‘नेपालको कला संस्कृति सामन्तवाद र साम्राज्यवादी अर्थव्यवस्थाको चपेटामा परेको छ’

२०८० कार्तिक १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको कला संस्कृति सामन्तवाद र साम्राज्यवादी अर्थव्यवस्थाको चपेटामा परेको ठोकुवा गरेका छन् । शुक्रबार प्रवक्ता प्रकाण्ड सीद्वारा रचित जनवादी गीत ‘साम्यवाद’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले आपूmले रचना गरेको जनवादी गीत ‘साम्यवाद’को रचनाको पृष्ठभूमि सुनाउँदै जनवादी कला संस्कृति जनताको आवाज भएको बताए । उनले जनवादी कला संस्कृतिले अन्याय, अत्याचार र बेथितीको उजागर गरे तापनि यसलाई निमिट्यान्न पार्न र यसको लोकप्रियता खस्काउन, जनताको आवाज मुखरित गर्न नदिन नेपालको बिद्यमान सामन्तवादी र साम्राज्यवादी अर्थव्यवस्था लागि परेको बताउँदै भने– ‘विगतमा जनवादी प्रगतिशील गीत भनेर जनतामाझ पस्किए तापनि अब यसलाई समाजवादी–साम्यवादी संगीत भन्नुपर्ने बेला आएको छ ।’

प्रवक्ता प्रकाण्ड सीले आफ्नो गीत संगीतमा लगाव जनयुद्धकालदेखि नै भए तापनि प्रतिकुल परिस्थितिका कारण यसलाई बाहिर उजागर गर्न नसकेको बताउँदै भने– ‘गीत लेख्ने सोचाइ जनयुद्ध कालमा पनि मेरो मानस्पटलमा थियो । आज आएर यो सोच पुरा गर्न सहयोग गरिदिएकोमा गायक, गीतकार संगीतकार चिरन पुनलगायत गीतसँग अनुबन्धित सबै कलाकारहरुको खुलेर प्रशंसा गरे ।’

उनले नेपालमा राणा, पंचायतलाई पराजित गर्ने होस् या प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होस् २०४६ सालपछि भएका विभिन्न परिवर्तनकारी आन्दोलनका साथै जनयुद्ध जनान्दोलनमा पनि जनवादी, प्रगतिशील गीत संगीतले जनताको चेतनालाई उजागर गरेका कारण आजको परिवर्तन सम्भव भएको बताए ।

उनले भने– ‘पार्टीको नवौँ महाधिवेशनमा मेरो दिमागमा आएको गीत महाधिवेशनको चापले पूर्ण रुप दिन सकिएन । पछि चुनाव बहिस्कारको बेलालाई सदुपयोग गर्दै मलगायत साम्यवादसँग अनुबन्धित कलाकारहरुको अथाह मेहनतले आज सार्वजनिक गर्ने अबस्थामा पुग्यौँ । पूर्ण समर्पित भावले कलाकारहरुले गीतप्रति देखाएको आफ्नोपनले आज गीतले यो स्तर पाएको छ ।’

उनले यो सार्वजनिकीकरणलाई परम्परागत गर्न नखोजेको भन्दै यस्ता कार्यक्रमले जनयुद्धलगायत विभिन्न सांस्कृतिक आन्दोलनका कलाकारहसँग एकाकार अनि समीक्षा गर्नका लागि पनि महत्वपूर्ण हुने भएकाले जरुरी भएको र आयोजना गरिएको बताए ।

प्रवक्ता प्रकाण्ड सीले कला संस्कृति र साङ्गीतिक क्षेत्र भनेको सांस्कृतिक क्रान्तिको क्षेत्र पनि भएकाले नेपालको कला संस्कृति माथि हुने सबैखाले हस्ताक्षेपलाई सबै मिलेर निमिट्यान्न पार्नुपर्ने बताउँदै भने– ‘नेपाली संस्कृतिलाई जनताको संस्कृति बनाउन सकिएन, अहिले पनि नेपालको कला संस्कृति सामन्तवाद साम्राज्यवादीहरुको कब्जामा छ, यसलाई सांस्कृतिक रुपान्तरणसहित उनीहरुको चंगुलबाट मुक्त बनाउनु पर्छ ।’

प्रवक्ता प्रकाण्ड सीले नेपालमा विकास भएको पुँजीवादी संस्कृति र पछिल्लो राजनीतिक घटनासँग सम्बन्धित रहेर कुरा राख्दै देशमा जनताले आन्दोलन गर्दै आए पनि मुक्ति प्राप्त गर्न नसकेको बताए । उनले कला, संस्कृति राजनीति र अर्थव्यवस्थाको ऐना भएकाले दालाल पुँजीवादी संसदीय व्यवस्था माथि धावा बोल्दै समाजवादी कला, संस्कृतिले समाज रुपान्तरणका लागि मिसाइलको प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिँदै भने– ‘नेपाल अहिले दलाल पुँजीवादी संस्कृतिको चपेटामा छ, यस्तो संस्कृतिको अन्त्य नगरिएसम्म नेपालको मुक्ति सम्भव छैन । अहिलेको राज्यव्यवस्था राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक तवरले तनावग्रस्त छ । यो सब दलाल पुँजीवादी व्यवस्थाको उपज हो, यसको अन्त्य समाजवाद, साम्यवादबाट मात्र सम्भव । नेपाललाई दलाल पुँजीवादको सङ्कटबाट मुक्त गर्न नयाँ कार्यक्रमको जरुरी छ, त्यो भनेको समाजवाद हो । अहिलेका दलाल पुँजीवादी व्यवस्थाले सिर्जना गरेको सङ्कट जनताको नेतृत्व र समाजवादी कार्यक्रमबाट हल गर्नु पर्छ ।’

प्रवक्ता प्रकाण्ड सीले अगाडि भने– ‘हाम्रो देशको प्रगतिको बाधक भनेको दलाल पुँजीवाद र साम्राज्यवाद हो यसलाई समाजवादी कार्यक्रमबाट हल अपरिहार्य छ । यसका लागि विशेष गरी क्रान्तिकारी कम्युनिस्ट देशभक्त प्रगतिशीलहरुले एकाकार भएर आन्दोलनको नेतृत्व लियौँ भने हामी निकट भविष्यमा नै समाजवाद र समाजवादी संस्कृतिको स्वर्णिम बगैचामा हुनेछौँ ।

उक्त जनवादी गीत साम्यवाद लोकार्पण समारोहमा समीक्षात्मक मन्तव्य राख्दै चर्चित जनवादी गीत ‘गाउँ–गाउँबाट उठ बस्ती–बस्तीबाट उठ’ का गायक श्याम तमोटले जनवादी गीत संगीतको इतिहास स्मरण गर्दै जनताको पक्षमा गीत सङ्गितको यो स्वरुप आउनुमा २०२४ मा भएको राल्फा आन्दोलन महत्वपूर्ण रहेको बताउँदै भने– ‘गीतको शब्द र शीर्षक स्वयम् साम्यवाद भएको हुनाले यो जनताको गीत हो । माक्र्सले समाज विकासको उन्नतस्वरुप भनेको साम्यवाद भएको बताएका थिए । त्यही नाममा गीत आउनु र साम्यवादी कार्यक्रम समेटिएकोले यो सफल छ । यसले साम्यवादी विचारलाई उजागर गरेको छ । सांस्कृतिक क्षेत्रलाई मजबुत बनाइएन भने राजनीतिक विचलनता आउँछ । गीतले भनेअनुसार साम्यवादको जित सुनिश्चित छ पुँजीवादको हार अनिवार्य छ ।’

त्यस्तै अर्का जनवादी प्रगतिशील गीतकार तथा प्रतिनिधिसभा सदस्य पूर्ण घर्ती (आयाम) ले समीक्षात्मक टिप्पणी गर्दै भने– ‘समाजवाद आउन पुँजीवाद आउनुपर्छ । हाम्रो समाज सामन्तवादबाट पुँजीवादतर्फ जाने बाटोमा सकेको छैन । साम्यवाद रणनीतिक कुरा हो, जुन गीतमा व्यक्त भएको छ यसको खास अर्थ छ । साहित्य कला सिर्जनाहरु समाज रुपान्तरणमा महत्वपूर्ण अङ्ग हुन् । कला सिर्जनाहरु पनि वर्गसंघर्षहरुबाट प्रभाबित र सिर्जित हुन्छ । समाजको राजनीति र अर्थतन्त्रले पनि गीत सङ्गीतलाई प्रभाबित पारेको हुन्छ । यसको प्रभाव नेपाली कलासंस्कृतिमा छ, त्यसलाई यो साम्यवाद नामक गीतले तोड्छ ।

यसैगरी, सोही कार्यक्रममा बोल्दै जनवादी गायिका तथा नेपाल नाट्य प्रतिष्ठानकी सदस्य साचिव तथा गीतकी गायिका प्रगति महराले समीक्षा तथा अनुभूति मन्तव्य राख्दै आपूm जनवादी गीत सङ्गीतको क्षेत्रमा १२ सालदेखि निरन्तर रहेको बताउँदै प्रगतिशील गीतहरु समाजका यथार्थ चित्र भएको टिप्पणी गरिन् । उनले भनिन्– ‘प्रगतिशील गीतहरु समाजका यथार्थ चित्र हुन्छन । तर, विभिन्न सांस्कृतिक पर्वमा ओझेलमा पारिएका छन् । विकृतिजन्य गीतहरु खुलेयाम प्रमोसन गरिन्छन । जनताको गीतले स्थान पाउँदैन । यसलाई यी र यस्तै सिर्जनाहरुले चिर्दै जाने विश्वास व्यक्त गरिन् ।

चिरन पुनः नामक अफिसियल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको ‘साम्यवाद’ नामक जनवादी गीतमा जनवादी गायक, सर्जक, संगीतकार, राजनीतिज्ञ चिरन सीको संगीत, प्रकाण्ड सीको रचना र रमन थामी, कर्ण बिद्रोही, शारदा रसाइली, सुशीला सी, प्रगति महरालगायतका चर्चित जनवादी कलाकारहरुको आवाज रहेको छ ।

गीतमा नृत्यकार प्रजिता पौड्याल, सरल सी, सुबिना तामाङ, संगीता सी, मन्दिरा दोङ्ग, महेश्वरमान राजभण्डारी, ध्वनि सम्पादक नारायण दङ्गाल, सङ्गीत सम्योजन सुबिर चौहान, टिम कार्टुन, साजन चौहान, किरण राई, अशोक घिमिरे, सङ्गीता गुरुङ्ग, लक्षमण सी, प्रस्तुति सी, भिडियो सम्पादन जितु तामाङलगायतका कलाकारहरु अनुबन्धित रहेका छन् । उक्त समारोहमा गीतसँग अनुबन्धित सबै कलाकारहरुलाई मायाको चिनो प्रधान गरिएको थियो ।

प्रतिक्रियाहरु