएकोले नेपालमा चिनियाँ मोडेलको क्रान्ति गर्नुपर्छ’ भनेर प्रशिक्षित र दिक्षित बनाइदै आयो । त्यहि विचार, मानसिकताले हामीले पनि जीवनको ठूलो हिस्सा यसैमा खर्चियौं । १० बर्षको जनयुद्धमा हाम फाल्यौं र लड्यौं पनि । अहिले ती नेतृत्वहरुबाट धोका पाएपछि हामी आफैले नयाँ क्रान्तिको अनसन्धान गर्नु पर्ने ठाउँमा आएपछि यो शिक्षाको महत्व बारे बुझियो र यो जगमा उभिएर हेर्दा हिजो हामी अलिअलि जड, अलिअलि आदर्श र अलिअलि नयाँपनका विचारले तान्दै यहाँसम्म ल्याएको महसुस भएको छ । अहिले यो कुरा राम्रोसंग बुझियो कि हामी पनि विगतमा जड्सूत्रको शिकार हुँदै आएछौं । त्यो कमीहरुलाई औंल्याउँदै आज हामी नेपालमा नयाँ ढंगको क्रान्ति गर्ने माओको तरिकालाई नयाँ ढंगले सोच्यौं र जनयुद्धको शिक्षासहित आज एकीकृत सिद्धान्तको प्रयोग गर्ने नयाँ ठाउँमा उभिएका छौं । यो देन पनि मुख्यतः कमरेड माओकै सिद्धान्तमा आधारित छ ।
अन्तमा फेरी एक पटक कमरेड माओको जन्मदिनको अवसरमा सबै कम्युनिस्टहरुलाई कमरेड माओको नयाँ क्रान्तिको सिद्धान्तलाई एक पटक सबैले अंगीकार गरौं । अमेरिकी साम्राज्यवादको आगमन र कम्युनिस्टहरुका विरुद्ध नयाँ ढंगले आएको साम्राज्यवादी रणनीतिका विरुद्ध कमरेड माओले प्रयोग गर्नुभएको संयुक्त मोर्चाको अवधारणालाई हाम्रो आफ्नै सापेक्षता र आजको आवश्यकतामा अंगिकार र प्रयोग गर्दै, कम्युनिस्टहरुको एकता र रणनीतिक वा कार्यनीतिक संयुक्त मोर्चा बनाएर हाम्रो आन्तरिक र बाहिय दुश्मनका विरुद्ध लडौं । कमरेड माओले अर्धसामन्ती र अर्धऔपनिवेशिक चीनलाई जसरी मुक्त गर्नु भयो, त्यसरी नै हामीले पनि दलाल पुँजीवादी तथा नवऔपनिवेशिक अवस्थामा छटपटाइरहेको मुलुक नेपाललाई एक स्वाधीन मुलुकमा बदल्न र दोस्रो दलाल पुँजीवादी व्यवस्थाले आक्रान्त नेपाली जनतालाई नेपाली विशेषताको समाजवादी व्यवस्थाद्वारा उद्दार गर्न सम्पूर्ण कम्युनिस्टहरु, लोकतान्त्रिक उगणतन्त्रवादीहरु, प्रगतिशील मध्यम वर्ग, बामपन्थी शक्तिहरु, देशभक्त शक्तिहरु एक ठाउँमा उभिऊँ । किन कि राष्ट्रिय स्वाधीनता र जनतन्त्रको समस्या नै आजको नेपाल र नेपालीहरुको विकास र समृद्धिको बाधक हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु